कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पत्तिको ‘हत्या’ भएको छ। आफ्नै घरमा २५ वर्षका कृष्णकुमार गडरिया र उनकी २३ वर्षीया पत्नी अञ्जली गडरियाको सोमबार राती हत्या भएको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले दम्पत्तिको हत्या नै भएको बताए। घटनाको अनुसन्धान गरिरहेका मल्लले दम्पत्तिको हत्या भएपनि कस्ले र किन गर्यो भन्नेमा अहिले एकीन नभएको बताए।
घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न संयन्त्र परिचालन गरिएको उनको भनाइ छ। ‘उनीहरुको हत्या नै भएको हो, तर कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ मल्लले भने। घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ।
प्रहरीका अनुसार मृतक दम्पत्ति घरको कोठामा र उनका दाइ र भाउजु छतमा सुतेका थिए। मंगलबार बिहान अबेला सम्म पनि उनीहरु नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। उनीहरुबीच एक वर्षअघि मात्र विवाह भएको बताइएको छ। मृतक कृष्णको मुखबाट रगत निस्केको र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले घटनाको सुक्ष्म रुपले अनुसन्धान भइरहेको बताए। घटनाका विषयमा शंकास्पद व्यक्तिलाई सोधपुछ गरिरहेको र वास्तविकता चाडै पत्ता लाग्ने बताए। ‘घटनाको वास्तविकता विस्तृत रुपमा अनुसन्धान गरिसकेपछि मात्रै थाहा हुन्छ,’ न्यौपानेले भने ‘घटनाको अनुसन्धान भइरहेको छ।’
प्रकाशित: १० श्रावण २०७९ १०:०९ मंगलबार