तनहुँको बन्दीपुर गाउँपालिका–१ उपल्लो फाँटका सुवास परियारका छोरा सुलभ परियार (३ वर्ष) लाई बुधबार साँझ चितुवाले आक्रमण ग¥यो। घरकै आँगनमा खेलिरहेका सुलभलाई चितुवाले आक्रमण गरेको थाहा पाएलगत्तै आमाले होहल्ला गरिन्। चितुवाले सुलभलाई करिब ५० मिटर पर पु¥याईसकेको थियो। आमाको होहल्ला र पिछापछि चितुवाले सुलभलाई छाडेर भाग्यो। घाइते सुलभको अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ।
२०७६ चैत ३ मा तनहुँकै शुक्लागण्डकी नगरपालिका–३ बन्केवामा पनि यस्तै घटना घटेको थियो। स्थानीय नारायण न्यौपानेकी २२ महिने छोरी संस्कृतिलाई त्यो बेला घरमै आएर चितुवाले आक्रमण गरेको थियो। छोरीमाथि चितुवाको आक्रमण भएको थाहा पाए लगत्तै आमा इन्दिराले धपाउँदै करिब ५० मिटर पर पु¥याएपछि संस्कृतिलाई छाडेर चितुवा भागेको थियो । उपचारपछि बालिका संस्कृति निको भएकी छिन्।
२०७६ फागुन २८ मा पनि आमासँगै छिमेकीको विवाहमा जाँदै गर्दा तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट कुमालटारीका ७ वर्षिय अनुप नेपालीलाई चितुवाले आक्रमण ग¥यो। आमा मिराको पछि लागेका अनुपलाई बीचबाटै चितुवाले उछिट्याउने प्रयास गरेको थियो। अनुपसँगै अरु दुईजना बालबालिका पनि थिए। तर, दुईजनाको माझमा रहेका अनुपलाई नै चितुवाले आक्रमण गरी लडायो। तत्काल आमा मिराले देखिन, अनि ढुंगामुढा गर्द चितुवाले अनुपलाई उछिट्याउन भने सकेन। जसोतसो मिराले छोराको ज्यान बचाइन्।
तनहुँका चितुवाको आक्रमणका यी प्रतिनिधि घटना मात्र हुन्। पछिल्लो वाँचवर्षको अवधिमा मात्र तनहुँमा चितुवाको आक्रमणका २६ वटा घटना घटेका छन्। चितुवाको आक्रमणमा परेर यो अवधिमा मात्र ११ जना बालबालिकाको ज्यान गएको छ भने १५ जना बालबालिका घाइते भएका छन्। चितुवाको आक्रमणमा परेका ती सबैजसो बालबालिका ११ वर्ष भन्दा मुनिका छन्। अधिकांशलाई चितुवाले घरमै आएर आक्रमण गर्ने गरेको तनहुँको वन कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेठले बताए।
‘२०७५ यता चितुवाबाट २६ वटा आक्रमणका घटना भएका छन्। हरेक पटकको आक्रमणमा एकजना मात्र घाइते भएका छन्। अहिलेसम्म समुहमा आक्रमण गरेको छैन। ती मध्ये ११ जनाको ज्यानै गयो,’ श्रेष्ठले भने, ‘केही बालबालिकालाई अभिभावकले चितुवाको मुखबाटै खोसेर पनि बचाएका छन्। अभिभावकको साहसले गर्दा कतिपय बालबालिकाको ज्यान जोगिएको छ।’ अधिक घटना २०७६ सालमा घटेको उनले बताए।
पछिल्लो घटना गत बुधबारको बन्दीपुरमा घटेको हो। बन्दीपुर–१ का सदस्य बिजय रानाका अनुसार बेलुकी पौनै ६ बजेतिर चितुवाले गाउँमा खसीमाथि आक्रमण गरेको थियो। गाउँलेले खसीमाथि आक्रमण गरेको देखेपछि चितुवालाई लखेटेका थिए। खसी खान नपाएर रन्थनिएको चितुवा भाग्ने क्रममा परियारको घरसम्म आएको हुनसक्ने रानाले बताए। ‘खसी खान नपाएको चितुवा भाग्ने क्रममा गाउँ छिरेछ। सुवासको घर जंगलनजिक एकान्तमा थियो। त्यहाँ सुलभ सहितका बालबालिका थिए,’ रानाले भने, ‘बुबा सुवास काममा गएका थिए। आमा पनि भर्खर कामबाट घर फर्केकी रहिछन । त्यहीबेला छोरामाथि चितुवाले आक्रमण गरेको रहेछ।’
