१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालगन्जमा अव्यवस्थित पार्किङ्ग

नेपालगन्ज–१२ मा सुर्खेत रोडमा अवस्थित छ, वेष्टर्न मार्ट। भव्य बिल्डिङसहितको उक्त मार्टका ग्राहकहरुले आफ्ना गाडीहरु भने सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ। वेष्टर्न बिजनेश ग्रुपले स्थापना गरेको भवनमा पहिले अन्डरग्राउण्ड पार्किङको डिजाइन तयार गरियो। 

तर, पछि संशोधन गरेर अण्डरग्राउण्ड पार्किङबिनाकै भवनको नक्सा पास गरियो। ‘पहिले चलचित्र हलसहितको डिजाइन हुँदा बेसमेन्ट पार्किङ्गको नक्सा बनाइएको थियो। पछि उक्त हल नबनाउने भनिएपछि बेसमन्ट पार्किङ्गबिनाको नक्सा पास गरियो। तर, यसो भन्दैमा सडकमा पार्किङ्ग गराउन मिल्दैन। व्यावसायिक प्रतिष्ठानले नै पार्किङको व्यवस्था गर्नुपर्छ,’ नेपालगन्ज उपमहानगरपालिकाका एक इन्जिनियरले भने।  

मार्ट रहेको भवनको अगाडि र पछाडि खाली ठाउँ छोड्ने गरी नक्सा पास गरिएको छ। इन्जिनियरका अनुसार नक्सामा कुल जमिनको १५ प्रतिशत खाली छोडेर उक्त जमिनमै पार्किङ्गको व्यवस्था गराउनुपर्ने हुन्छ। तर, वेष्टर्न मार्टले सडकपट्टिको खाली ठाउँमा मात्रै पार्किङ्ग गराउने गरेको छ। ठूला गाडीहरु त्यहाँ पार्क गर्न सक्ने अवस्था छैन। पछाडिपट्टिको खाली ठाउँमा जेनेरेटरलगायतका साधनहरु राखिएका छन्। मार्टका एक जना सञ्चालक शैलेश लोहनी भने मार्टकै पछाडिपट्टिको जमिनमा पार्किङको व्यवस्था गरे पनि ग्राहकहरुले सडकमै पार्किङ्ग गरिदिने गरेको बताउँछन्। उनले देखाएको पछाडिपट्टिको खाली जमिनमा झार उम्रिएको छ। पार्किङ्ग कहाँ छ भन्ने जानकारीमूलक संकेतहरु पनि राखिएको छैन। लोहनी सडकमा पार्किङ्ग गर्नेहरुलाई उपमहानगरपालिका र ट्राफिक प्रहरीले कडाइ गरेमा आफूहरुलाई पनि सजिलो हुने तर्क गर्छन्।

नेपालगन्ज मेडिकल कलेज। पश्चिम नेपालकै एक महत्वपूर्ण स्वास्थ्य उपचारको केन्द्र। तर, नेपालगन्जस्थित उक्त कलेजको पार्किङ्ग क्षेत्रमा सेवाग्राहीहरुले आफ्ना सवारी साधन पार्क गर्न पाउँदैनन्। कलेजको भवनको दक्षिणपट्टि रहेको पार्किङ्ग क्षेत्रमा अस्पतालका कर्मचारी, चिकित्सक र चारपांग्रे गाडीवालाहरुले मात्रै पार्किङ्ग गर्न पाउँछन्। आम सेवाग्राहीले सडकमै पार्किङ्ग गराउनुपर्ने अवस्था छ। कलेजले उत्तरपट्टि रहेको एक बैंकको पार्किङ्ग एरियामा पनि पार्किङ्ग गर्न सक्ने व्यवस्था गरेको छ। तर, त्यहाँ एकदमै थोरै संख्यामा गाडीहरु अटाउने ठाउँ छ। सडकमै पार्किङ्ग गर्नुपर्दा धेरै सर्वसाधारणका सवारीसाधनहरु चोरी भइरहेका छन्। आधा सडक ढाकेर पार्क गरिएका सवारी साधनका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम उच्च छ।  

