१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिपरले किच्दा सर्लाहीमा एक पुरुषको मृत्यु

सर्लाहीको बरहथवामा टिपरले किचिएर एक पुरुषको मृत्यु भएको छ। बरहथवा नगरपालिका १० किसनपुर सीतापुरमा मोटरसाइकल चालक ३० वर्षीय मुकेश साहलाई टिपरले किच्दा शुक्रबार मृत्यु भएको हो।

बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले रौतहटको ईशनाथ नगरपालिकाको लक्ष्मीयिनया गाउँमा घर भइ बरहथवामा नै घर बनाएर बसेका महिन्द्र साहका ३० वर्षीय छोरा मुकेश साह चढेको मोटरसाइकलना २१प७४०१ मा ठक्कर दिएको थियो।

ठक्कर दिएपछि मोटरसाइकलचालक साह लडेका थिए। लडेर घाइते भएको साहलाई टिपरले ब्याक गरी कुल्चेर मारेको स्थानीयबासीले आरोप लगाएका छन्। बरहथवा ७ मा रहेको शक्तिमान पाउरोटी उद्योगमा कार्यरत मजदुर साहलाई टिपरले कुल्चेपछि घटनास्थलमै मृत्यु भएको थियो।

साहलाई कुल्चिएर फरार हुन खोजेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। घटनाका प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेपछि टिपरको पिछा गरेर प्रहरीले चालकसहित टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर चालक मकवानपुर जिल्लाको राजु लामा भएको बताइएको छ।

टिपरले कुल्चेर मानिसलाई मारेपछि स्थानीयले बरहथवामा टायर बालेर प्रदर्शन गरेका छन्। स्थानीय अर्जुन महतोले आफ्नै आँखा अगाडि देख्दा-देख्दै टिपरले मानिसलाई कुल्चेको बताउँछन्। आफूले नै प्रहरीलाई फोन गरी मान्छे कुल्चेर मार्ने गाडीलाई नियन्त्रणमा लिन लगाएको महतोको दाबी छ।

मृतक साहका दुई छोरा एक छोरी छन्। जानी-जानी दाजुलाई कुल्चेर मार्ने टिपर चालकलाई हदैसम्मको सजाय हुनुपर्ने माग मृतकका भाइ संजय साहले गरेका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७९ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App