४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बेलका जंगलमा भेटिएको मृत हात्ती मर्यो कि मारियो?

बेलका ८ शिसौली जंगलमा मृत भेटिएको हात्ती र निकालिएको दारासँग वन कर्मचारी। तस्विरः महेश्वर

अघिल्लो दिन मृत भेटिएको जंगली हात्ती मारियो कि मरेको भन्ने यकिन हुन सकेको छैन। जिल्लाको बेलका नगरपालिका ८ स्थित हात्तीसार सामुदायिक वनक्षेत्रमा पर्ने सिशौली जंगलमा आइतबार राति मृत भेटिएको हात्ती आफै मारेको या मारिएको भन्ने पत्ता लाग्न नसके पनि अनुसन्धान भने जारी छ।  

कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रनजिकै मृत भेटिएको सो हात्ती आरक्षणकै हो या जंगली डुलुवा भन्ने पनि यकिन हुन सकेको छैन। आरक्षण केन्द्रका वार्डेन रमेश यादवका अनुसार हात्ती मृत भेटिएको ठाउँ राष्ट्रिय वन र सामुदायिक वनक्षेत्र परेकाले आरक्षणको हक दाबी नलाग्ने बताए। उनका अनुसार जंगली भएकाले उक्त मृत हात्ती आरक्षणको हो भन्न पनि नमिल्ने भएकाले डिभिजन वन कार्यालय गाईघाटको जिम्मामा छाडिएको छ।  

डिजिभन वन कार्यालय गाईघाटका अधिकृत (डिएफओ) अम्बिकाप्रसाद पौडेलले बेलुका ८ शिहात्तीसार सामुदायिक वनक्षेत्रको जंगलमा भेटिएको मृत हात्ती अन्दाजी २५ वर्ष उमेरको रहेको बताए। ८ मिटर २० सेन्टीमिटर लामो हात्तीको सुँड २ मिटर र पुच्छर २.८० मिटर लामो रहेको पौडेलले बताए। ३ मिटर ८० सेन्टिमिटर उचाइको हात्तीको देब्रे दारा ४ फिट ६ इन्च र दाहिने दारा २ फिट १० इन्च लामो रहेको डिएफओ पौडेलले बताए। दुवै दाराको गोलाई भने १ फिट २ इन्चको रहेको छ।  

शरीरका कुनै ठाउँमा चोटपटक नभएकाले हात्ती मारेकै भन्ने आधार प्रमाण भने नपाइएको डिएफओ पौडेलले बताएका छन्। तर, शरीरभित्र आन्तरिक चोट छ छैन भन्ने कुरा भने पोष्टमार्टम रिपोर्ट हेरेपछि मात्र थाहा हुने उनले बताए। वन कार्यालयको टोलीसहित गएका पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजयकुमार साहले मृत हात्तीको पोष्टमार्टम गरेर परीक्षणका लागि पठाइएको डिभिजन वनले जनाएको छ।  

डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले मृत हात्तीको दारा काटेर वन कर्मचारीले डिभिजनमा ल्याएर राखेका छन् भने बाँकी शरीर घट्नास्थलमै दफन गरिएको छ। हात्ती के कारण मरेको वा मारिएको भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने पौडेलले बताए।  

प्रकाशित: २१ भाद्र २०७९ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App