७ वैशाख २०८१ शुक्रबार
समाज

जरेबर पुलमा सडक जोड्न सामुदायिक बनक्षेत्र खनेको भन्दै रोक्न पत्राचार

सडक नै नभएको ठाउँमा बनेको पक्की पुल जोड्न सडक खनिँदै। तस्विर: नागरिक

गोरखा नगरपालिका ३ नारेश्वर र सिरानचोक गाउँपालिका ५ जरेवर जोड्ने गरी दरौँदी नदी माथि निर्माण भएको पक्की पुल जोड्न अहिले सडक खनिँदैछ। गोरखातर्फ सडक खन्ने क्रममा सामुदायिक बनक्षेत्र खनेको भन्दै डिभिजन बन कार्यालयले तत्काल रोक्न पत्राचार गरेको छ।  

‘हामीले त्यहाँ बन क्षेत्र खनिएको बारे सुचना पाएपछि रोक्न सामुदायिक बनलाई पत्राचार गरेका छौँ’ गोरखकाली सव डिभिजनका प्रमुख बिनोद गायकले भने ‘त्यहाँ डोजर प्रयोग गरि खनिएको छ।’ सामुदायिक बन क्षेत्रमा रुख नभएपनि अनुमती बिना सडक खन्न नपाईने उनले बताए। ‘रुख छैन भन्दैमा सामुदायिक बन, डिभिजन बन कार्यालयसँग अनुमती र आवस्यक प्रक्रिया पुरा नगरी खन्न पाईँदैन’ उनले भने। अहिले खनिएको गोरखा नगरपालिका ३ तर्फ बुट्यानहरु फाँडेर सडक खनिँदैछ। पाँच करोड ३९ लाख ८० हजार रुपैयाँमा ईलाईट एड्भेन्चर धनथान जेभीले पक्की पुल निर्माणको काम गरिरहेका छ। पुल निर्माण अन्तिम चरणमा छ।  

रातढुङ्गा गोलपोले सामुदायिक बन क्षेत्रमा पर्ने गोरखा नगरपालिका ३ मा डोजर प्रयोग गरेर सामुदायिक बन क्षेत्र खनिएको छ। पुलसम्म सडक जोड्ने भन्दै उक्त ठाउँमा खनिएको हो। ‘त्यहाँ बनको जमिन खन्न लागेको सुचनापछि गोरखकाली सव डिभिजनलाई पत्राचार गर्न र स्थलगत बुझ्न भनेका छौँ’ डिभिजन बन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले भने। बन उपभोक्ता समितिले कुनै अनुमती नदिएको उनले बताए। ‘त्यहाँको हानी नोक्सानी, अवस्था बारे सामुदायिक बन सँग बुझ्छौँ, स्थलगत अध्ययन गर्छौँ’ उनले भने ‘अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढ्छ।’

सडक नभएको ठाउँमा पुल बनेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा कार्यालयबाट कागजात लैजाने, स्थलगत अनगुमन, सोधपुछ र उक्त योजना सँग संम्बन्धीत कर्मचारीको बयान लिएको छ। चौतर्फी चर्चा र आलोचनापछि अहिले हतार हतार सडक खन्ने क्रममा बनक्षेत्र परेपछि थप बिवाद चुलिएको छ। उक्त पुल ८० मिटर लम्बाईको छ। सडक निर्माण गर्दा पूर्वाधार बिकास कार्यालय गोरखा र निर्माण व्यवसायीले प्रक्रिया पुरा नगरेको डिभिजन बन कार्यालयले जनाएको छ। ‘बन क्षेत्रको जग्गामा सडक खन्नेबारे हामीलाई कुनै जानकारी छैन’ डिभिजन बन कार्यालयका प्रमुख श्रेष्ठले भने। निर्माण व्यवसायी शुरेसबाबु पाण्डेले पुलको जिप संरक्षण गर्न र जाली भर्न खनिएको बताए। ‘२५ मिटर खनिएको हो, जंगल क्षेत्र फडानी भएको छैन, बनबाट नखन्न भनेपछि रोकेका छौँ।’

पुल निर्माणको ठेक्का लगाएको पूर्वाधार कार्यालय गोरखाले सामुदायिक बनलाई अनुरोध गरेको जनाएको छ। पुलको गोरखा तर्फ २५ मिटर माथि सडक भेट्ने र सिरानचोक तर्फ दुई सय मिटरमा पुल जोड्ने सडक रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले बताए। ‘सिरानचोकतर्फ जग्गाधनी सँग सहमती भएको छ धान काटेपछि सडक बन्छ, अहिले ३० मिटर तर बनिसक्यो’ उनले भने ‘गोरखा तर्फ २५ मिटरमा माथिबाट आएको सडक जोडिन्छ।’ उनले सामुदायिक बन क्षेत्रबाट सडक नभई पुलको जिप संरक्षण मात्रै गरेको बताए। तर त्यहाँ सामुदायिक बनको क्षेत्रबाट सडक नखन्ने हो भने पुल र सडक जोडिँदैन।  २५ मिटर मात्रले गोरखा तर्फको सडक पुल सँग जोडिँदैन। माथिबाट पनि सडक खनिएको छ।  

रातढुङ्गा गोलपोले सामुदायिक बन का अध्यक्ष पूर्णबहादुर थापाले आफूसँग कसैले बन क्षेत्रमा सडक खन्ने विषयमा अनुमती नलिएको र बन समुहले नदिएको बताए। ‘अनुमती मागेकोपनि छैन, दिएको पनि छैन, बन डिभिजनले बनक्षेत्रमा अनुमती बिना सडक नखन्न भनेको छ, मैले रोक्न भनेको छु’ उनले भने।

प्रकाशित: २९ भाद्र २०७९ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App