धादिङ मलेखु सडकको नीलकण्ठ–८ दारेगौडा खण्डको यात्रा जोखिमपूर्ण बनेको छ। वर्षाैदेखि भासिन सुरु भएको सडक यो वर्ष काहाली लाग्दो नै बनेको छ।
साविक भन्दा अहिले एक मिटर तल सडक दबिएको स्थानीय बिरबहादुर कार्कीले बताए। ‘पोहोर पनि सडकको बीच भागबाट नै चिरा परेर सडक भासियो, टालटुल गरेर त्यसैमाथी कालोपत्रे हालियो, अहिले त नजिक पुग्दा पनि डरलाग्दो छ’, कार्की भन्छन्–‘मान्छेको ज्यान नगएसम्म यो बाटो नबन्ने भयो।’
सडकको छेउदेखि कुनासम्म नै दबिएको छ। आधा भागमा त मान्छे गएर उभिनसक्ने अवस्था पनि छैन। कुनापट्टीबाट ढेप्पिएर जसोतसो गाडी वारपार भइरहेको छ। ठूला गाडीले आधा टायर पहिरोमा झुण्डाएरै पहिरो छिचोल्नु पर्ने बाध्यता छ।
देशका सबै जिल्लाबाट सदरमुकाम धादिङबेसी जोड्ने मुख्य सडक यही हो। कालुपाण्डे मार्ग अन्तर्गत दारेगौडा पार गर्दा यात्रु र सवारी चालकहरुलाई अर्काे जुनी फेरेसहर हुने गरेको छ। दिनहुँ यही बाटोमा गाडी चलाउँदै आएका चालक भोज नारायण श्रेष्ठ भन्छन्–‘पहिरोको बीचतिर पुग्दा त ज्यानै सिरिङ् हुन्छ, लोड लिएर आएको बेला गाडी सहित खसियो भने बाँचुम्ला भन्ने आश छैन।’
अहिले करिब एक सय लम्बाइमा सडक भासिएको छ। करिब १० वर्षदेखि भासिन सुरु गरेको भएपनि मर्मतमा ध्यान नदिदा हरेक वर्ष जोखिम बढ्दै गएको हो। दैनिक सयौं सवारी जोखिम मोलेरै गुडिरहेका छन्।
सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ। सडक विभाग, स्थानीय सरकारका जिम्मेवार व्यक्तिहरु दैनिक यहि सडक हँदै सदरमुकाम आवत जावत गर्छन्। तर, संभावित जोखिम र दुर्घटनाबारे कसैले चासो दिएका छैनन्।
भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो छ। सडकको तल्लोपट्टी थोपल खोला छ। खोलाकिनार देखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ। माथिबाट पनि पहिरिने दिनहुँ बढ्दो छ।
भएका वैकल्पिक सडकको सामान्य मर्मत गरी प्रयोगमा ल्याउन सके संभावित दुर्घटना रोक्न सकिने स्थानीय चालकहरु बताउँछन्। भास्सिएर तल पुगेको सडकमा मुटु छामेर यात्रा गर्नु पर्ने बाध्यता छ। ‘यात्रा गर्दैगर्दा पहिरिएर कसैको ज्यान गए जिम्मेवारी कसले लिन्छ?’ चालकहरु उल्टै प्रश्न गर्छन्।
थोपल खोलाको किनारैमा जोडिएको कालुपाण्डे मार्ग हरेक वर्ष खोतल्लिएर जोखिम बन्दै गएको छ। खोला किनारको कमजोर भुभागबाट ढुंगा निकाल्ने र त्यहि ठाउँमा खोलाले खोल्ने हुँदा पहिरो सुरु भएको हो।
कालुपाण्डे मार्ग २०५७ सालमा पिच गरिएको हो। दारेगौडामा सडक भासिन र पहिरिन थालेको करिब १० वर्ष भयो। त्यति बेला देखिनै लगातार पहिरिने क्रम रोकिएको छैन। हरेक वर्ष भासिने, चिरा पर्ने र सडक विचैमा भ्वाङ परिरहेको छ। टालटुल गरेर चलिरहेको छ। चिरिएको र भासिएको ठाउँमा हरेक वर्ष चिप्स हालेर कालोपत्रे गर्दै टालटुल गर्दै आएको छ।
पहिरो रोक्न खोला किनारदेखि नै वाल उठाएर मर्मत गर्नुपर्छ। मर्मतको नाममा पहिलो पटक यो वर्ष केहि भागमा ग्याविन जाली लगाइयो। त्यो ग्याविल जाली पछि सडकसँगै भासिएको छ। जग नै बलियो नभएको सडकको टुप्पामा अलिकति जाली लगाएर सडक विभागले झारा तिर्ने काम मात्रै गरेको नेकपा एमालेका नेता भरत ढुंगाना बताउँछन्।
खोला किनारदेखि कै पहिरोले सडक तानिरहेको विषयमा भर्खरै मात्र थाहा भएको भन्दै सडकका जिम्मेवार व्यक्तिहरु पन्छिने गरेका छन्। कालुपाण्डे मार्गका सुपरभाइजर अर्जुन सापकोटा भन्छन्, ‘खोला किनारदेखि नै पहिरिएको कुरा जाली लगाउने बेला मात्रै थाहा भयो, अहिले केही गरिहाल्न सक्ने अवस्था छैन।'
‘दारेगौडामा थोरै थोरै भासियो, एकै चोटी भासिएन। माथी मात्रै जाली लगाउदा जालीसहित भासियो। स्वायल टेष्ट गरेर दीर्घकालिन समाधानको बाटो खोजिरहेको उनले बताए।
यस्तो छ वैकल्पिक बाटो
वैकल्पिक बाटोको रुपमा ससाहको देउराली चौताराबाट इट्टाभट्टा, मैदी भञ्ज्याङ हुदै तल्लोज्यामिरेको प्रतिक्षालय निस्कन मिल्छ। तर कच्ची सडक हिलो र खाल्डाखुल्डी मर्मत नगरिदा सवारीहरुले यो बाटो पनि प्रयोगमा ल्याउन सकेका छैनन्।
फोरह्वील र अग्ला सवारी जान सक्ने भएपनि सबै खालका सवारी साधन पार गर्न सक्ने अवस्था नहुँदा वैकल्पिक बाटो प्रयोग विहिन छ। दारेगौडाको ठूलो पहिरो मर्मत गर्न ठूलो योजना चाहिने र समय पनि धेरै लाग्ने भएकोले तत्कालका लागि यो बाटो स्थानीय सरकारले नै भएपनि मर्मत गरिदिए सजिलै सवारी आवागमन गराउन सकिने ढुंगानाले बताए।
मैदीभञ्ज्याङ घुमेर आउँदा करिव दुइ किलोमिटर बढी हिड्नुपर्छ। ससाह खोला र खेत आसपासका करिव पाँच सय मिटर दुरिमा सडक अप्ठ्यारो छ। अप्ठ्यारो भागहरुमा ग्राभेल गरेर वैकल्पिक बाटो प्रयोगमा ल्याउन सकिए संभावित दुर्घटना रोक्न सकिनेछ।
प्रकाशित: ३० श्रावण २०७९ १५:१४ सोमबार