२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोशी टप्पुमा लक्ष्मीकलीले जन्माइन् छावा

कोशी टप्पु वन्य जन्तु आरक्षमा लक्ष्मीकली हात्तीले छावा जन्माएकी छन्। १४ वर्षीया लक्ष्मीकलीले शनिबार छावा जन्माएकी हुन्। लक्ष्मीकलीले जन्माएको स्वस्थ्य छावा यो पहिलो हो।

यसअघि २०७७ जेठ अन्तिम साता लक्ष्मीकलीले जन्माएको छावा साढे आठ घण्टापछि मृत्यु भएको थियो। त्यसअघि दुई पटक गर्भ तुहिएको थियो। हात्तीका छावा नगन्य मात्र बाँच्ने गरेका छन्। जसले गर्दा आरक्षमा लक्ष्मीकलीले नयाँ छावा जन्माएसँगै खुसियाली छाएको वार्डेन रामचन्द्र खतिवडाले बताए।

लक्ष्मीकलीले गत असोज २७ गते मृत्यु भएको रैथाने जंगली मकुना हात्तीको संसर्गमा छावा जन्माएकी हुन्। मकुना करेन्ट लागेर मरेको थियो। सुनसरी कोशी गाउँपालिका वडा नं. ३ की अमलदेवी सरदारको धान खेतमा करेन्टमा परेर मकुना हात्ती मरेको अवस्थामा भेटिएको थियो।

मकुनाको मृत्युपछि मंसिर ११ गते शोभाकलीले पनि ‘छावा’ जन्माएकी थिइन्। शोभाकलीले जन्माएको त्यो छावाको नाम रामसारगज राखिएको थियो। तर, जन्मिएको २२ दिनमै रामसारगज मरेको थियो। लक्ष्भीकली भने शोभाकलीकी छोरी हुन्। जसले गर्दा शनिबार जन्मिएको छावा शाोभाकलीको नाति हो।

शोभाकलीले २०७५ असोज २५ गते पनि छावा जन्माएको थियो। जसको नाम कोशीकली राखिएको थियो। यस्तै, २०७६ असार ९ गते धमधमकलीले छावा जन्माएको थियो। जसको नाम कुसाहाकली राखिएको थियो। २०७६ असोज २६ गते सरस्वती कलीले छावा जन्माएको थियो भने २०७६ माघ ८ गते तीर्थमानकलीले छावा जन्माएको हो।

कोशी टप्पुमा शनिबार जन्मिएको छावासहित नौवटा पुगेको वार्डेन खतिवडाले बताए। हात्तीका छावा नगन्य मात्र बाँच्ने गरेका छन्। जसले गर्दा जोगाउनका लागि कर्मचारीले स्याहार गर्न अहोरात्र खटिनुपर्छ। हात्तीले १८ महिनादेखि २२ महिनामा बच्चा जन्माउने गर्छ।

हात्तीले आफ्नो आयूभर आठ पटकसम्म बच्चा जन्माउने गरेको रेकर्ड छ। तरपनि बच्चा जन्माएपछि दुर्लभै मात्रमा बाच्ने गरेका छन्। त्यसो त कोशी टप्पुमा सरुवा भएका पाँच वटा हात्ती भने चितवनमै काजमा छन्।

प्रकाशित: ९ श्रावण २०७९ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App