१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

महानगरले थाल्यो बजार अनुगमन

चाड पर्व नजिकिँदै गर्दा विराटनगर महानगरपालिकाले बजारका खाद्य पसलको अनुगमन थालेको छ। वैशाखमा भएको स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिले पहिलो पटक बजारको अनुगमन गर्न थालेको हो।

विराटनगरमा प्राय दशैं र तिहारको मुखमा बजार अनुगमन हुने गरेको छ। बजार अनुगमन महानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा हुने गरेको र अनुगमन गर्दा खाद्यान्न पसल मात्रै गर्ने गरिएको छ। महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बजार अनुगमन थालेको छ। उपप्रमुख कार्की नेतृत्वको टोलीले विराटनगर–११ स्थित नयाँ गद्रीका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो।  

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु बरामदसमेत गरी नष्ट गरिएको थियो। गुद्रीमै रहेको आरबी ट्रेडर्समा शंकास्पद ढक र तराजु पनि अनुगमन टोलीले नियन्त्रणमा लिएको छ। सम्बन्धित निकायमा पठाएर अध्ययन गर्ने महानगरका आर्थिक महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिए।  

डिजिटल काँटामा ढकलाई राखेर हेर्दा तौलमा कमी देखिएपछि नियन्त्रणमा लिएको उनले बताए। चाडवाड नजिकिएसँगै बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका सामान बिक्री गर्ने, उपभोग्य मिति सकिएका सामान बिक्री गर्ने लगायतका गुनासो आउने गरेको छ।  

उपभोक्ताको हितलाई ध्यानमा राखेर अनुगमनलाई तीव्र पारिएको उपप्रमुख कार्कीले बताइन्। बजार अनुगमनका क्रममा कैफियत भेटिए कानुन अनुसारको कारबाही गर्ने बताउँदै, उपप्रमुख कार्कीले भनिन्, ‘गल्ती गर्ने जोसुकै भए पनि कानुनअनुसार कारबाही हुन्छ। अनुगमन गर्दा केही पसल दर्ता नगरेको पाइएपछि एक साताभित्र महानगरमा दर्ता गर्न निर्देशन दिएका छौं।’  

महानगरको अनुगमन फितलो हुँदा मठमन्दिर, मस्जिदलगायत विभिन्न धार्मिक स्थान, शैक्षिक संस्था, अस्पताल र सरकारी कार्यालयसँगै टाँसिएर र त्यसको वरिपरी सूर्तिजन्य पदार्थ र मदिरा खुलमखुला बिक्री वितरण भइरहेको छ। कतिपय सरकारी कार्यालय र विद्यालयकै सटर भाडामा लिएर सञ्चालन गरिएको पसलमा खुलमखुला सूर्तिजन्य पदार्थ र मदिरा बिक्रीवितरण भइरहेको छ।    

किराना पसलमा खाद्यान्नसँगै मदिरा र सूतिजन्य पदार्थ एकै ठाउँमा राखेर बिक्रीवितरण गर्न नपाउने कानुनी व्यवस्था छ। विराटनगर महानगरपालिका स्वयंमले बनाएको नियम कार्यान्वयन भए नभएको अनुगमन नगरिएको उपभोक्तावादी संस्था पब्लिक फोरामका अध्यक्ष उत्तम ढुंगेलले बताए।  

उनले महानगर आफैंले बनाएको नियम कार्यान्वय गराउन नसकेको बताए। कुनै पनि मठमन्दिर, मस्जिदलगायत धार्मिक संस्था, शैक्षिक संस्था, सरकारी कार्यालय, स्वास्थ्य संस्थालगायतको १ सय मिटर वरपर सूर्तिजन्य पदार्थ, मदिरा बिक्रीवितरण गर्न नपाउने भनेर महानगरले दिएको व्यवसाय प्रमाणपत्रमा समेत उल्लेख गरिएको बताउँदै, अध्यक्ष ढुंगेलले भने, ‘महानगरले नियम बनाउने तर कार्यान्वयन र अनुगमनको पक्ष फितलो रहँदा समस्या आएको छ। बजार अनुगमन गर्ने अन्य विभिन्न सरकारी निकाय छ। आफूले बनाएको नियम लागू भए नभएको अनुगमन चाहिँ कसले गर्ने हो ?’

महानगरभित्र बिक्रीवितरण गरिने माछा, मासु स्वास्थ्यवद्ध छ छैन तथा तरकारी, फलफूलमा कतिको विषादी मिसाए वा नमिसाएको र तराजुमा कैफियत भए नभएको अनुगमन गर्दा राम्रो हुन्थ्यो, ढुंगेलले भने।

प्रकाशित: २२ भाद्र २०७९ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App