११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

फुटपाथ क्षेत्रलाई व्यवस्थित बनाउँदै महानगर

काठमाडौँ महानगरपालिकाले पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान सुरु गरेको छ।  सडक अतिक्रमण गरेर अनौपचारिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई सचेत गराईएको महानगरले जनाएको छ।

अव्यवस्थित फुटपाथका कारण यात्रीहरुलाई कठिनाई हुने, सडकबाट हिँड्नु पर्ने बाध्यता र त्यसबाट हने दुर्घटनालाई मध्येनजर गर्दै सो अभियान संचालन गरिएको महानगरले बताएको छ। 

काठमाडौं महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्ने भएकाले सबैले यस अभियानमा महानगरलाई सहयोग गराेस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको बताए।

बानेश्वर क्षेत्रमा पारेको प्रभावका बारेमा जानकारी दिँदै नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराई बताउँछन्। ‘फुटपाथमा गरिने ब्यापार सामाजिक समस्या भएकोले समाधानका लागि थालिएको सामूहिक प्रयासबाट अनधिकृत व्यापारमा कमि आएको छ ,हामी पार्किङ प्रयोजनका लागि निर्माण गरिएका तर अन्य प्रयोगमा ल्याइएका ठाउँ पहिचान गर्दैछौँ। यसबाट पार्किङ समस्या समाधान हुनेछ’ उनले भने। नयाँ बानेश्वर चोकदेखि शंखमुल, पुरानो बानेश्वर, मीन भवनसम्मको क्षेत्रलाई अनौपचारिक व्यापार निषेधित क्षेत्र बनाइएको भट्टराईले बताए।

भित्री सहरी क्षेत्रका असन, इन्द्रचोक, महावौद्ध लगायतका क्षेत्रका सडकमा भएको अवरोध हटाउन जनप्रतिनिधिको साथमा अभियान चलाइरहेको महानगरले जनाएको छ। नगर प्रहरी नायव निरीक्षक लोकनाथ चुडाले व्यापारीहरुलाई सम्झाउने, माइकिङ् गरेर अनौपरिक व्यापारलाई निरुत्साहन गर्ने, औपचारिक व्यापारीले गरेका त्रुटीहरुलाई सच्याउन अनुरोध गर्ने गरिरहेको बताए। उनका अनुसार तरकारी बिक्री गर्ने ठाउँकारुपमा प्रयोग हुँदै आएका ठाउँहरुलाई विहान ८ बजेसम्म मात्र राख्न दिने गरिएको छ।

महानगरले औपचारिक रुपमा व्यापार गर्नेहरुलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायत सामान छोप्ने वस्तु राखेर सुन्दरता नविगार्न समेत अनुरोध गरेको छ।यस अभियानमा नेपाल प्रहरी ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, सामाजिक अभियन्ता जस्ता सरोकारवालाले सहभागी जनाएका छन्। हाल यस अभियानमा नगर प्रहरीसँगै दैनिक ३० जनादेखि ५० जनासम्म स्वयंसेवक परिचालन गर्ने गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०७९ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App