१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘कल्भर्ट निर्माण ढिलाइले कपनमा डुबान’

बक्स कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा कपन डुबेको स्थानीयले बताएका छन्। ठेकेदारले समयमै कल्भर्ट निर्माण पूरा गर्न नसक्दा र अझै कति समय लाग्ने भन्ने उकिन नहुँदा कपनको डुबान समस्या तत्काल समाधान हुने अवस्था नदेखिएको उनीहरूको भनाइ छ। यस वर्षको असारसम्म १४ सय मिटर कल्भर्ट निर्माण हुनुपर्नेमा जम्मा १६० मिटर मात्र बनेको अवस्था छ।

कपन क्षेत्र पर्ने बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई ठेकेदारले चुस्त रूपमा काम अगाडि नबढाउँदा डुबानको समस्या कहिले टुंगिने भन्ने अझै ठेगान नभएको बताउँछन्। ‘यो असारसम्म १४ सय मिटर बक्स कल्भर्ट बनाइसक्नेगरी अघिल्लो वर्ष नै ठेक्का लागेको थियो,’ उनी भन्छन्, ‘ठेकेदारले काम अगाडि नबढाउँदा समस्या कहिले टुंगिने भन्ने अझै ठेगान छैन।’ बक्स कल्भर्ट निर्माण भइसकेपछि भने कपन क्षेत्र ओभानो हुने उनको विश्वास छ। ‘अहिलेसम्म १४ सय मिटरको काम चुस्त रूपमा अघि बढेको भए बाँकी ९ सय मिटरको पनि ठेक्का लाग्थ्यो,’ उनले भने, ‘अघिल्लो काम नै अगाडि नबढ्दा अन्योल सिर्जना भएको छ।’

१४ सय किलोमिटर लामो यो कल्भर्ट निर्माण योजनाका लागि करिब ४५ करोड रूपैयाँको टेन्डर आह्वान गरेकोमा पिआर इन्फ्रास्टक्चर प्रालिले २८ करोडमा काम गर्ने भनेर सकारेको थियो। प्रालिका प्रोजेक्ट म्यानेन्जर राजीव यादव भने काम गर्ने क्रममा आएका विभिन्न अवरोधले कल्भर्ट निर्माणमा ढिलाइ भएको स्विकार्छन्। बिजुलीका खम्बा, साँघुरो सडक, काम गर्ने स्थान अभाव, खाल्डो खन्दा दुवैतिर रहेका घरमा पर्न सक्ने जोखिमलगायत कारणले काममा ढिलाइ भएको उनको भनाइ छ। ‘सडकमा खाल्डो खन्न थाल्यो कि घर जोखिममा पर्‍यो भन्दै स्थानीयको अवरोध हुन्छ,’ उनले भने, ‘एकएक व्यक्तिसँग डिल गर्दै अगाडि बढ्न निकै समस्या हुँदो रहेछ।’

कपन क्षेत्र पर्ने बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई ठेकेदारले चुस्त रूपमा काम अगाडि नबढाउँदा डुबानको समस्या कहिले टुंगिने भन्ने अझै ठेगान नभएको बताउँछन्।

कल्भर्ट निर्माणमा सहयोग पुर्‍याएको उपत्यका विकास प्राधिकरणका इन्जिनियर राजीव श्रेष्ठ सरोकारवाला निकायबीच आपसमा समन्वय हुन नसक्दा काममा ढिलाइ भएको बताउँछन्। ‘कुनै एक पक्षको भन्दा पनि स्टेक होल्डर सबैमा कमजोरी देखियो,’ उनले भने, ‘त्यसैले कामले सोचेजस्तो गति लिएन।’ स्थानीय सरकार, सर्वसाधारण, प्राधिकरण र ठेकेदार सबै मिलेर काम बढाए समस्या हट्दै जाने उनको विश्वास छ। लामो समय डुबानको समस्याले पीडित स्थानीयको गुनासो र दबाबपछि निर्माण सुरु गरिएको बक्स कल्भर्टमा सबैले उत्तिकै भूमिका निभाउनुपर्ने उनी बताउँछन्।

वर्षात्को समयमा काम गर्न नसकिने भएका हुनाले पानी रोकिएलगत्तै ठेकेदार कम्पनीले काम गर्ने उनले सुनाए। ‘हामीले पानी रोकिएको ६ महिनाभित्र काम सक्नेगरी समय थप गरेका छौं,’ श्रेष्ठ भन्छन्, ‘निर्माणको ढिलाइ भए नियमअनुसारको कारबाही गर्नेछौं।’ इन्फ्रास्टक्चर प्रालिका प्रोजेक्ट म्यानेजर राजीव यादव पनि एक वर्षभित्र काम सक्ने सुनाउँछन्। ‘समस्याका धेरै पाटासँग साक्षात्कार गरिसक्यौं,’ उनले भने, ‘अब एक वर्षभित्र काम सकाउनेछौं।’ विगतमा पनि भंगाल क्षेत्रको ६ सय मिटर बक्स कल्भर्ट निर्माणको काम आफूहरूले चार महिनामा सकेको उदाहरण दिँदै अवरोध नभए काम गर्न कुनै समस्या नरहेको उनले सुनाए।

पानीको उचित निकास नहुँदा कपन क्षेत्रदेखि मिलनचोक, गोपीकृष्ण, भृकुटीचोक, तेन्जिङचोकलगायत क्षेत्र हरेक वर्ष डुब्ने गरेको छ। अचानक आउने दर्के पानीको भेलले यस क्षेत्रमा पटकपटक दुर्घटनासमेत निम्तिसकेको छ। ‘आकाशमा बादल लागे पनि डराउनुपर्ने स्थिति कपनवासीको छ,’ नरेश थापा भन्छन्, ‘कपनवासीले यो समस्याबाट कहिले मुक्ति पाउने हो, अझै अन्योल छ।’

प्रकाशित: २२ श्रावण २०७९ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App