१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

एकैरात मोरङमा दुई सामूहिक बलात्कारका घटना

बिहीबार राति मोरङको विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कारका २ वटा घटना भएका छन्। विराटनगरमा युवती र जहदामा महिला सामूहिक बलात्कारमा परेका हुन्।

विराटनगर–१४ जतुवास्थित नहरमा ५ जनाको समूहले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  ‘राति साढे ९ बजेतिर साथीको जन्मदिन मनाएर केटा साथीसँग घर फर्कंदै केही युवाको समूहले बाटो छेकेर नियन्त्रणमा लिए,’ डिएसपी श्रेष्ठले भने, ‘युवाको समूहले केटालाई कुटपिट गर्दै खेदाएर युवतीलाई कब्जामा लिई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’   

पीडितको केटा साथी भाग्दै नजिकैको गाउँमा पुगेर होहल्ला गरेपछि स्थानीयहरु आउँदै गरेको देखेर बलात्कारमा संलग्न युवाहरु युवतीलाई छाडेर फरार भएको प्रहरीले जनाएको छ। युवाको समूहको कुटपिटबाट चोटपटक लागेका युवा र पीडित युवतीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।  

पीडित युवतीले सामूहिक बलात्कारमा संलग्नविरुद्ध किटानी जाहेरी दिएको र त्यसका आधारमा विराटनगर–४ इक्राहीका २९ वर्षीय सन्तोष मण्डललाई शुक्रबार पक्राउ गरिएको थियो। घटनामा संलग्न भनिएका अन्य फरार भएका र उनीहरुको खोजी कार्य तीव्र पारिएको तथा घटनाको अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।  

त्यस्तै, जहदा गाउँपालिका–७ मा बिहीबार राति १० बजेतिर ३५ वर्षीया महिलालाई २ जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।  

आफ्नै घरमा सुतिरहेकी महिलालाई चिनजानकै युवाले काम छ भन्दै बोलाएर घर नजिकको खेतमा लगेर महिलालाई सामूहिक बलात्कार गरेको डिएसपी श्रेष्ठले बताए।  

महिलाको मुख थुनेर पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि घर आएकी महिलाले पतिलाई सुनाएकी थिइन्। शुक्रबार प्रहरीमा घटनाको जानकारी गराएका थिए।  

पीडितले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न जहदा–७ का २५ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरी अनुसन्धान थालेको छ। घटनापछि भारत भाग्न लाग्दा दुवै जनालाई नियन्त्रणमा लिएको र उनीहरुविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७९ १०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App