१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मधेसमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइयो

चन्द्रदेवलाई नैवेध अर्पण गर्दै चौरचनका ब्रतालु। तस्बिर: मिथिलेश/नागरिक

मधेस प्रदेशमा चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइएको हो। भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ चौरचन भनिन्छ। संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेदले गर्दा चौठी वा चौठ हुन गएको हो। लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ। हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ।

चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाञ्चलको विशिष्ट पर्व हो। चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाज विशेषतः मधेसी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको छ। ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ। यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई महत्व दिन्छ।

मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको पाइन्छ। चन्द्रमालाई मनको देउता पनि भनिन्छ। ऋग्वेदमा धनको प्राप्ति एवं सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ। चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ। योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ।

यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङग ठाकुरद्वारा भएको मानिन्छ। उनी ज्योतिष शास्त्र भएकाले चन्द्रमाको पूजाको परम्परा प्रारम्भ गरेको विश्वास पाइन्छ। मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ। परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई विन्ति गरिन्छ। यस्तो भाकल पाँच–दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ। लहान नगरपालिका ४ कि अम्बिका यादव झण्डै एक दशकदेखि यो व्रत बस्दै आएकी छिन्। चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ। साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरि यो पर्व सम्पन्न हुने उनी बताउँछिन्।

चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व हो। यहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन। यसमा कुनै तामझाम हुँदैन्। यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफुल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ। ब्रतालु यादवका अनुसार मानिस जन्म लिएपछि उनीहरूले सूर्य र चन्द्रमालाई मात्र हेर्यो बाँकी सबै देवी देवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ।

प्रकाशित: १५ भाद्र २०७९ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App