११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

‘मान्छे नमरी सरकार चेत्दैन’

भक्तपुर नगरपालिका–१ सल्लाघारीमा जोखिमयुक्त रूख काटेर हटाइँदै। आइतबारको दुर्घटनापछि २१ वटा रूख काटिएका छन्। तस्बिर: उपेन्द्र/नागरिक

तीनजनाको ज्यान जानेगरी आइतबार भक्तपुरको सल्लाघारीमा ढलेको रूखसँगै रहेको अर्को एउटा रूख शनिबार नै ढलेको खुल्न आएको छ। त्यस दिन सडकमा सवारीसाधन पातलो गुडेका कारण ठुलो दुर्घटना टरे पनि सँगै रहेको रूखको व्यवस्थापनमा सरोकारवाला निकाय चुक्दा आइतबारको घटना भएको हो। ‘सरकार मान्छे नमरी नचेत्ने रहेछ,’ भक्तपुर पर्यटन विकास समितिका उपाध्यक्ष दीपेशराज शर्माले भने, ‘शनिबारको रूख ढलेसँगै होसियारी अपनाएको भए आइतबार तीनजनाको मृत्यु त टर्न सक्थ्यो।’ सरोकारवाला निकाय गम्भीर भएको भए भिरालोमा रहेको रूख ढलेपछि सँगै रहेको बडेमानको रूख जोखिममा परेको थाहा पाउनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए।

शनिबार रूख ढल्दा नचेतेका सरोकारवाला निकाय आइतबार मानवीय क्षति हुने गरी भएको दुर्घटनापछि भने संयुक्त रूपमा तातेका छन्। आइतबारको दुर्घटनालगत्तै जोखिमयुक्त २० वटा रूखमा चिह्न लगाएको वन कार्यालयले सोमबार बिहानैदेखि धमाधम ती रूख ढाल्न थालेको हो। यस कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत् प्राधिकरणलगायत संघसंस्था सामूहिक रूपमा जुटे। ‘२० वटा जोखिमयुक्त रूखमा चिनो लगाएर काट्न थालेका छौं,’ डिभिजन वन कार्यालयका केदारप्रसाद नेपाल भन्छन्, ‘स्थानीयको सुझावअनुसार केही संख्या थप पनि हुन सक्छ।’

दुर्घटनामा परी घाइते भएका भक्तपुर गोलमढीकी सिम्रन लगेका बुबा श्यामसुन्दर लगे सोमबारको काम आइतबार नै भइदिएको भए ठुलो दुर्घटना टर्न सक्ने सुनाउँछन्।  

‘शनिबार रूख ढलिसकेपछि तुरुन्तै होसियारी अपनाउनुपथ्र्यो,’ भक्तपुरस्थित अस्पतालमा छोरीको कुरुवा बसेका श्यामसुन्दरले भने, ‘रूख काट्ने काम आइतबार गरिएको भए यस्तो दुर्घटनाको साक्षी बन्नुपर्देनथ्यो।’ जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्तासमेत रहेका डिएसपी राजु पाण्डे शनिबार पनि रूख ढलेको खबर पाइएको र उक्त रूख हटाएर यातायात सञ्चालन गराइएको बताउँछन्। अन्य रूखबाट हुने जोखिमको विषयमा भने त्यतिबेला थाहै नपाइएको उनले सुनाए।

भक्तपुर नगरपालिका–१ का अध्यक्ष श्यामकृष्ण खत्रीले शनिबार ढलेको रूखले कुनै क्षति नपु¥याएका कारण यस विषयप्रति त्यति गम्भीर हुन नसकेको स्वीकार गर्छन्। ‘वनको अनुमतिबिना रूख हटाउन सकिँदैन,’ उनले भने, ‘त्यही भएर हामी शनिबार ढलेको रूखको मात्र व्यवस्थापनमा जुट्यौं।’ शनिबार साँझ रूख ढलेको र भोलिपल्टै फेरि अर्को दुर्घटना भएकाले सोमबार मात्रै जोखिममा रहेका रूख हटाउन थालिएको उनले सुनाए।

डिभिजन वन कार्यालय सूर्यविनायकका केदारप्रसाद नेपाल समन्वय गरेर काम गर्दा वन कार्यालय कहिल्यै बाधक नबन्ने बताउँछन्। ‘जोखिमयुक्त रूख छन् भने सहमतिमा त्यसलाई हटाउन केही समस्या छैन,’ उनले भने, ‘तर आपसमा समन्वयको कमी हुँदा भने समस्या आउने गरेको छ।’ सोमबार सभाँझसम्म जोखिमयुक्त अवस्थाका २१ वटा रूख काटिएको उनले बताए। भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिले सल्लाघारीमा सल्लाका धेरै रूख रहेको र सरोकारवाला निकायबीच त्यस्ता घटना दोहोरिन नदिन प्रकृतिको प्रतिकूल नहुनेगरी रूखहरू हटाउने सहमति भएको बताए।  

शनिबारको दुर्घटनाबाट पाठ नसिक्दा आइतबार भक्तपुरमा ठुलो दुर्घटना भयो। अब भक्तपुरको दुर्घटनाबाट सबैले पाठक सिक्नुपर्ने सडक यातायात विज्ञ आशिष गजुरेल बताउँछन्। ‘भक्तपुरको पाठ काठमाडांैसँगै सिंगो नेपालले सिक्नुपर्छ,’ गजुरेल भन्छन्, ‘तब मात्र जोखिमयुक्त रूख ढलेर हुन सक्ने सम्भावित दुर्घटना टार्न सकिन्छ।’

अझै ठुलो क्षति हुन सक्थ्यो: चालक  

दुर्घटनामा परेको सवारीका चालक होमबहादुर मगरले आँधीहुरी नचल्दा पनि रूख ढलेको घटना आफ्नो जीवनकै सबैभन्दा जोखिमपूर्ण बन्न पुगेको बताउँछन्। ‘हावाहुरी चलेको भए, हामी सचेत हँुदै गाडी चलाउँथ्यौं,’ अस्पतालमा उपचार गराइरहेका मगरले भने, ‘अचानक रूखले आएर थिच्दा निकै अत्तालियौं।’ दुर्घटना हुनुभन्दा एक सेकेन्डजति पहिला अगाडिबाट आएको स्कुटरले केही इसारा गरेको उनले सुनाए। ‘स्कुटरबाट केही ढल्दै गरेको इसारा आएको थियो,’ उनले भने, ‘गाडी अचानक हुत्याउँदा पनि पाछाडिको भागमा रूख बज्रिहाल्यो।’ उनका अनुसार स्कुटरवालाले इसारा नदिएको भए सम्भवतः रूख बसको बीच भागमा बजारिने थियो र बसमा सवार २५ मध्ये धेरैको जीवन जोखिममा पर्ने थियो। आफूलाई इसारा दिने स्कुटरका चालकको पनि सोही दुर्घटनामा परेर मृत्यु भएको खबरले आफूलाई थप दुःखी तुल्याएको मगरले बताए। 

प्रकाशित: १० श्रावण २०७९ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App