१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरको एकैठाउँबाट तीनवटा मूर्ति चोरी

यो मन्दिर भक्तपुरकै प्रख्यातमध्येका एउटा मन्दिर हो। यहाँ प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वैशाख ३ गते ठूलो मेला लाग्दछ। भक्तपुरको आदर्श भेलुखेलस्थित एउटा मन्दिरबाट तीनवटा मूर्ति चोरी भएका छन्। भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित गय् भिन्द्यो (भीमसेन) मन्दिरबाट द्रोपदी, भीमसेन र गणेशका तीनवटा मूर्तिहरू चोरी भएका हुन्।  

स्थानीय भीमसेन टोल सुधार समितिका अध्यक्ष कुमार चवालले रातको समयमा मूर्तिहरू चोरी भएको बताए। मन्दिर प्रवेश गर्ने मूलद्वार फोडेर मूर्ति चोरी गरिएको अध्यक्ष चवालले बताए।  

तरुणभित्र रहेका तीन वटा ढलौटका मूर्तिहरू चोरी गरिएका हुन्। स्थानीयले चोरी भएको जानकारी बिहान मात्रै पाएका थिए। मन्दिरकी पूजारी मंगलमाया बाध्यकारले मूर्ति चोरी भएको जानकारी सवैभन्दा पहिला स्थानीय रामकृष्ण लोहलाले थाहा पाएको बताइन्। स्थानीय रामकृष्ण कपालीका अनुसार एकतल्ले मन्दिरको मुलद्धार उखेलेको पाएपछि स्थानीयले बिहानै मन्दिरको सबैतिर हेरेका थिए। यसपछि मन्दिरभित्रको तोरणभित्र रहेको ढलौतका तीनवटा मूर्तिहरू उप्काएर लगिएको पाइएको उनले बताए।  

मन्दिरनजिकै आदर्श आजाद माध्यामिक विद्यालय छ। उक्त विद्यालयका पूर्व प्रधानाध्यापक स्थानीय लक्ष्मीप्रसाद ढुकुछुका अनुसार यसभित्रको मूर्ति यसअघि पनि चोरी भएको थियो। मूर्ति चोरी भएपछि भक्तजन रामकृष्ण लोहलाले व्यक्तिगत खर्चमा किनेर राखिदिएका थिए। ‘२०५१ सालतिर चोरी भएपछि रामकृष्ण लोहलाले तत्कालीन समयमा ११/१२ हजार पैसाबाट किनेर राखिदिएका थिए, स्थानीय ढुकुछुले भने, ‘अहिलेको समयसँग दाज्ने हो भने त्यसको मूल्य पहिलाभन्दा दोब्वर पुगेको छ।’

यो मन्दिर भक्तपुरकै प्रख्यातमध्येका एउटा मन्दिर हो। यहाँ प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वैशाख ३ गते ठूलो मेला लाग्दछ। साथै प्रत्येक वर्ष भीमा व्रतको भोलिपल्ट पनि यहाँ विशेष मेला लाग्छ।  

यो मन्दिर धनका देवताका रूपमा पनि परिचित छ। भीमसेन देवताको विधिवत रूपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ। साथै परदेशी भीमसेनका नामलेसमेत ख्याती कमाएको यो मन्दिरमा पूजाआजा तथा दर्शन गर्नाले विदेशमा रहेका घरपरिवार आफन्तजनको शुभ हुने जनविश्वास छ। यही कारण पनि प्रत्येक दिनजसो यहाँं पूजाआजा तथा दर्शन गर्न आउनेहरू थुप्रो हुन्छन्।  

घटनाबारे प्रहरीलाई खबर गरिसकेको छ। घटनाबारे प्रहरीले मुचुल्का पनि उठाएको छ। चोरीमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मन्दिर प्रत्येक दिन बिहान चारबजेदेखि राति आठबजे खुल्ने जनाइएको छ। रातको समयमा मन्दिरभित्र ताला लगाइएको हुन्छ।  

प्रकाशित: २७ भाद्र २०७९ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App