१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रपति भण्डारीले गरिन् पशुपतिनाथको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छिन्। 

मंगलबार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन्।  वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा,आराधना गरेकी हुन्। 

दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज मनाउने गरिन्छ। यस वर्ष पनि हिन्दु नारीहरुले हर्षोल्लासका साथ तिज मनाएका छन्। आज देशभर पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो। 

आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तिज मनाउने चलन छ। 

हिजो (सोमबार) दर खाएपछि औपचारिक रुपमा शुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ। आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ। 

तिजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ। अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन्।

प्रकाशित: १४ भाद्र २०७९ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App