२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

प्रयोगविहीन सार्वजनिक शौचालय

सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन। टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’। यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ। अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै ।

शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ।  हेरिहाले पनि अनुहारै नदेखिने। ‘शौचालय फोहोर नगरौँ’ लेखिएका पोष्टर झुण्डिएको देख्न सकिन्छ। छ वर्षभन्दा अघि जयपृथ्वी नगरपालिकाले बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ।

नागरिक सैनिक सहयोग (सीआइएमआइसी) कार्यक्रमअन्तर्गत नेपाली सेना, शत्रुमर्दन गुल्म र जयपृथ्वी नगरपालिकाको संयुक्त लगानीमा २०७३ जेठ १० गते सो शौचालयको शुभारम्भ गरिएको थियो।

सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो।  नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो। शौचालय भवन नजिकै पसल सञ्चालन गरेका एक पसले भने, 'नगरपालिकाले सुरुसुरुमा त शौचालयको रमझम नै गरेको थियो। अहिले भने वार्षिकरुपमा पनि खुल्छ कि खुल्दैन। थाहै हुँदैन। जहिल्यै बन्द देखिन्छ। शौच गर्न खोज्ने खाजा खाने बहाना गर्दै होटलको शौचालय प्रयोग गर्छन्।'

सो नगरपालिकाले सिमखेतसहित अन्य दुई ठाउँमा शौचालय निर्माण गरेको छ। बाहुलीगाडको छेउमा नयाँ बन्न लागेको बसपार्कमा र चैनपुरको खुलामञ्चमा सार्वजनिक शौचालय निर्माण गरेको हो। चैनपुरस्थित खुलामञ्चमा रहेको शौचालय वरिपरि त शौच गरेर हिँड्नै नसकिने अवस्था छ। 'शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन्', खप्तडछान्नाका कुलप्रसाद जोशीले भने, 'कहिलेकाहीँ साँझपख खुलामञ्चतिर घुम्न गइन्थ्यो। अहिले त त्यहाँ नजिक दुर्गन्धले जानै सकिन्न।' उनले नगरपालिकाले कसैको जिम्मामा दिएर शौचालय प्रयोगको शुल्कसहित तोकेर सञ्चालन गर्न सकिने बताए। 'नगरपालिकाले चाह्यो भने कसैको जिम्मा दिएर पनि चलाउन सक्थ्यो तर, त्यतातिर ध्यान गएको देखिँदैन।'उनले भने।

नगरपालिकाले बनाएको शौचालय प्रयोगविहीन अवस्थामा छन्। सुरुमा उद्घाटन गर्दासम्म निकै प्रचार हुने तर त्यो प्रचार लामो समयसम्म टिक्दैन। जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल भने नगरले बनाएका सार्वजनिक शौचालयको बारे जानकार छैन। उनले भने, 'शौचालय अहिले कुन ठाउँमा कस्तो अवस्थामा छन् भन्ने मलाई यकिन जानकारी छैन। यो विषयमा केही दिनपछि अध्ययन गरेर मात्रै भन्न सक्छु।'

नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापा नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोगमा रहेको दाबी गरे। 'नगरपालिकामा भएका सबै शौचालय अहिले पनि सुचारु अवस्थामै छन्',  उनले भने , 'अहिले भएका सञ्चालनमै छन् बाँकी शौचालय आवश्यकताअनुसार नगरपालिकाले थप्न सक्छ।' उनले अहिलेसम्म सर्वसाधारणलाई सार्वजानिक शौचालयमा शौच गर्न कठिनाइ नभएको दाबी गरे।

प्रकाशित: १३ भाद्र २०७९ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App