coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चीनले नेपाली चिया किन्ने संकेत

इलामको साखेजुङमा उत्पादित तयारी चिया।

भारतमा नेपाली तयारी चिया आयात रोक्न कानुन बनाउने प्रयास भइरहेका बेला उत्तरको छिमेकी चीनले नेपाली तयारी चिया आयात गर्ने संकेत दिएको छ। सरकारले चिनियाँ दूतवासमार्फत् नेपाली तयारी चिया चीन निर्यात गर्न लामो समयदेखि आग्रह गरिरहेको थियो।

भर्खरै परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा गएका बेला नेपाली तयारी चिया आयात गर्नेबारे चीनले सकारात्मक जवाफ दिएको हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले अब चीनमा नेपाली चिया निर्यात गर्ने बाटो खुल्ने भएको जानकारी दिए। ‘चिया निर्यातमा विभिन्न अवरोध भइरहेका बेला हामीले मन्त्रालय र दूतावासमार्फत् निर्यातको दीर्घकालीन उपाय पनि खोजिरहेका थियौं,’ डा.भट्टराईले भने, ‘चीनसँग सरकारले गरेको आग्रहको चाहिँ सकारात्मक प्रतिक्रिया आएको छ।’  

उनले नेपाल–चीन द्विपक्षीय बैठकमा नेपालले तयारी चिया निर्यातका लागि राखेको प्रस्तावमा चीनले सहमति जनाएको बताए। ‘द्विपक्षीय सहमतिअनुसार अब नेपाली चिया चीन निर्यात गर्न मापदण्ड तयार गर्ने बाटो खुलेको छ,’ उनले भने, ‘कुन गुणस्तरको चिया, कसरी निर्यात गर्ने भन्नेजस्ता विषयमा चाहिँ विस्तृत योजना र काम बाँकी छ।’  

कार्यकारी निर्देशक डा.भट्टराईले अहिलेसम्म आधिकारिक हिसाबले चीनमा नेपाली तयारी चिया निर्यात हुन नसकेको बताए। ‘चीनमा नेपाली चियाको ठूलो बजार सम्भावना भएकाले बोर्डले नेपाल–चीन जि टु जी (सरकार–सरकार सम्झौता)का लागि पहिले नै आग्रह गरेको थियो,’ उनले भने, ‘अहिले आएर नेपाली चिया निर्यात गर्न चीनसँग जि टु जी हुने सम्भावना बलियो बनेको छ।’  उनले नेपाली चिया चीन निर्यात गर्न दुवै देशबीच सैद्धान्तिक सहमति भएपनि त्यसको कार्यान्वयन बाँकी रहेको र त्यसलाई पूरा गर्ने बताए। ‘अब जि टु जीलाई कुन मोडलमा लैजाने भन्नेबारे छलफल हुुनेछ,’ डा.भट्टराईले भने, ‘तर, चीनसँग नेपाली चिया निर्यातको सैद्धान्तिक सहमति हुनु नै अहिलेको महत्वपूर्ण उपलब्धि मान्नुपर्छ।’  

नेपालमा वार्षिक उत्पादन हुने सवा २ करोड किलोभन्दा बढी तयारी चियाको ८० प्रतिशत हाराहारी बजार भारत नै हो। बाँकीमध्ये केही चिया स्वदेशमै खपत हुन्छ भने अरू तेस्रो मुलुक निर्यात हुन्छ। तर, विभिन्न बहाना गर्दै भारतले बारम्बार नेपाली चिया आयात रोक्न प्रयास गरिरहेकाले नेपाली व्यवसायी आजित छन्।  

पछिल्लो पटक पनि गुणस्तरीय नभएको भन्दै नेपाली चिया आयातमा ४० प्रतिशतसम्म कर लगाउनेगरी भारतको लोकसभा र राज्यसभामा प्रस्ताव उठेको छ। त्यहाँका ३० सांसदले राज्यसभा र लोकसभा अध्यक्षलाई नेपाली चिया आयात निरुत्साहित गर्ने प्रस्तावसहितको प्रतिवेदन बुुझाएका छन्। यो प्रस्तावले झस्किएका नेपाली चिया व्यवसायी, किसान र सरोकारवालाले चियाको दीर्घकालीन बजार सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए।

