१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मुलपानीको तलाउ बन्द गर्न स्थानीयको माग

तलाउको पानी घटाउन निकास निकाल्दै। तस्बिर : नागरिक

स्थानीयले टीकापुर नगरपालिका–२ मुलपानीस्थित तलाउमा नुहाउने काम बन्द गराउन माग गरेका छन्। नुहाउने क्रममा ज्यान जान थालेपछि स्थानीयले यस्तो माग गरेका हुन्।  

तलाउमा नुहाउने क्रममा हालसम्म दुई जनाले ज्यान गुमाएका छन। यही भदौ १८ गते जानकी गाउँपालिका–८ पहाडीपुरका २० वर्षका पुष्पराज उपाध्याय र २०७७ कात्तिक ६ गते जानकी गाउँपालिका–६ जगतपुरका १४ वर्षका समिर चौधरीले तलाउमा नुहाउने क्रममा ज्यान गुमाएका छन्।  

कर्णाली नदी किनारमा ढुंगा बालुवा निकाल्ने क्रममा परेको खाल्डोमा पानी जमेपछि तलाउ बनेको हो। तलाउमा जमिनमूनिबाट पानी निस्किने गरेको छ। यसरी जमिनमूनिबाट निस्केको पानी जमेको ठाउँलाई स्थानीयले मुलपानी नामाकरण गरेका हुन्।  

मुलपानीमा दुईवटा तलाउ छन। खाशगरी त्यहाँ विदाको दिनमा नुहाउनेको घुँईचो लाग्ने गर्छ। बढीजसो युवायुवती नुहाउन जाने गरेका छन्। स्थानीय जनशक्ति सामुदायिक वनले मुलपानीलाई लक्षित गरेर पार्क निर्माण गरेको छ। त्यहाँ भ्यूटावर समेत निर्माण गरिएको छ। प्रदेश र संघ सरकारले हालसम्म करिव ३० लाख रूपैयाँ खर्च गरेका छन । गत आवमा मात्रै संघको १५ र प्रदेश सरकारको ५ लाख रूपैयाँ खर्च भएको छ ।  

सामुदायिक वनले पार्क प्रवेश शुल्क भन्दै हरेक व्यक्तिबाट १० रुपैयाँ असुल्ने गरेको छ। त्यहाँ पुगेपछि अधिकांशले तलाउमा नुहाउछन्। तलाउमा नुहाउने काम निकै जोखिमपूर्ण छ। तलाउको गहिराई कति छ भन्ने एकिन छैन। तलाउभित्र पानी मात्रै नभई ठूल्ठूला ढुंगा र काठ समेत छन् । नुहाउने क्रममा कैयौं व्यक्ति तिनै ढुंगा र काठमा ठोक्किएर घाईते हुने गरेका छन्।

‘जसलाई गहिरो चोट लाग्छ उसले ज्यान गुमाउने गरेका छन’ स्थानीय सिद्ध ठकुल्लाले भने, ‘नुहाउने काम निकै जोखिम छ। ’टीकापुर नगरपालिकाले तत्काल तलाउको पानीको सतह घटाएको छ। मेयर रामलाल डगौरा थारु जेसिबी सहित मुलपानी पुगेका छन्। उनले सामुदायिक वनलाई व्यवस्थित गरेर मात्रै पार्क सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। ‘निकै अव्यवस्थित छ। हामीले त्यसलाई व्यवस्थित गर्न भनेका छौं’ उनले भने, ‘आगामी दिनमा कुनै किसिमको जोखिम नहोस् भनेर सचेत गरेका छौं।’

सामुदायिक वनले हाल पार्क बन्द गरेको छ। अध्यक्ष दीर्घ तिरुवाले सबैतिरबाट तलाउमा नुहाउने काम बन्द गर्न सुझाव आएपछि त्यसो गरेको बताए। उनले तलाउमा नुहाउने काम सधैंका लागि बन्द गर्ने वा व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रस्ताव सामुदायिक वनको साधारण सभामा लैजाने जानकारी दिए। उनका अनुसार यही भदौ २७ गते सामुदायिक वनको साधारण सभा हुँदैछ। उनले साधारण सभाले दिएको निर्देशन अनुसार आफू अघि बढ्ने बताए।  

‘हामी आगामी दिनमा कुनै किसिमको जोखिम नहोस् भन्नेमा सचेत छौं’ उनले भने, ‘साधारण सभाले त्यस किसिमको निर्णय गर्नेछ।’ मुलपानी क्षेत्र पछिल्लो समय निकै भाइरल बनेको छ। त्यहाँ घुम्न जानेको घुँईचो लाग्ने गरेको छ। घुम्न आउनेको संख्या बढेसँगै अन्य जोखिम पनि बढेको छ। पिकनिक खान जानेहरुले मदिरा सेवन गरेर झैंझगडा गरेका घटना समेत हुने गरेका छन्। जसले त्यहाँको सुरक्षा अवस्थामा समेत चुनौती थपेको छ।

प्रकाशित: २० भाद्र २०७९ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App