१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोमा परी म्याग्दीमा एकै परिवारका २ जनाको मृत्यु, ३ जना बेपत्ता

फाइल तस्बिर

अविरल वर्षासँगै म्याग्दीको मालिका गाउँपालिका–२,रुमको तामेङ भन्ने गाउँमा पहिरोमा परी एकै परिवारका दुईजनाको ज्यान गएको छ।  

सोमबार राती बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाउँदा नविन र रुजन विकको मृत्यु भएको वडा सदस्य भक्ती बहादुर घर्तीले बताए। ‘हामी घटनास्थलमै छौ,‘दुई जनाको शब निकालिएको छ,‘बेपत्ता भएको खोजी भइरहेको छ’ वडा सदस्य घर्तीले भने। पहिरोमा  घाम बहादुर विक, राजु विक र रोजी विकको खोजीकार्य भइरहेको छ।  

बेपत्ता परिवारका दुई छोराको शब भेटिएको छ भने आमाबुबा र एक छोरीको खोजीकार्य भइरहेको छ। घाइते अवस्थामा भेटिएकाको उपचारका लागि लैजाने तयारी भइरहेको छ।

घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा पहिरोसँगै पुरिएका थिए। बर्षा र निरन्तर खसिरहेको पहिरोले उद्धार र खोजीमा समस्या भएको स्थानीयबासीको भनाइ छ। बस्तीमाथिबाट ठूलो पहिरो खसेको र घर समेत बगाएका कारण उनीहरूलाई जीवितै फेला पार्ने सम्भावना कम रहेको उद्धारकर्ताको भनाई छ।  

खोज, उद्धार तथा राहतका लागि वडाका विभिन्न बस्तीबाट घटनास्थल तर्फ गइरहेको वडा सदस्य भक्त बहादुर पुनले बताए। लगातारको वर्षातका कारण वेपत्ता भएकाको खोजीकार्यमा समस्या भएको छ। ‘भिषण वर्षाले बेपत्ताको खोजीमा समस्या भएको छ,‘उद्धारका लागि आइरहेको टोलीलाई समेत बाटोमा समस्या भएको छ’ घटनास्थलमा रहेका वडा सदस्य पुनले भने।  

तामेङ गाल्टा आसपासका क्षेत्र हुदै उद्धारका लागि स्थानीयबासी, जनप्रतिनिधि सहितको टोली घटनास्थलमा पुगेपनि उद्धारमा  कठिनाई भइरहेको छ।  पहिरोमा घाईते भएका गोठे र गोरी विकलाई थप उपचारका लागि पठाउने तयारी भइरहेको छ।  

पहिरोस्थलबाट घाईते अवस्थामा उद्धार गरिएकालाई थप उपचारका लागि पठाउन समेत वर्षा बाधक बनेको छ। ‘घरका सबै निन्द्रामा थिए, बेपत्ता पनि पहिरोमै पुरिएको हुनसक्छ’ उद्धारमा खटिएको टोलीले भन्यो।

जनजाति र दलितको बसोबार रहेको बस्तीको दुई घर पहिरोले पुरेको थियो। रुमतर्फको सोलेडाँडा आसपासबाट निरन्तर पहिरो खसिरहेको अवस्थामा समेत उद्धारमा खटिएको टोलीले पहिरोस्थलबाट दुई शब भने निकालेको छ।  बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयलाई घटनास्थल पठाएको भएपनि अहिलेसम्म पुग्न सकेको छैन्। लगातार दुई दिन देखि परिरेहको वर्षाले पश्चिम म्याग्दीको जनजिवन अस्तब्यस्त भएको छ।  

प्रकाशित: १७ श्रावण २०७९ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App