सुनसरीको वराहक्षेत्र नेपालकै प्रख्यात तीर्थस्थल हो। पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिने योजनासहित २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको बराहक्षेत्र मन्दिर नजिकै पहाड र तराईको मुख्य नाका स्थापना गरेका थिए।
दिंवगत प्रधानमन्त्री अधिकारीको पालामा मध्य पहाडदेखि तराई जोड्नलाई बाटो निर्माण गरेसगै प्रमुख नाका स्थापना गरिएको थियो। त्यो बेला पहाडबाट व्यापारको लागि तराई झर्नेहरुको प्रमुख नाका बराहक्षेत्र मन्दिर नजिकै थियो। त्यतिबेला नाकालाई राम्रो कर उठाउने नाका मानिन्थ्यो। तर, यतिबेला त्यो नाका र अनि त्यहाँ हुने चहलपहल शुन्य छ।
पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभादेखिका व्यापारीहरुले उत्पादित सामानहरु लिएर आउने गर्दथे। साथै त्यो ठाउँबाट ढकार बोकेर नुन, तेल, मर–मसला ओसार्ने पनि प्रमुख थलो थियो। तर, यतिबेला त्यो नाका सुनसान अनि ओझेलमा परेका छन्।
२०६९ साल यताबाट सप्तकोशी नदीमा जेट बोट सञ्चालनमा आएसँगै क्रमश नाकामा चहलपहल घट्दै गएको हो। अर्कातिर मध्य पहाडी लोक मार्ग विस्तार भएसँगै निम्न स्तरका व्यवसायी चतरा आउने क्रम पनि घटेको वराहक्षेत्र संरक्षण मंञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए। ‘५१ साल यताका चर्चित नाका जसले नेपाल सरकारलाई धेरै राम्रो कर मार्फत आम्दानी दिने गरेको थियो। त्यही नाका अहिले सुनसान त छ नै, ओझेलमा पनि परेको छ,’ उनले भने।
सुनसरीकै पुरानो चतरा बजारबाट खाद्यान्न सामाग्रीहरु ढुबानी गरेर पहाडी जिल्ला लाने गरिन्थ्यो। पहाडमा उत्पादित फापर, अल्लो, अलैची, अदुवा, तरकारी तथा फलफुलहरु चतरा बजार ल्याउने गरिन्थ्यो। अहिले यी सबै कुरा सम्झनामा मात्र सीमित रहेको स्थानिय सप्त लिम्बुको अनुभव छ। ‘मन्दिर छेउ नजिकैको नाकाको कुरा त यतिबेला कथाजस्तो भइ सकेको छ,’ उनले भने। नाका नजिकै यतिबेला पनि १९९१ सालमा राणाकालिन समयमा बटुवाको लागि बास बस्ने बनाएको धर्मशाला अझै सुरक्षित छ।
कोशीपारी भोजपुर र धनकुटाको सिम्ले, आले, त्रिवेणी, साँगुरीगढीलगायतका स्थानबाट साना तथा ठुला व्यापारी तथा यात्रु कोशीको किनारै किनारको भिर बाटोमार्फत आवत जावत गर्ने गर्थे। जसले गर्दा त्यस क्षेत्रका साना तिना पसल तथा होटल व्यवसाय गर्नेहरुको समेत राम्रो आम्दानी हुने गरेको थियो। पछिल्लो समय बराहक्षेत्र मन्दिरमा आउने भक्तजन तथा पर्यटक बाहेक कोही नआउने स्थानिय होटल व्यवसायी रनभक्त राई बताउँछन्।
झोलुङगे पुल हुँदै निर्माण भएको भीरको बाटोमार्फत भोजपुर, धनकुटा र खोटाङ्को सदरमुकाम दिक्तेल बजारसम्म हिडेरै झण्डै ५ घण्टाको समयमा पुग्ने गरिन्थ्यो। तर अहिले जेट बोट सञ्चालनमा आएपछि यात्राको दुरी घटेर घण्टा भरमा सीमित भएको छ।
यसरी नेपालका पुराना नाकाहरुमध्ये वराहक्षेत्र मन्दिर नजिकैको नाका लोप हुँदै जानु इतिहास मेटिन काम हो। इतिहास बोकेका ठाउँहरूलाई संरक्षण गर्नु सरोवारवालका निकायको ध्यान जान जरुरी छ।
प्रकाशित: १३ श्रावण २०७९ १३:३४ शुक्रबार