१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गलेश्वर मन्दिर: साउनमा मात्रै झण्डै १९ लाख भेटी संकलन

म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालयमा मन्दिरमा साउन महिनामा झण्डै १९ लाख संकलन भएको छ। साउन महिनामा परेका पाँच सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल १८ लाख ९० हजार दुई सय ५३ रुपैयाँ भेटी संकलन गरिएको हो।

यसवर्ष साउनको पहिलो सोमबार तीन लाख ३३ हजार ५ सय ६६, दोस्रो सोमबारमा तीन लाख १९ हजार तीनसय ३२, तेस्रो सोमबार तीन लाख ७ हजार १३ रुपैयाँ र चौथो सोमबार चार लाख ६१ हजार ४२३ रुपैयाँ र पाँचौ तथा अन्तिम सोमबार ४ लाख ६९ हजार ९ सय २९ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोका मगरले बताइन्।

यसवर्ष साउनमा परेका पाँचवटा सोमबारमध्ये सबैभन्दा धेरै अन्तिम र सबभन्दा कम तेस्रो सोमबारमा भेटी संकलन भएको छ। गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौँ र बझाङ जिल्लाका साथै छिमेकी भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

पाँचवटा सोमबार पर्नुका साथै गएको दुई वर्ष कोरोनाको कारणले पूजाअर्चना गर्न नपाएका भक्तजनहरुले यसवर्ष गलेश्वर पुगेर पुजा गरेका छन्। यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट १ लाख ३० हजारभन्दा बढी भक्तजनहरु आएको कोषले जनाएको छ।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा फिजारिएर करिब साढे घण्टासम्म गनेर सार्वजनिक गरिएको कोषकी सदस्य गौमायाँ गर्बुजाले बताइन्। ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ।

दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ। भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी, स्वास्थ्य निकाय, र ज्येष्ठ नागरिकको व्यवस्थापन र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको छ। प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएकाले पनि भक्तजनलाई यसवर्ष सहज भएको छ।

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गंगाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ। पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ।

सत्ययुगमा सतीदेवीले अग्निकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभइ स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

प्रकाशित: ३१ श्रावण २०७९ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App