१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अग्निपथअन्तर्गत नै भारतीय सेनामा गोर्खा भर्ती

फाइल तस्बिर।

नेपालले भारतीय सेनामा भनासम्बन्धी नयाँ कार्यक्रम अग्निपथअन्तर्गत नेपाली गोर्खा भर्तीलाई तत्काल अघि नबढाउने बताएको दोस्रो दिन भारतले सोही कार्यक्रमअन्तर्गत नै नेपाली गोर्खा भर्तीलाई निरन्तरता दिने जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै गोर्खा भर्नालाई अग्निपथअन्तर्गत नै अघि बढाउने बताएका हुन्। ‘हामीले गोर्खा सैनिकलाई लामो समयदेखि भारतीय सेनामा भर्ना गर्दै आएका छौं। हामी आगामी दिनमा पनि भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत भर्ना प्रक्रियालाई निरन्तरता दिन चाहन्छौं,’ पत्रकारले सोधेको जवाफमा प्रवक्ता बाक्चीले भने।

बुधबार मात्र परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेटेर तत्काल उक्त कार्यक्रम अघि नबढाउन आग्रह गरेका थिए। भारतीय सेनामा नेपाली गोर्खा भर्ती सन् १९४७ मा नेपाल, बेलायत र भारत र त्रिपक्षीय सम्झौताअन्तर्गत हुँदै आएको छ। पछिल्लोसमय गोर्खा सैनिकको भर्ना पनि अग्निपथ कार्यक्रमअन्तर्गत चार वर्षका लागि मात्र हुने विषय सार्वजनिक भएपछि नेपालमा त्यसको व्यापक आलोचना हुँदै आएको छ।

गोर्खा भर्तीलाई १९४७ कै सन्धिले निर्देशित गर्ने भएकाले भारतले एकतर्फी रूपमा अग्निपथअन्तर्गत गोर्खा भर्ती गर्दा सन्धीको उल्लंघन हुने जानकारहरू बताउँछन्। अर्काेतर्फ छोटो अवधिका लागि भारतीय सेनामा भर्ना भएका युवा हतियार चलाउनमा दक्ष भएपछि स्वदेश फर्किएपछि त्यसले समाजमा कस्तो असर पार्छ भन्ने चासो र चिन्ता बढिरहेको छ।

‘एकातर्फ हामीले यहीँ रहेका युवाहरूलाई पनि रोजगारी दिन सकिरहेका छैनौं। अर्काेतर्फ हात हतियार चलाउन सिकेका युवाहरू यहाँ आउँदा त्यसले समाजमा ठूलो समस्या निम्त्याउन सक्छ,’ अन्तराष्ट्रिय मामिलाका जानकार दिनेश भट्टराईले भने। भारतले एकतर्फी रूपमा अग्निपथ कार्यक्रमअन्तर्गत चार वर्षका लागि नेपाली गोर्खालाई भारतीय सेनामा भर्ना गर्ने काम त्रिपक्षिय सम्झौता विपरित हुने उनी बताउँछन्।

यस्तो निर्णय गर्दा दुई देशका सरकारबीच सहमति गरेर मात्र अघी बढ्नुपर्ने उनी बताउँछन्। भट्टराई यस विषयमा भारतले नेपालसँग छलफल गर्नुपर्ने बताउँछन्। साथै नेपाली युवा बेरोजार छन् भनेर छोटो अवधिका लागि भारतीय सेनामा पठाउन नहुने उनको मत छ। भारतीय सेनाको अग्निपथ कार्यक्रम अन्तर्गत चार वर्षसम्म सेवा गरेपछि ११ लाख भारतीय रूपैयाँ उपदान दिने व्यवस्था रहेको छ। यसले सेनामा रहेर लामो समयसम्म सेवा गर्ने युवाहरूको आकांक्षामा पूर्णबिराम लगाइदिएको छ। यसको भारतमा पनि व्यापक विरोध भइरहेको छ।

प्रकाशित: १० भाद्र २०७९ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App