१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

‘भूकम्प जाँदा उद्धारमा खटिएको बिर्सन मिल्दैन’

भूकम्पका बेला उद्धारमा खटिनेगरी पोखरा विमानस्थलमा पार्किङ गरिएका भारतीय हेलिकोप्टर।फाइल तस्बिर: सन्तोष/नागरिक

पछिल्लोपटक २०७२ सालको भूकम्पको बेला उद्धार र राहत पुर्‍याउने काममा पोखरा विमानस्थल निकै उपयोगमा आएको थियो। अरू बेला नियमित हवाईसेवा दिइरहेको यो विमानस्थलले भूकम्पका बेला राहत र उद्धारमा साथ दिएको हो। भूकम्पपीडितको सहयोगका लागि आएका भारतीय वायुसेनाले हेलिकोप्टर कैयौं दिन यही विमानस्थलमा राखी पोखरा र आसपास जिल्लाका भूकम्पपीडितका लागि राहत सामग्री बोकेर खटेका थिए।

प्राकृतिक प्रकोपका बेला एउटा विमानस्थलले राहत र उद्धारमा कतिसम्म योगदान दिन्छ भन्ने यो उदाहरण नै काफी छ। केही गरी त्यो बेला यो विमानस्थलले साथ नदिँदो हो त ती भारतीय हेलिकोप्टरको सेवा सहज नहुन पनि सक्थ्यो। एउटा विमानस्थलका कारण प्राकृतिक प्रकोपका बेला राहत र उद्धारमा खटिन कत्तिको सहज हुन्छ भन्ने पोखरेलीले त्यतिबेलै अनुभव गरे। त्यसैले पोखरेलीले भन्ने गरेका छन्, ‘विमानस्थल वा विमानस्थलजस्ता खुला ठाउँ कुनै पनि बेलाका लागि आवश्यक पर्न सक्छन्, अझ प्राकृतिक प्रकोपका बेला त झनै काम लाग्छन्। यस्ता संरचना यथास्थितिमा राख्नुपर्छ। सहरको उकुसमुकुसबाट बाहिरिन र स्वच्छ श्वास लिन पनि यस्ता खुला मैदान आवश्यक छ।’

पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने तयारीमा छ। हाल चालु विमानस्थलबाट करिब पाँच किलोमिटरको दुरीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। जनवरीदेखि सञ्चालनमा आउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएपछि चालु विमानस्थल कुन रूपमा उपयोग गर्ने भन्नेबारे अझैसम्म स्पष्ट भइसकेको त छैन। तर, सो विमानस्थल अन्तर्राष्ट्रियमा गाभिएको र यहाँ कर्मचारी आवास तथा व्यापारिक कम्प्लेक्स बनाउने योजना सार्वजनिक भएपछि पोखरेली भने सशंकित भएका छन्। पोखरेलीले कुनै पनि हालतमा यो विमानस्थललाई खुला मैदानको रूपमा राखिरहनुपर्ने बताइरहेका छन्।

‘भूकम्पका बेला राहत र उद्धारमा विमानस्थलले दिएको योगदान कहिल्यै बिर्सन सकिन्न,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘पोखरेलीका हितका लागि सोच्ने हो भने विमानस्थल खुला पार्कका रूपमा राख्नुपर्छ। भूकम्पका बेला विमानस्थल नहुँदो हो त उद्धार र राहतमा ढिलाइ हुन सक्थ्यो।’ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि चालु विमानस्थललाई यथास्थितिमा राख्दा अत्यावश्यक काममा उपयोग हुने उनले बताए। ‘केही गरी अर्को विपद् आइहाले अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गरेर यो विमानस्थललाई उद्धार र राहतका काममा उपयोग गर्न सकिन्छ। भएभरका संरचनामा भवन बनाएर अर्थ राख्दैन,’ उनले भने।

आपद्विपद् आइपर्दा अहिलेको विमानस्थललाई उपयोग हुनेगरी प्रयोगयोग्य अवस्थामा राख्नुपर्ने उनले बताए। पोखरामा अहिले सबैतिर खुला मैदान छैन। बजार बाक्लिएको छ। सबैतिर अग्ला भवन बन्दा पोखरा साँघुरो बनिसकेको अवस्थामा विमानस्थल क्षेत्र खुला मैदानका रूपमा राख्नुपर्ने उनले बताए। ‘खुला मैदान र अत्यावश्यक काम पर्दा काम लाग्ने गरी विमानस्थल जोगाउनुपर्छ। पोखरेलीले शरण लिने ठाउँको रूपमा यो विमानस्थल उपयोग हुनुपर्छ,’ उनले भने।

