१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सूर्याेदय ‘बालमैत्री स्थानीय शासनयुक्त’ घोषित

सूर्याेदय नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिँदै। तस्बिर: नागरिक

सूर्याेदय नगरपालिकालाई ‘बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त’ पालिका घोषणा गरिएको छ। यो घोषणासँगै सूर्याेदय नगर अब १ नम्बर प्रदेशकै तेस्रो र इलामको पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ।  

सूर्याेदयको केन्द्र फिक्कलमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नगरलाई बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त नगर घोषणा गरे। लामो कसरतपछि नगरलाई बालमैत्री बनाउन सफल भएको मेयर रणबहादुर राईले बताए।  नगरका १४ वटै वडालाई यसअघि बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको थियो।  

बालमैत्री शासन कार्यान्वयन निर्देशिका–२०७८ मा बालमैत्री स्थानीय शासनका न्यूनतम् ५१ सूचक तोकिएका छन्। नगरले यी सबै र नगरले निर्धारण गरेका थप ३ सूचक पूरा गरेको मेयर राईले जनाए।  सबै सूचक पूरा भएपछि प्रदेश सरकारले पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणाको स्वीकृति दिनेगरेको छ।  

सूचक पूरा गर्न नगर र स्थानीय सरोकारवालाले केही वर्षअघि नै प्रतिबद्धता गरेका थिए। र, केही वर्षदेखि नै बालमैत्री स्थानीय शासनयुक्त घोषणाका लागि नगरले विभिन्न गतिविधि सञ्चालन गरिरहेको थियो।  प्रतिबद्धताअनुसार नगरले शतप्रतिशत बालबालिका विद्यालय भर्ना गराउने, विद्यालयको कक्षाकोठासहित भौतिक संरचना बालमैत्री बनाउने, बालक्लब गठन, साना नानीहरूलाई स्तनपान कक्ष निर्माण र बालसञ्जाल गठनलगायत काम गरिरहेको थियो।  

बालमैत्री स्थानीय शासनका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास मुख्य विषय हुन्। बाल बचाउअन्तर्गत १४, बाल संरक्षणका १०, बाल विकास र बाल सहभागिताका ६÷६ तथा संस्थागत विकासका १५ सूचक निर्देशिकामा उल्लेख छन्। यीबाहेक नगरले प्रत्येक विद्यालयमा सेनिटरी प्याड वितरण भएको हुने, चिया उद्योगहरूमा पनि बालश्रम प्रयोग नगर्ने र विद्यालयमा ह्वाइट बोर्ड प्रयोग अनिवार्य गर्ने तीन सूचक थपेको छ।  

मेयर राईले बालबालिका भविष्यका कर्णधारमात्र नभइ वर्तमानका साझेदारसमेत भएकाले बालमैत्री स्थानीय शासनका लागि नगर क्रियाशील रहेको बताए। ‘निकै लामो प्रयासपछि हामी नगरलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउन सफल भएका छौं तर सबैको हातेमालो भएमात्रै यसलाई कायम राख्न सकिन्छ,’ मेयर राईले भने, ‘अहिलेसम्म नगरलाई जसरी स्थानीयको सहयोग भइरहेको छ, त्यसको निरन्तरता रहे बालमैत्री शासन सफल हुनेछ। ’  

नगरमा १ देखि १८ वर्षसम्मका बालबालिकाको संख्या १३ हजार ४६ छ।  यीमध्ये ४ हजार ९ सय ८९ बालिका र ४ हजार ८ सय २७ बालक विद्यालय जाने उमेरका रहेको नगरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी तारा शेर्पाले जानकारी दिइन्। नगरमा ६५ सामुदायिक र ३० संस्थागत विद्यालय छन्। प्रदेश १ मा यसअघि झापाको भद्रपुर र सुनसरीको रामधुनी नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेका छन्।

प्रकाशित: ३० भाद्र २०७९ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App