१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इन्द्रायणीको खट जात्रा सुरु

भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको खट जात्रा शुक्रबार साँंझबाट सुरु भएको छ। प्रत्येक वर्ष खौमा टोलस्थित इन्द्रायणी देवीको खट जात्रा दुई दिन हुने गर्दछ।

जात्राको क्रममा खटलाई दुई दिन लगाएर नगर परिक्रमा गराइन्छ। जात्राको पहिलो दिन खटलाई नगरको आधा क्षेत्र परिक्रमा गराउने गरिन्छ। त्यसकारण पहिलो दिनलाई ‘वाचा मुकेगु’ अर्थात् आधा परिक्रमा गराउने भनिन्छ। प्रत्येक वर्ष इन्द्र जात्राको मुख्य दिन खटलाई आधा नगर परिक्रमा गराउने गरिन्छ।

साँझ परेपछि खौमा टोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई आधा नगर परिक्रमा गराइएको हो। बाजागाजासहित धुमधामसंग जात्रा गरी खटलाई सिद्धपोखरीमा पुयाइएको छ। यसपछि पोखरीमा दीपावली गरिएको छ। सिद्धपोखरी पुयाइएको खटलाई शनिबार पुनः त्यहाँंबाट ल्याई बाँंकी आधा नगर परिक्रमा गराउने चलन छ। यसपछि खटबाट इन्द्रायणी देवतालाई झिकेर इन्द्रायणी पीठमा राखिन्छ।  

लिच्छवी राजा आनन्द देवले नगरको चारैतिर अष्टमातृका स्थापना गर्दा नगरको पश्चिमतर्फ इन्द्रायणी देवी स्थापना गरेको इतिहास छ। मल्लकालमा गंगा महारानीले इन्द्रायणीको खट जात्रा गर्ने चलन चलाएको मानिन्छ। पुरानो खटको ठाउँमा जितामित्र मल्लले नयाँ खट बनाई जात्रा चलाएको इतिहास छ। पछिल्लो पटक विक्रम संवत् १९१४ मा धिर शमशेरले नयाँ खट बनाएको र बि.सं. २०३४ सालमा टोलबासीहरूले सो खट जिर्णेाद्धार गरी जात्रा चलाउदै आएका थिए। तर यो वर्ष पूरै नयाँ खट बनेको छ। प्रत्येक वर्ष भाद्र शुक्ल त्रयोदशीबाट सुरु हुने सो खट जात्राको खट पुरानो एवम् जीर्ण भएपछि इन्द्रायणी इलाका सेवा समिति र इन्द्रायणी समाज सरोकार समितिको पहलमा नयाँं खट बनाइएको हो। खट दुई लाख ७५ हजार लागतमा निर्माण सम्पन्न भएको स्थानीय बिनोदचरण रायले बताए।  

इतिहासविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठ खट जात्राको क्रममा उहिलेदेखि खटलाई पहिलो दिन आधा नगर परिक्रमा गराई सिद्धपोखरीमा एक रात राख्ने चलन रहेको बताउँंछन्। सहरको शोभा बढाइरहेको एउटा प्राचीन पोखरी सिद्धपोखरीको सर्वप्राचीन नाम ‘इन्द्रदह’ भएको उनी सुनाउँंछन्। स्वर्गका राजा इन्द्रले स्नान गरेको हुदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास रेहको उनको भनाई छ। यसै दहमा भाद्र शुक्ल चतुर्दशीका दिन ‘चाक मता च्याकेगु’ (चारैतिर बत्ती बाल्ने) चलन रहेको प्राडा श्रेष्ठ बताउँंछन्

प्रकाशित: २४ भाद्र २०७९ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App