१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय सीमावर्ती नेपाली बजारमा सुरक्षा चुनौती

फाइलतस्बिर

गुलरिया बजारको मुख्य सडकखण्डमा बिहीबार दिउँसाे शंकास्पद दुई जना देखिन्छन्। जिल्ला प्रहरी कार्यालय नजिक सय मिटर पूर्वतर्फ टोपी लगाएका यूवकको शंकास्पद नजर देख्दा स्थानीयले शंका गर्छन्। शंकास्पद रुपमा देखिएका दुई युवा गुलरिया बजारमै रहेको यामाहा बाईकको शोरुम पर्खालमा छेकिएर अडिन्छन्। साईकल चोरीको घटनाले पीडित बनेका स्थानीयले साईकल चोर ठानेर केर कार गर्दा ती युवा भाग्न खोज्दा भागदौड मच्चिन्छ।  

स्थानीयले घेरेर शंकास्पद देखिने युवाको व्याग खान तलासी गर्दा एक–एक नाल बन्दुक दुबै जनाको व्यागमा भेटिन्छ। होहल्ला पछि प्रहरीले तत्काल दुई नाल पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिन्छ।स्थानीयको सहयोगमा प्रहरीले हतियारधारी समूह नियन्त्रण लिन सफल भएको बिहीबार दिउँसको घटेको घटनाको विस्तृत बिवरण प्रत्यक्षदर्शीले सुनाए। यो प्रतिनिधि घटनाले खुला सीमाको फाइदा उठाएर भारतीय अपराधी खुलेआम नेपालको सीमा बजारमा घुमिरहेको पुष्टि गर्छ।  

यति बेला सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास ज्यूँ का त्यूँ भएको पाइएको छ।यस घटनाले खुला सीमाको फाइदा उठाएर अवैध हतियारधारी समूह नेपाल र भारतको सीमा नाघेर खुलेआम घुमिरहेको खुलासा भएको छ। दिन दहाडै गुलरिया बजारको मूख्य सडकखण्डमा हिँडिरहेका व्यक्तिबाट हतियार बरामद भएपछि स्थानीयमा त्रास बढेको छ।  

पुस १९ गते बढैयाताल गाउँपालिका–८ शितला बजारमा पर्शुराम शार्कीको सुन र चादीको पसलमा लुटपाट भयो। हतियारधारी समुहले बन्धक बनाएर शार्की दम्पतिलाई नियन्त्रणमा लिएर  सुनचाँदी पसल लुटपाट गरेका पीडितले बताएका छन्। नगद ५० हजार र एक तोलाको रानी हार हतियार देखाएर लुटपाट भएको पीडितले प्रहरीलाई उजुरी दिएका छन्। 

यस्तै मंगलबार राति कतर्नियाको गहना पसल लुटपाट भयो। पिडितले प्रहरीलाई दिएको बयानमा पेस्तोल धारी समूहले लुटपाट गरेको बताएका छन्। यसअघि बाँकेका खजुरामा समेत हतियार धारी समूहले सुनचाँदी पसलमा पुस महिनामा लुटेको प्रहरीको रेर्कडमा देखिन्छ।

हतियारसहित पक्राउ परेको दुई जना भारतीय नागरिक भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुबेदीले बताए। उनका अनुसार बहराईज जिल्ला दर्घावासी गाउका २७ वर्षीय अजय घोषी र नानपाराका अम्रेश कुमार बर्मा रहेका छन्। प्रहरीले दुई नाल कटुवा पेस्तोल,९ थान गोली र चक्कु बरामद गरेको उनले जानकारी दिए। ‘गुलरिया बजारको एक होटल नजिकबाट दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ’ उनले भने, ‘समुहमा फैलिएर अपराध गर्ने नियत आएर अपराधी योजना बुनेको हुन सक्छ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानमा अघिल्ला वर्षमा घटना घटाईरहेको डाँका मारेको घटनामा संलग्नता हुन सक्ने देखिएको छ।

लामो समय काम गरेका प्रहरी अधिकारीहरूका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती देखिएको छ। बर्सेनि सीमावर्ती जिल्लासँग जोडिएका भारतीय र नेपाली सुरक्षा प्रमुखहरुको बैठकमा खुला सीमा सुरक्षा चुनौती प्रमुख प्राथामिकता बन्ने गर्छ। अवैध हतियार,जाली नोट,मानव बेचविखन ,अवैध ओसार पसार मुख्य एजेन्डा बनेपनि भारतीय पक्ष कार्यान्वयनमा गम्भिर देखिँदैन। एकातिर अपराध गर्ने सीमा क्षेत्र नाघेर बस्ने प्रवृति कायम हुँदा सीमा क्षेत्रमा अपराधिक गतिविधि बढदै गएको स्थानीयकाे आँकलन छ।

तत्कालीन माओवादीको ‘सशस्त्र युद्ध’का बेलादेखि सीमावर्ती क्षेत्रमा अवैध हतियारको त्रास फैलिएको हो। ‘सशस्त्र युद्ध शान्तिप्रक्रियामा रूपान्तरण भएपछि देशमा एक हदसम्म शान्ति त फैलियो तर खुला सीमामा धेरै सशस्त्र समूह जन्मिएर अशान्ती फैलाएको घटना यतिबेला छैनन्। पछिल्लो समय हतियारधारी समूहले लुटपाट मच्चाउँन थालेपछि सीमावर्तीका नेपाली बजारका सर्वसाधरण र व्यवसायी असुरक्षित महुसुस गरिरहेका छन्।

प्रकाशित: १२ श्रावण २०७९ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App