उनको विचारमा विमानस्थलको भवन संरचनामा सेमिनार हल बनाउन सकिन्छ किनकि त्यहाँ पार्किङ क्षेत्र पनि पर्याप्त छ। त्यसबाहेक ट्याक्सी–वे र धावनमार्ग आपद्विपद्मा विमान अवतरण गराउन मिल्ने गरी तयारी हालतमा राख्नुपर्ने उनले बताए। घाँसे मैदानमा पार्क बनाउन सकिन्छ। ‘पोखराको यो विमानस्थलप्रति गलत नजर लगाउनु हुँदैन। महानगरले यसलाई पनि जोगाउन पहल गर्नुपर्छ,’ उनले भने, ‘यो विमानस्थलप्रति गलत दृष्टि लगाउनु भनेको पोखरेलीमाथिको घात हो। कुनै पनि बहानामा अरू काममा लगाउन पाइँदैन। त्यसका लागि आन्दोलन गर्न पनि तयार हुनुपर्छ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि पोखराको यो विमानस्थलको उपयोग गलत काममा गर्न नसकिने बताउँछन्। खुला ठाउँकै रूपमा यसलाई राखिने उनले बताए। स्वामित्व नागरिक उड्डयन प्राधिकरण (क्यान) मातहत रहे पनि यो क्षेत्रलाई खुला मैदानकै रूपमा राख्नुपर्ने उनले बताए। ‘अप्ठ्यारो पर्दा उपयोग हुने गरी यो विमानस्थल रहनेछ। यसलाई कुनै गलत काममा उपयोग गरिन्न। खुला ठाउँकै रूपमा विमानस्थल रहनेछ,’ मेयर आचार्यले भने, ‘कुनै पनि प्राकृतिक विपद् बाजा बजाएर नआउने भएकाले कुनै पनि बेला आवश्यक पर्ने भनेर यो विमानस्थल तयारी र चालु अवस्थामै राख्नुपर्छ। मेयर आर्चायले विमानस्थलको धावनमार्ग र एप्रोनलाई कुनै पनि बेला विमान अवतरण गराउन सकिने गरी तयारी अवस्थामा राखिने जानकारी दिए। ‘धावनमार्ग भत्काउने होइन। इमर्जेन्सी ल्यान्डिङ गराउन परे यो विमानस्थल उपयोग गर्नुपर्छ,’ उनले भने, ‘ठूला विपद् आइपर्दा खुला आकाश चाहिन्छ। त्यो बेला उपयोग गर्नुपर्छ। यदि यो विमानस्थललाई गलत रूपमा उपयोग गरियो भने आगामी पुस्ताले हामीलाई निकम्मा ठान्नेछन्।’

पोखराको भूगोल र वातावरणबारे जानकार प्राडा कृष्ण केसी विमानस्थलको खुला मैदानमा गिद्धे दृष्टि लगाउन नहुने बताउँछन्। ‘पोखराको फोक्सोको रूपमा पनि यस्ता खुला मैदान उपयोग हुनुपर्छ। त्यसलाई गिद्धे नजर लगाउनु गलत प्रवृत्ति हो,’ केसीले भने। विमानस्थल आसपासका वडामा घना बस्ती भएकाले त्यहाँका बासिन्दालाई खुला चौरको आवश्यकता छ। स्वस्थ सहर र वातावरणका दृष्टिले एकजना व्यक्तिका लागि नौ वर्गमिटर सार्वजनिक जग्गा आवश्यक पर्ने भनेर अनुसन्धानले देखाएको अवस्थामा यस्ता खुला ठाउँलाई बिगार्न नहुने उनले बताए।

‘विमानस्थलनजिकका वडामा घना बस्ती छ। त्यहाँ सार्वजनिक जग्गा निकै कम छ। विमानस्थलनजिकै ठुलो बस्ती सेतीकिनारमा जोखिमपूर्ण अवस्थामा बसेको छ। भोलि कुनै आपत् आइपरे उनै बासिन्दालाई त्यही विमानस्थलको खुला चौरमा राख्नुपर्छ भन्ने सोच्ने बेला भएको छ,’ केसीले भने, ‘कुनै पनि खालका उद्धारका लागि पनि यस्ता मैदान चाहिन्छन्। अहिले बिगार्न हतार छैन।’ पोखरा क्षेत्रका खुला मैदानमध्ये अन्यत्रका चौर अर्कै काममा उपयोग भएकाले अब विमानस्थल जोगाउनुपर्ने उनले बताए।

‘धेरैतिरका खुला चौर विभिन्न गतिविधिका लागि उपयोग भएका छन्। त्यसैले यो विमानस्थललाई बिगार्न जरुरी छैन। संरक्षित रूपमा राख्नुपर्छ,’ उनले भने, ‘पोखरा विमानस्थलबाहिर खुला देखियो भनेर जथाभावी बिगार्न पाइँदैन।’ पोखरा महानगरले विमानस्थलको जग्गा कसरी उपयोग गर्ने भनेर पहिचान गर्नुपर्ने उनले बताए। ‘गलत रूपमा उपयोग हुनुहुन्न। यो ठाउँलाई संरक्षित रूपमा राख्नुपर्छ,’ उनले भने। 

प्रकाशित: ८ भाद्र २०७९ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App