१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मनिट्रान्सफर लुटेको आरोपमा एक जना पक्राउ, हराएका २६ थान मोबाइल फेला

चितवनमा मनिट्रान्सफर लुटेको आरोपमा एक जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका-४ फनपार्क नजिक सञ्चालन रहेको नारायणी मनिट्रान्सफरका कर्मचारीलाई धारिलो हतियार देखाएर पैसा लुटेको आरोपमा नवलपरासी (बर्दघाट पूर्व) का मिनमान सुनार पक्राउ परेका हुन्।

हिजो (सोमबार) चौविसकोठिबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज (मंगलबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। साथै उनले प्रयोग गरेको बा.प्र.०३–००१ ह १२६३ नम्बरको अटो, २ थान धारिलो हतियारसहित १ लाख ६७ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ।

सुनारले भदौ २६ गते दिउँसै ट्रान्सफरमा कार्यरत कर्मचारीलाई धारिलो हतियार देखाएर २ लाख ४ हजार २५० रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले जानकारी दिए। उनलाई हिरासतमा चोरी कसुरमा थप अनुसन्धान गरिरहेको अधिकारीले बताए।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले हराएका २६ थान मोबाइल फेला पारेको छ। काठमाडौँ, पार्स, नवलपरासी, कास्की लगायतका जिल्लामा चलाइरहेको अवस्थामा हराएका २६ थान मोबाइल फेला पारी सम्बन्धित धनिलाई बुझाएको उनले बताए।

उनका अनुसार, १४ हजार रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँसम्म पर्ने मोबाइल फेला परेका हुन्। चितवनमा चाडपर्व विशेष सुरक्षा योजना बनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दशैँतिहार लक्षित चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाएको हो।

विशेष गरी राजमार्गमा हुन सक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजचमा हुन सक्ने चोरी लुटपाट मादक पदार्थ सेवन तथा गुडागर्दी जस्ता अपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ।

सवारी साधनको अत्याधिक चाप बढ्ने र मापसे गरी सवारी साधन चलाइ दुर्घटना बढी हुन सक्ने भएकाले प्रहरीले विशेष योजना बनाएको छ। यसका लागि राजर्मागका सवारी साधनभित्रै प्रहरी परिचालन गरिने उनले बताए। सार्वजनिक यातायातको भाडाको अनुगमन गर्ने प्रहरीले जनाएको छ।

यसपटकको चाडपर्वमा राजनीतिक क्रियाकलापहरु हुन सक्ने भएकाले सादा पोसाकमा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए। बैंक तथा वित्तीय संस्था लुटपाट हुनसक्ने भएकाले त्यसतर्फ पनि सुरक्षा योजना बनाएको उनले बताए।

प्रकाशित: २८ भाद्र २०७९ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App