रानाका अनुसार चितुवाले सुलभलाई बोकेर करिब ५० मिटर जति पर लगेको अवस्थामा आमाले हल्लागर्दै पिछा गरेकी थिइन। ‘सुरुमा त चितुवाले छाड्न मानेको रहेनछ। तर, अर्का एकजना पुरुष पनि त्यहीबेला त्यहाँ पुगेको र होहल्ला भएपछि चितुवा बालक छाडेर भागेको रहेछ,’ उनले भने, ‘आमाले चितुवाको पिछा गर्न सकेकै कारण बालक जोगिएका हुन्। आमाले जोखिम मोलेरै पिछा गर्दा बच्चा जोगिए।’ रानाको अनुसार बालकको घाँटीमा गहिरो चोट छ। उनको विहीबार शल्यक्रिया भएको छ। चिकित्सकले बालक खतरामुक्त रहेको जानकारी दिएको उनले बताए।
रानाका अनुसार जंगलछेउमा र एकान्त ठाउँमा घर हुनेलाई चितुवाको त्रास बढी छ। ‘पटकपटक बालबालिकामाथि आक्रमण गर्दा गाउँलेले असुरक्षा महसुस गरेका छन्। वनमा आहारा नपाउँदा चितुवा बस्ती पसेको हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘चितुवालाई धपाउने उपाय अवलम्बन गर्न वन कार्यालयलाई आाग्रह गरेका छौ। तर पनि हुन सकेको छैन।’
यसअघिको घटनामा चितुवाको मुखबाट छोरी संस्कृतिलाई बचाएका नारायण न्यौपानेका अनुसार त्यो बेला छोरी २२ महिनाकी मात्र थिइन। गाउँमा चितुवाको निकै नै त्रास थियो। बच्चा घरमा छाडेर हिड्न पनि त्रास थियो। ‘छोरीलाई चितुवाको मुखबाट खोसेरै ल्याएका हौ। छोरीलाई चितुवाले आक्रमण गरेको थाहा पाएपछि आमा इन्दिराले पिछा गर्दै जाँदा मान्छे छाडेर चितुवा भागेको थियो, त्यो बेला म पनि घरैमा भएकोले छोरीलाई जोगाउन सकियो,’ उनले भने, ‘बारम्बार यस्तै आक्रमण हुँदा त्रास हुने गरेको छ। अहिले पनि तनहुँका ठाउँठाउँमा चितुवाको आक्रमण जारी छ।’ न्यौपानेले छोरीलाई पनि करिब ५० मिटर परबाट जोगाएर ल्याउन सकेको बताए।
तनहुँका वन अधिकृत कोमलराज काफ्लेका अनुसार छिमेकी जिल्लामा पशु–चौपाया माथि चतिुवाको आक्रमण बढी छ। तर तनहुँमा भने मानवमाथिको आक्रमणका घटना धेरै छन्। उनका अनुसार गोरखामा मात्र पछिल्लो पाँच वर्षको अवधिमा पशु चौपायामाथि चितुवाको आक्रमणको घटना करिब ६ सय वटा छन्। त्यस्तै स्याङजामा यही अवधिमा दुइसयजति चौपायामाथिको आक्रमणका घटना छन्।
तर, तनहुँमा भने पशु चौपायामाथिको आक्रमणको घटना ५० वटा हाराहारीमा हुँदा मानवमाथिको आक्रमणका घटना पनि २६ वटा पुगेका छन। ‘तनहुँमा मानवमाथि बढी आक्रमण भएको छ,’ उनले भने, ‘पशुचौपायाँ माथिको आक्रमण नै नभएको होईन, तर, मान्छेमाथिको आक्रमणको श्रृंखला बढीरहँदा त्रास छ।’
काफ्लेले अभिभावकको निगरानी कम पाएका, वनजंगल र एकान्त बस्तीका बालबालिकामाथि चितुवाको आक्रमण बढी हुने गरेको छ। ‘अधिकांश घटना वनजंगल छेउका एकान्त बस्तीका बालबालिकामाथि भएका छन। त्यस्तै बालबालिकालाई घरमै छाडेर बेलुकी अबेरसम्म काममा जाने अभिभावकका छोराछोरीमाथि पनि आक्रमण भएका छन,’ काफ्लेले भने, ‘केही घटनामा अभिभावक सचेत हुँदा बालबालिकाको ज्यान पनि जोगिएको छ। अभिभावकले साहसका साथ चितुवाको मुखबाट खोसेर सन्तानको ज्यान पनि जोगाएका छन्।’ वन कार्यालयका अनुसार तनहुँका बन्दीपुर, भानु, शुक्लागण्डकी र आँबुखैरेनीमा बारम्बारजसो चितुवाले मान्छेमाथि आक्रमण गर्ने घटना दोहोरिएका छन्।
प्रकाशित: ९ भाद्र २०७९ १०:४२ बिहीबार