८ वैशाख २०८१ शनिबार
समाज

लघुवामा बस दुर्घटना अपडेट: ६ मृतक र १६ घाइतेको पहिचान खुल्यो

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए।

बस दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी जिल्लाका चन्द्रकोट गाउँपालिका ८ का १५ वर्षीय प्रवेश काफ्ले र मुसीकोट नगरपालिका ७ का ४० वर्षीय लाल बहादुर राना कुमाल रहेका छन्। यस्तै देवदह नगरपालिका ७, रुपन्देही की ८७ वर्षय डिलसरी कामी, कपिलवस्तु वाण्गंगा नगरपालिका २ बस्ने वर्ष ४५ को यज्ञ बहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ की २४ वर्षीय पूर्णीमा कामी र बाग्लुङ बडिगार्ड गाउँपालिका १० की ५५ वर्षीय यमकलि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

आइतबार दिउँसो ४ः३५ बजे तानसेन–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना भएको थियो। बुर्तिवाङदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको बस लघुवास्थित भीरबाट झण्डै १ सय मिटर तल खसेको छ। बस दुर्घटनामा ६ जनाकै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको उनले बताए। बस दुर्घटना क्षेत्र ओरालो र साँघुरो भएका कारण वर्षेनी जस्तो दुर्घटना हुने गरेको थापाले बताए।

बसका चालक किसन श्रीसका अनुसार माथि हार्थोक तर्फबाट ओरालोमा झर्दै गरेको मोटरसाईकल गलत दिशामा आएको र त्यसलाई साईड दिने क्रममा चिप्लिएर दुर्घटना भएको बताए। बस चालकको खुट्टामा चोट लागेको र सामान्य घाइते अवस्थामा रहेको बताइएको छ। आइतबार बिहानदेखी दिउँसो २ बजेसम्म बस दुर्घटना क्षेत्रमा पानी परेको कारण सडक चिप्लो समेत रहेको स्थानीयले बताए।

दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो। बुटवलबाट शव लिएर रिडीका लागि हिँडेको लु १ ख ७२७९ नम्बरको बस २०७८ सालको पुस १८ मा पनि दुर्घटना भएको थियो। रिब्दीकोट २ को लघुवामै मलामी बोकेको उक्त बस दुर्घटनामा परि ७ को मृत्यु भएको थियो भने १६ घाईते भएका थिए। लघुवामै पाँच वर्ष पहिले पनि ३२ जनाको मृत्यु भएको थियो। ओरालो, घुम्ती र साँघुरो बाटोका कारण वर्षेनी यस क्षेत्रमा दुर्घटनाका कारण अकालमै ज्यान गुमाउनेहरुको संख्या थपिँदो छ।  

प्रकाशित: ९ श्रावण २०७९ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App