२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘टेका’का भरमा छन् पाटनका घर, जोखिमबाट जोगिन ‘टेका कुरेर बस्छन् स्थानीय’

ललितपुर महानगरपालिका वडा न. ११ स्थित टेका लगाएका घरहरू।

२०७२ सालको भूकम्पपछि देशभर पुनः निर्माणको लहर चल्यो। प्रभावित जिल्लाका अधिकांश बस्तीहरु पुनः निर्माण भए। भत्किएका संरचना हटाइए। ती स्थानमा नयाँ/नयाँ घर र भवनहरु बने। तर राजधानीकै एउटा ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सहर पाटन दरबार स्क्वायर क्षेत्र वरपरका भूकम्पले क्षति पुर्‍याएका घरहरु भने अहिले पनि जीर्ण छन्। ती घर ‘टेको’को भरमा ठडिएका छन्।  

भूकम्पको सात वर्ष बितिसक्दा पनि ललितपुरको पाटन क्षेत्रमा प्रभावकारी पुनः निर्माण हुन सकेन। भूकम्पले क्षति पुर्‍याएका पाटनमा कतिपय घर र पर्खालहरु अहिले जीर्ण छन्। ती कुनैपनि बेला ढल्न सक्ने देखिन्छन्। सम्भावित जोखिम कम गर्न जीर्ण अवस्थामा रहेका अधिकांश घर तथा पर्खालहरु ‘टेको’ लगाइएको छ।

पाटनका पुराना ऐतिहासिक टोल तथा बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलका जीर्ण अधिकांश घरमा ‘टेको’ लगाइएको छ। यस्ता संरचनामा घाँस र बुट्यान उम्रिएका छन्। घरका पर्खालहरु कमजोर देखिन्छन्। यस्ता संरचनाले जोखिम मात्र बढाएको छैन पर्यटकीय क्षेत्रमा दृश्य प्रदुषण पनि त्यत्तिकै भएको छ।  

क्षतिग्रस्त कतिपय संरचना त्यतिबेलै भत्किए र नभत्किएकाहरु जीर्ण छन्। र, कुनै पनि ढल्न सक्छन्। चर्किएका घर र  टेकोले अड्याइएका घरमा सर्वसाधारणहरु जोखिम मोलेर बसिरहेका छन्। पटक/पटक आउने पराकम्पनले कुनै पनि बेला टेकोले अड्याइएका घर भत्किने र थप क्षति हुने जाेखिम त्यत्तिकै छ। तरपनि सर्वसाधारण त्यस्ता संरचनामा बस्न विवश छन्। त्यस्ता संरचना अड्याउन लगाइएका ‘टेको’ पनि पानीले भिजेर मक्किएको र कुहिएको अवस्थामा देखिन्छन्।

ललितपुर महानगरपालिका वार्ड नम्बर १६ का स्थानीय राकेश शाक्य साँघुरा गल्लीका पुराना घरहरुमा लगाइएका ‘टेका’ मृत्युका लागि बल्छी थापे जस्तै भएको बताउँछन्। ‘कतिखेर टेको भाँचिएर घर भत्किने हो भन्ने डर लागिरहन्छ। गाडीले नै हानेर टेको ढाल्दिन्छ की भनेर दिनभर हेरेर बस्छौं’, उनले नागरिक न्यूजसँग भने।

वडा नम्बर ११ का एक स्थनीय भन्छन्, ‘पुनः निर्माण गर्न सरकारले दिएको ३ लाख रुपैयाँले घर भत्काउन पनि नपुगेको गूनासो गर्छन। ‘थपेर पुनःनिर्माण गर्न आफूसँग पैसा भएन, त्यसैले यत्तिकै टेकाको भरमा अड्याएका छौँ’, उनले भने।  

यसैगरी वडा नम्बर ११ कै एक होटल व्यवसायीको पनि त्यस्तै गूनासो छ। उनी भन्छन्, ‘सरकारले दिएको ३ लाख रुपैयाँले घर पुनः निर्माण गर्न पुगेन। त्यसैले आफैंले कमाएर २/४ वर्षपछि कमाएर बनाउने योजना छ।’

ललितपुर महानगरपालिकाको वडा नम्बर ११, १२ र १६ का कतिपय घरहरूमा अझै पनि घरहरूमा टेको लगाएर होटल, पसल सञ्चालन गरिएको छ भने कतिपय घरहरुमा सर्वसाधारण बसोबास गरिरहेका छन्। यहाँका घरहरुमा लगाइएका टेकोको त्रास टेको लगाएका घरधनीलाई मात्र छैन। सँगै जोडिएका घरका घरधनी, पैदल यात्रु, पर्यटकलाई पनि उत्तिकै छ।

ललितपुर महानगरपालिका वडा नम्बर १६ वडाध्यक्ष निर्मलरत्न शाक्य भन्छन्, ‘स्थानीयहरु आन्तरिक घरायसी समस्या, वित्तीय समस्या, केही घरहरु बनाइयो, केही मर्मत गरियो, पूरा बनाउने पैसा छैन त्यही भएर टेकोको भरमा राख्न बाध्य भएका हुन्।’ उनले प्राधिकरणले दिने भनेको सुविधा खारेज भइसकेको र वडा कार्यालयले जिर्णोद्धारका लागि आवश्यक रकम स्थानीयलाई दिन नसकेको जानकारी दिए।

‘प्राधिकरणको सुविधा खारेज भइसक्यो। वडा कार्यालयसँग पैसा छैन’, वडाध्यक्ष शाक्यले भने। उनले प्राधिकरणले फेरी केही सहयोग गर्‍याे भने यी घरको जीर्णोद्धार हुने अन्यथा वडाले पुनः निर्माणमा सहयोग गर्न नसक्ने बताए। ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य भने पहिलो किस्ता लिएर पनि पुनः निर्माण नगरेको र कतिको पारिवारिक भागबण्डा र अंशबन्डा नमिलेको कारण अझै पुनः निर्माण नभएको बताउँछिन्।

उनी भन्छिन्, ‘पहिलो किस्ता लिएर पनि घर पुनः निर्माण नगरिकन दोश्रो किस्ता नदिएको, कति लागत लाग्ने हो घर मालिकले नबुझाएको र कतिपयको अंशबन्डा नभएर विवादित भएर पुनः निर्माण नभएको हो।’ उपप्रमुख बज्राचार्य भन्छिन्, ‘धेरैजसो घरहरु भागबण्डा र अंशबन्डा नमिलेको कारण पुनः निर्माण हुन नसकेको हो। अझै पनि स्थानीय सर्वसाधारण वा परिवारहरुमा एक आपसमा मिलेर आए भने स्थानीय सरकार अथवा कुन/कुन स्रोतबाट गर्न सकिन्छ त्यो खोजेर सहयोग गर्न हामी तयार छौँ।’

भूकम्पपछि सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा संकलन गरेको तथ्यांकअनुसार भूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मत्यु भएको थियो। भूकम्पमा घाइते भएकाहरु उपचारकै क्रममा मृत्यु हुने क्रम पछिसम्म चलेको थियो जसमा २२ हजार ३ सयभन्दा बढी घाइते भएका थिए। भूकम्पमा ९ लाख घर ध्वस्त भएको थियो। निजी तथा सरकारी भौतिक संरचना, ऐतिहासिक तथा पुरातात्विक देवदेवालय ध्वस्त भएका थिए। 

प्रकाशित: १७ भाद्र २०७९ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App