कलेजका प्रशासन प्रमुख कुमार अधिकारी मेडिकल कलेजको सुरुवाती अवस्थामा छुट्याइएको पार्किङ्ग क्षेत्र अहिले साँघुरो भएको र अन्य ठाउँमा जमिनको जोहो हुन नसकेकोले समस्या सिर्जना भएको बताउँछन्। सडकमा पार्क हुने सवारी साधनमध्ये न्यून संख्यामा मात्रै मेडिकल कलेजका सेवाग्राही भएका उनले तर्क गरे। मेडिकल कलेजले पार्किङ्गको उचित व्यवस्था नगरेर नियमको उल्लंघन गरेको विषयमा पटकपटक आवाज उठ्ने गर्छ। तर, कलजले यसलाई गम्भीरतापूर्वक लिएको छैन।

नेपालगन्ज धम्बोझीस्थित होटेल ग्यालेक्सी दरबारले होटल अगाडि छोडिएको खाली क्षेत्रलाई पार्किङ्गस्थल बनाएको छ। फुटपाथ पनि ढाकेर गाडीहरु त्यहाँ पार्क भइरहेका हुन्छन्। चारपाङ्ग्रे गाडीहरु सडकमै पार्किङ्ग हुन्छन्। सडकमै पार्किङ्ग गरिँदा त्यहाँ पनि सडक साँघुरो भएर दुर्घटनाको जोखिमपूर्ण अवस्था सिर्जना हुने गरेको छ। बेसमेन्ट पार्किङ्गको व्यवस्था गरेका नेपालगन्जमा ठूला होटेलहरुले समेत सकडमै पार्किङ्ग गराइरहेका हुन्छन्। सिटी प्यालेस, होटल कल्पतरू त्यसका उदाहरण हुन्।

यी नेपालगन्जका सडकहरु किन अस्तव्यस्त छन् भन्ने केही उदाहरण मात्रै हुन्। आवासीय र घरेलु उद्योगबाहेकका भवनहरुले अनिवार्य पार्किङ्गको व्यवस्था गर्नुपर्ने नियम पालना नगर्दा नेपालगन्जमा सडक नै पार्किङस्थल बनेका छन्। तर, उपमहानगरपालिकाले ठाउँठाउँमा सडकमा पार्किङ्ग गर्न बाध्य सर्वसाधारणहरुबाट शुल्क उठाउन मान्छेहरु खटाएको छ। मूल समस्यातिर ध्यान दिएको छैन। 

यसमा जनप्रतिनिधिहरुको भोटको डर नै मुख्य कारण रहेको जानकारहरु बताउँछन्। ‘राजनीतिक दल आबद्ध जनप्रतिनिधिहरुलाई यो नियमको पालना गराउन काठमाडौंका मेयर बालेनलाई जस्तो सजिलो छैन। जनप्रतिनिधिमा बलियो ईच्छाशक्ति भएमा मात्रै यो सम्भव छ,’ नगरपालिकाकै एक कर्मचारीले भने।  

उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आफू अहिले नेपालगन्जका भवनहरुको मापदण्डबारे अध्ययनमा रहेको बताउँछन्। उनले सम्बन्धित शाखालाई हालसम्म नेपलगन्जमा लागू भएका मापदण्डहरुको विस्तृत अध्ययन गरेर जानकारी गराउन निर्देशन दिइसकेको बताए। ‘एउटै मापदण्डअनुसार नेपालगन्जमा भवनहरु बनेका छैनन्। कुन भवन कस्तो मापदण्डमा बनेको हो? भन्ने यकिन भइसकेपछि मापदण्डअनुसार व्यवस्था गर्न लगाउँछौँ। अब नयाँ मापदण्डमा एउटै व्यवस्था लागू हुनेगरी परिमार्जन गर्छौँ,’ मेयर विष्टले भने।  

