१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बन्दुक छाडेर नौमतीमा रमाउँदै दीपेन्द्र

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा कलिलै उमेरमा होमिएका बेनी नगरपालिका–२ ज्यामरुककोटका दीपेन्द्र परियारका साथमा बम र हातहतियार हुन्थ्यो। बम, ग्रिनेड, पेस्तोल, थ्री नट थ्री र एसएलआरलगायत हतियारको बलमा करिब आधा दशक सशस्त्र युद्धमा बिताएका परियार माओवादीले गरेका नौवटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्य बल र व्यापकताको दृष्टिले सबैभन्दा ठुला मानिएका बेनी र तानसेन भिडन्तमा सहभागी भए। २०५२ फागुन १ गतेबाट सुरु भएको सशस्त्र युद्धलाई समर्थन गर्दै २०५९ मा जनसेनामा भर्ती भएका परियारसँग करिब एक दर्जन साना–ठुला भिडन्तमा मृत्युसँग पौंठेजोरी गरेको अनुभव छ।

समाज र राज्य परिवर्तन गर्ने नारामा आकर्षित भएर ‘मर्न र मार्न’ तयार भएका परियार शान्तिप्रक्रियापछि परिवारको हातमुख जोड्न समस्या हुँदा खाडी मुलुक साउदी अरेबियामा पाँच वर्ष बिताएर फर्किए। सशस्त्र युद्ध र खाडीको अनुभवपछि परियारले अहिले आफ्नो पुरानो सीप प्रयोग गरी समाजमा जिउने संघर्ष गरिरहेका छन्। खाडीबाट फर्किएपछि उनी दुई छाक जोहो गर्न पुख्र्यौली पेसालाई निरन्तरता दिँदै पन्चे र नौमती बाजा बजाउन व्यस्त छन्। गोली, बारुद र हातहतियार खेलाएको विगत बिर्संदै उनले अहिले पन्चे र नौमती बाजालाई कमाइको माध्यम बनाएका छन्। पन्चे र नौमती बाजालाई कमाइको माध्यम मात्र होइन, उनी यी बाजा संरक्षण अभियानमा पनि जुटेका छन्।

आठ वर्षमै सनई बाजा बजाउन सिकेका परियार अहिले गाउँदेखि सहरमा हुने व्यक्तिगत र सार्वजनिक कार्यक्रममा परम्परागत बाजा बजाउने टोलीको नेतृत्व गर्छन्।

‘युद्धबाट फर्किएपछि मैले जिउन गरेका सबै संघर्षबाट भन्दा यो पेसाले सन्तुष्टि मिलेको छ, अब पुख्र्यौली पेसालाई नै निरन्तरता दिन्छु,’ परियारले भने। तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा बन्दुक र खाडीमा फलाम समातेका परियार अहिले देशका विभिन्न जिल्लामा पुगेर पन्चेबाजा बजाउने प्रशिक्षण दिन्छन्। उनले बाँके, चितवन, कास्कीलगायत जिल्लामा पुगेर एक महिनासम्म प्रशिक्षण दिएका छन्। उनले प्रशिक्षकका रूपमा न्यूनतम ३० हजारदेखि ६० हजारसम्म रूपैयाँ लिएको बताए। ज्यामरुककोट नौमती बाजा समूहमा आबद्ध भएर उनले स्थानीयस्तरमा समेत बाजा बजाउने तालिम दिने गरेका छन्।

परियारको मुख्य दखल सनईमा भए पनि उनले नौमती र पन्चे बाजा समूहका सबै बजाउने गरेका छन्। परियारलाई रघुगंगा गाउँपालिका–२ का आशिष  

परियार र बेनी नगरपालिका–५ खोरगैराका रामजी परियारले ट्याम्को बजएर साथ दिने गरेका छन्। आशिषले ढोलक बाजामा फरक स्वाद दिन्छन्।

लोप हुँदै पन्चेबाजा

एउटा टिम बनाएर पन्चेबाजा बजाउँदै हिँडेका दीपेन्द्रले नयाँ पुस्ताले चासो नदिँदा पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको गुनासो गरेका छन्। उनले युवाको सहभागिताबिना बुढापाकाले मात्रै पन्चे र नौमती बाजा संरक्षण सम्भव नभएको बताए। उनले स्थानीय सरकारले वडास्तरमै तालिम तथा जिल्लामा समेत प्रशिक्षण केन्द्र बनाएर यी बाजाको संरक्षण गर्नुपर्नेमा जोड दिए। पन्चेबाजा बजाउने सीप नयाँ पुस्तामा हस्तान्तरण नभएका कारण केही वर्षपछि जनशक्ति नै पाउन मुस्किल हुने बताए। ‘मैले वडाका जनप्रतिनिधिलाई पनि भनेको छु, अब यो पेसा अपनाउँदा पनि घरखर्च चलाउन सकिन्छ। तर पन्चेबाजा संरक्षणमा सरकारी निकायबाट चासो कम भयो’, उनले भने।

विवाह–व्रतबन्ध तथा शुभकार्यमा बजाइने पन्चे र नौमती बाजाको संरक्षणमा विनियोजित बजेटलाई समेत अन्य कार्यक्रममा खर्च गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने उनले बताए। उनले पन्चेबाजामा नेपालभरि नै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति म्याग्दीमा उत्पादन गर्न सकिने बताए। परम्परागत संस्कृति, कला र सीप संरक्षण नहुँदा लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ। पछिल्लो समय परियार जातिले मात्र नभई अन्य समुदायले समेत पन्चेबाजा बजाउने गरे पनि दिगो छैन। राष्ट्रिय बाजाका रूपमा परिचित पन्चेबाजाको संरक्षणमा ध्यान दिन बेनी नगरपालिकालाई उनको विशेष अनुरोध छ।

प्रकाशित: १८ भाद्र २०७९ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App