डा.भट्टराईले वाणिज्य र परराष्ट्र मन्त्रालय तथा भारतीय दूतावासमार्फत् पछिल्लो समस्या समाधानमा पनि पहल भएको बताए। उद्योगी, व्यवसायी, जनप्रतिनिधि र सरोकारवालाले भारतमा पछिल्लो समय चिया निर्यातमा हुनसक्ने अवरोधबारे प्रधानमन्त्रीलाई जानकारी गराएपछि सरकारले भारतमा पनि बजार सहज बनाउने प्रयास गरेको उनले बताए। ‘प्रधानमन्त्रीसँगको भेटपछि दूतावासमार्फत् भारतका सम्बन्धित ठाउँमा नेपाली चिया निर्यातबारे कुरा चलेको रहेछ,’ उनले भने, ‘सायद अब नेपाली चिया भारत निर्यातमा हुने भनिएको अवरोध पनि हट्नेछ।’  

चिया उद्योगी उदय चापागाईंले चीनमा नेपाली चियाको बजार सम्भावना प्रचुर रहेपनि सरकारले निर्यात सहज बनाउन मेहनत गर्नुपर्ने बताए। चीनले नेपाली चिया आयात गर्न सकारात्मक जबाफ दिनु नेपाली चियाकै भविष्य राम्रो हुनु पनि उनको भनाइ छ।  

तर, चीनमा चिया निर्यात गर्न सजिलो चाहिँ छैन। उद्योगी चापागाईंका अनुसार चीनमा निर्यात गरिने नेपाली चियाले कम्तीमा ४ प्रावधान पूरा गरेको हुनुुपर्छ। ‘चीन सरकारको जनरल एड्मिनिस्ट्रेसन अफ् कस्टममा नेपाली चिया दर्ता हुनुपर्छ र जि टुु जी भएकै हुनुुपर्छ,’ उनले भने, ‘त्यतिमात्र होइन, स्वास्थ्य सुरक्षा प्रमाणपत्र अनिवार्य छ भने व्यापारीको प्रोमोसनल भिजिट आवश्यक हुन्छ।’  

उनले यी काम उद्योगी र किसानले नभइ नेपाल सरकारले मात्रै गर्नसक्ने बताए। ‘व्यापारका लागि सम्झौता भएरमात्र हुँदैन, त्यहाँसम्म सहज रूपमा नेपाली चिया लैजाने बाटो चाहिँ सरकारले मात्रै बनाइदिनसक्छ,’ उद्योगी चापागाईंले भने, ‘चियामा गुणस्तर उच्च हुनु त अनिवार्य छ, यो काम चाहिँ किसान र उद्योगीको हो।’  

यसअघि पनि यहाँका उद्योगीले चिनियाँ व्यापारीसँग नेपाली चियाको कारोबार गर्नेबारे छलफल गरेका थिए। तर, दुुवै देशका सरकारबीच सम्झौता नहुँदा नेपाली चिया चीन निर्यात हुन सकेको थिएन। थोरै परिमाणको तयारी चिया विभिन्न माध्यमबाट चीन पुग्नेगरेको थियो।  

चियाको राजधानी मानिएको सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले नेपाली चिया चीन निर्यात हुँदा धेरै किसान र उद्योगीले लाभ लिन सक्ने बताए। ‘पछिल्लो पटक चीनमा नेपाली तयारी चिया विक्री गर्न बाटो खुल्ने संकेत देखिएको थाहा भएको छ, यो कार्यान्वयन भए हजारौं किसान र उद्योगीले यसको लाभ लिन सक्नेछन्,’ उनले भने, ‘त्यतिमात्र होइन, नेपाली चियामा आफसेआफ गुणस्तर कायम हुनेछ र विश्व बजारमा नेपाली चियाको माग बढ्ने छ।’ उनले चियाको गुणस्तरमा चाहिँ विशेष ध्यान दिन किसान र उद्योगीलाई आग्रहसमेत गरे। 

प्रकाशित: ३० श्रावण २०७९ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App