१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान

फाइल तस्बिर।

धनुषामा बन्दुकधारी समूह र प्रहरीबीच दोहोरो गोली चलेको छ। सोमबार राती करिब ११ चालीस बजेतिर धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो।

रातीको समयमा चारनाथ खोलाको बगरमा ५/६ जनाको एक समूह बसेको देखेपछि गस्तीमा निस्केका प्रहरीलाई शंका लागेपछि उनीहरूसँग सोधपुछ गर्न जाँदा केही कुरा नसुनी एक्कासी फायर गर्न थालेको पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक रामनाथ यादवले बताए।

पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायब उपरीक्षक यादवको नेतृत्वमा राति मोटरसाइकलमा गस्ती निस्केका थिए। खोलामा उनीहरूलाई देखेपछि प्रहरीले मोटरसाइकल रोकेर सोधपुछ गर्न जाँदा गोली चलाउन थालिएको प्रहरीले जनाए। हामी दुई जना प्रहरीलाई मात्रै देखेपछि उनीहरू बन्दुक पड्काउन थाले।

बन्दुकधारीले चलाएको एक राउन्ड गोलीको जवाफी कारबाहीमा प्रहरीले चार राउन्ड गोली चलाएको प्रहरी नायब निरीक्षक यादवले भने, 'प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् भने अन्य व्यक्तिहरु फरार भएका छन्।' प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी समूहमा रहेका चारनाथ नगरपालिका-५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी प्रहरीको गोलीबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। पक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ।

प्रकाशित: २८ भाद्र २०७९ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App