१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अनेक बाहना बनाएर माता बनी ठगी गर्ने पक्राउ

घटना नं. १: इटहरी वडा नं. २ की एक सर्वसाधारण महिलालाई सामाजिक छवि राम्रो नभएकाले सामाजिक वहिस्कार गर्नुपर्ने दुई महिनाअघि स्थानीय माता लक्ष्मी रानामगरले गाउँलेलाई भनेकी थिइन्। पीडित महिलाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरेपछि माताको रुपमा चिनिदै आएकी राना मगरलाई प्रहरीले पक्राउ गर्‍यो। पछि गाउँले नै उनलाई छुटाउन आएपछि आइन्दा गल्ती नगर्ने सर्तमा राना मगरलाई प्रहरी छाडेको थियो।  

घटना नं. २: इटहरी वडा नं. २ की ३४ वर्षे अम्बिका खड्कासहित १२ र नौ वर्षका दुईवटी छोरी तथा  सात वर्षको छोरा लिएर शुक्रबार साँझ सप्तकोशीमा आत्माहत्या गर्न गएको बेला प्रहरीले उद्दार गर्‍यो। आत्माहत्या गर्न जानुको पछाडि मुख्य कारक माता राना मगर नै भएको प्रारिम्भक अनुसन्धानबाट खुलेको छ।  

यी माथिका दुईवटा घटना त उदाहरण मात्र हुन्। आफू अनुकूलको व्याख्या गरेर पूजाआजा र भगवानको नाममा माताको भूमिका खेल्दै आएकी राना मगरले थुप्रैलाई ठगी गरेको खुलेको छ। मानिसको भावना र विश्वाससँग खेलवाड गरेर सर्वसाधारणसँग भनेजति दक्षिण दिनुपर्ने, सुन, बोकासहित अन्य महत्वपूर्ण सामान दिन करकाप गरेर सर्वसाधारणलाई  कङ्गाल बनाउने धन्दामा संलग्न भएको आरोपमा राना मगर पक्राउ परेकी हुन्।  

‘राना मगरले विदेशका भएका पुरुषका श्रीमतीलाई श्रीमान विग्रिएका छन्। मन्दिरमा सुन चढाउनुपर्छ भन्ने गरेको र छोराछोरीलाई यस्तो समस्या हुँदैछ भनेर त्रास देखाएर भनेजति सामग्री दिन बाध्य पार्ने गरेको प्रमाणित भएपछि गाउँले मिलेर प्रहरीमा उजुरी दिएका हौ,’ इटहरी वडा नं. २ की पदमा बुढाथोकीले भनिन्। बुढाथोकीका अनुसार राना मगरले तीन वर्षदेखि ठगी गर्दै आएकी थिइन्। तर, वास्तविक प्रमाण नहुँदा उजुरी गर्न समस्या भएको थियो। पछिल्लो समय एकै परिवारका चार जना आत्माहत्या गर्न गएको घटनाबाट पुष्टि भएपछि सवै रहस्य खुलेको हो।  

राना मगरले इटहरी वडा नं. २ कै अम्बिकादेवी खड्काबाट पनि आठ लाख रुपैयाँ पैसा लिएको खुलेको छ। अम्बिकाका छोरालाई समस्या हुने मन्दिरमा सुन चढाउनुपर्ने र बोका पूजा गर्नु पर्ने भनेर पैसा खर्चेको खुलेको छ। घटनाक्रम अनुसार इटहरी वडा नं. २ की ३४ वर्षे खड्कासहित १२ र नौ वर्षका दुईवटी छोरी तथा  सात वर्षको छोरा लिएर शुक्रबार साँझ सप्तकोशीमा आत्माहत्या गएर प्रहरीले उद्दार गरेपछि घटनाबारे खुलेको हो। अम्बिकाका श्रीमान शरणकुमार पाँच वर्षसम्म वैदेशिक रोजगारमा गएर एक महिना अघि फर्किएका थिए। शरणकुमारले अम्बिकासँग पैसा खोजी गर्दा माता राना मगरलाई चढाएकोे बताएपछि गएर ल्याउन भनेर दबाब दिँदा सामूहिक आत्माहत्या गर्न सप्तकोशी नदी पुगेकाले ठगी गरेको खुलेको आफन्त विमल खड्काले बताए।  

माता राना मगरले भगवानको नाममा पैसा र भेटी चढाउनुपर्छ भनेर ठगीमा परेका बग्रेल्ती रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पक्राउ परेकी माता राना मगरको अहिले प्रारम्भिक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए। दाना र दक्षिणको आफ्नै महत्व भएपनि अनेक बाहनामा राना मगरले सर्वसाधारणलाई लुटिइ रहेको खुलेको छ। 

प्रकाशित: १९ भाद्र २०७९ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App