१३ मंसिर २०७९ मंगलबार
समाज

आज भक्तपुरमा घण्टाकर्ण पर्व मनाइँंदै

भक्तपुरका टोलटोलमा मंगलबार घण्टाकर्ण चतुर्दशी पर्व मनाइँंदै छ। यसलाई स्थानीय नेपाल भाषामा गथामग चाहे भनिन्छ।  

परम्परा अनुसार भक्तपुर नगरका टोलटोलका दोबाटो, चौबाटोहरुमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलो लगायतले गथामग बनाइन्छ। साँंझ बनाइएको गथामगलाई साँंझै दाहसंस्कार गरी पर्व मनाइन्छ। यस क्रममा टोलटोलमा गरी एक सय भन्दा बढी गथांमुगको दाहसंस्कार गरिने छ। यीमध्ये भक्तपुरको दतात्रयमा गरिने दाहसंस्कार सवैभन्दा बढी आकर्षक मानिन्छ।  

टोलटोलमा स्थानीयस्तरमा नर्कट, छ्वाली, परालको संकलन गरी संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथामग बनाइन्छ। साथै घरमा फाल्नुपर्ने पुरानो नाङलोमा मुख, नाक, कान लगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँंडीको टाउको दिइएको हुन्छ।  

टोलबासी मिलेर साँंझ टोलटोलमा गथामग बनाएपछि त्यसलाई बोकेर दाहसंस्कारका लागि लिएर गएका हुन्छन्। सहभागी सयौंले छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी भएका हुन्छन्। टोलटोलमा बनाएको गथामगलाई टोलबाट पूर्वमा अवस्थित नजिकैको दोबाटो, चौबाटोमा लगेर जलाइन्छ।  

दाहसंस्कारबाट फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन अहिले पनि छ। फर्केपछि दाहसंस्कारमा सहभागी आआफनो घरमा छ्वाली बालेर धुवाले घरलाई सेक्ने चलन छ। साथै आआफनो घरको ढोकामा किला ठोक्ने पनि गरेर सम्हेबजी (भोज) खाने चलन छ। पर्वका दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गर्ने प्रचलन अहिले पनि छ।  

इतिहासविद् डा.वीरेन्द्रप्रसाद कायस्थका अनुसार यो पर्व लिच्छविकालदेखि नै सुरु भएको थियो। यो नेवार समुदायको मौलिक पर्वहरुमध्ये एक हो। वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, पिशाच चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्रै मनाउने भएकोले यसलाई नेवार समुदायको मौलिक पर्वका रुपमा लिने गरिएको छ।  

किम्वंदन्ती अनुसार घण्टाकर्ण भगवान विष्णुका भक्त थिए। उनी केवल भगवान विष्णुको मात्रै पूजा गर्दथे। एकदिन भगवान विष्णु शिव र आफू एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्ण मानेनन्। तव विष्णुले हरि र शंकर एउटै हो भनेर देखाउन हरिहरको रुपको दर्शन दिए, जसमा आधा विष्णु थिए भने आधा शिव। तैपनि घण्टाकर्ण सन्तुष्ट हुन सकेन। उनी बाहिर निस्केको बेला शिव शिव भनेर जिस्क्याउँंथे। यो सुन्नुपर्ला भनेर घण्टाकर्णले आफनो कानमा ठूल्ठूला घण्टा झुडाएर हिडथे। कसैले शिवको नाम लिने बितिकै कानको घण्टा जोडजोडले बजाउँंथे। त्यसैले यसलाई घण्टाकर्ण भनिएको किम्वंदन्ती रहेको इतिहासविद् डा.कायस्थ सुनाउँंछन्।  

यो पर्वसँंग वैज्ञानिक कारण पनि जोडिएको छ। रोपाईपछि झारका कारण वढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने बैज्ञानिक कारण यो पर्वसँंग जोडिएको तर्क एकथरीको छ ।  

प्रकाशित: १० श्रावण २०७९ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App