पहिलेकै मापदण्डमा उपमहानगरपालिका  

नेपालगन्ज उपमहानगरपालिका स्थानीय सरकार भइसक्दा पनि स्थानीय निकायको रुपमा रहेका बेलाकै मापदण्डमा भवनहरुको नक्सा दिइरहेको छ। २०७२ सालमा संशोधन गरिएको भवन तथा योजना मापदण्डअनुसार नै हाल भवनहरुको नक्सा पास गरिरहेको छ उपमहानगरपालिका।  

उक्त मापदण्डमा आवासीयबाहेकका भवनहरुले जग्गाको कम्तीमा १५ प्रतिशत जग्गा पार्किङको लागि छोड्नुपर्ने, गाडीसम्बन्धी कारखानाको लागि जग्गाको २५ प्रतिशत पार्किङको लागि छोड्नुपर्ने, भवन उपयोग परिवर्तन गर्नुपर्दा पनि नयाँ उपयोगका सम्पूर्ण प्रावधानहरु लागू हुनेगरी पार्किङको लागि चाहिने जग्गाको व्यवस्था गर्नुपर्ने उल्लेख छ। 

उक्त मापदण्डमा बेसमेन्टलाई मुख्यगरी दुईवटा प्रयोजनका लागि मात्र बनाउन पाइने उल्लेख छ। जसअनुसार सामान्य प्रज्वलशील खालका घरेलु तथा अन्य वस्तुहरु स्टोर गर्न र भवको सेवा र सुविधाको लागि प्रयाग हुने एयर कन्डिसन, जेनेरेटर वा अन्य मेसिन वा यन्त्रहरुको निमित्त मात्रै बेसमेन्ट प्रयोग गर्न पाइन्छ।

आफ्नै मापदण्डविपरीत नेपालगन्ज उपमहानरपालिकाले व्यावसायिक प्रतिष्ठानहरुलाई बेसमेन्टमा पार्किङ गर्न दिनेगरी नक्सा दिएको छ। केही ठूला प्रतिष्ठानहरुले बेसमेन्टमै पार्किङको व्यवस्थापन गरेका छन्। यसले आफ्नै मापदण्ड उपमहानगरपालिकाले उल्लंघन गरिरहेको पुष्टि हुन्छ।

उपमहानगरपालिकाका इन्जिनियर भुपेन्द्र बोहरा अहिले भवन तथा योजना मापदण्ड संशोधनको लागि काम भइरहेको बताउँछन्। ‘हामीसँग साविककै मापदण्ड छ। अब यसलाई संशोधन गर्नुपर्ने भएको छ। अहिले संशोधनको प्रारम्भिक छलफलमै छौँ। यस आर्थिक वर्षभित्रै संशोधन गरिसक्ने लक्ष्य छ,’ बोहराले भने।

‘अध्ययन गर्दै छौँ’ प्रशान्त विष्ट  मेयर, नेपालगन्ज उपमहानगरपालिका  

'म अहिले नेपालगन्जका भवनहरुको मापदण्डबारे अध्ययन गरिरहेको छु। सम्बन्धित शाखालाई हालसम्म नेपालगन्जमा लागू भएका मापदण्डहरुको विस्तृत अध्ययन गरेर जानकारी गराउन निर्देशन दिइसकेको छुँ। पुरानो सहर भएकोले एउटै मापदण्डअनुसार भवनहरु बनेका छैनन्। कुन भवन कस्तो मापदण्डमा बनेको हो? भन्ने यकिन भइसकेपछि मापदण्डअनुसार व्यवस्था गर्न लगाउँछौँ। अब नयाँ मापदण्डमा एउटै व्यवस्था लागू हुनेगरी परिमार्जन गर्छौँ।'

प्रकाशित: २६ भाद्र २०७९ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App