coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मक्किएका रूख बेलैमा व्यवस्थापन नगर्दा दुर्घटना

भक्तपुरको सल्लाघारीमा आइतबार दिउँसो पुरानो सल्लाको रूख जरैसम्म उखेलिएर ढल्दा तीनजनाको मृत्यु भयो। घटनामा परी एक दर्जनभन्दा बढी घाइते भए। यसअघि जेठको पहिलो साता पनि चितवनमा हावाहुरीले रूख ढल्दा च्यापिएर तीनजनाको मुत्यु भएको थियो। रूख ढलेका कारण चितवनको भरतपुरस्थित भोजाडमा अटोमा सवार दुईजना र बसेनीमा म्याजिकमा सवार एकजनाको च्यापिएर मृत्यु भएको थियो। चितवनमा उक्त घटना घटेकै दिन कैलालीको लम्कीचुहास्थित गप्कामा गुडिरहेको बसमाथि रूख ढल्दा त्यसमा सवार पाँच यात्रु घाइते भएका थिए।  

सडकछेउका रूख ढल्दा हुने दुर्घटना र मृत्युका यी केही उदारण मात्र हुन्। सडककिनारका रूखको उचित व्यवस्थापन हुन नसक्दा बर्सेनि मुलुकमा सयौं घटना हुने गरेका छन्। लापरबाहीले निम्त्याएको घटनाले सयौं सर्वसाधारणको ज्यान गइसक्दा पनि यसतर्फ सरोकारवालाको गम्भीर ध्यान पुग्न सकेको छैन। झट्ट हेर्दा सडक किनारका रूख हुरीले ढलेको देखिन्छ। खासमा बुढा भएका र मक्किएका रूख समयमै व्यवस्थापन गर्न सरोकारवाला निकायले लापरबाही गर्दा ढल्ने गरेको यातायात विज्ञ आशिष गजुरेल बताउँछन्। ‘रूखको आयु कति हो, अहिले तिनीहरूको अवस्था कस्तो छ भनेर कसैले अध्ययन गरेकै भेटिन्न,’ गजुरेल भन्छन्, ‘त्यसैले कुनै बेला सौन्दर्यका लागि रोपिएका रूखहरू हावाहुरी आएका बेला दुर्घटनाको कारण बन्ने जोखिम छ।’

आइतबार दिउँसो भक्तपुरको सल्लाघारीमा बुढो सल्लाको रूख ढल्दा तीनजनाको मृत्यु हुनुका साथै दर्जनभन्दा बढी घाइते भएका छन्। सरोकारवाला निकायले मक्किएका रूख बेलैमा व्यवस्थापन नगर्दा यस्तो दुर्घटना हुने गरेको हो।

सडक सुरक्षाको समग्र अवस्था हेर्ने चुस्त निकाय नहुँदा यस्ता समस्या आउने गरेको गजुरेल सुनाउँछन्। सडककिनारमा रहेका ठुला रूख जहिले पनि खतराका सूचक हुने उनले बताए। ‘कि यसमा ठोक्किएर दुर्घटना हुन्छ,’ उनले भने, ‘कि भक्तपुरमा भर्खरे ढलेजस्तो गरेर यसले मान्छेको जीवन लिन्छ।’ सडकमा हरियाली आवश्यक रहेको तर जोखिमयुक्त रूख आवश्यक नरहेको उनी बताउँछन्। ‘जोखिम कम हुने ससाना बिरुवा सडकछेउमा राख्ने हो,’ उनले भने, ‘भएका रूखको पनि अवस्था कस्तो छ, समयसमयमा जाँच्नुपर्छ।’

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारी सडककिनारमा रहेका लाखौं रूख हटाएर सम्भव नहुने भन्दै जोखिमयुक्त रूख देखिए त्यसलाई हटाउनुपर्ने बताउँछन्। ‘जोखिमयुक्त रूख देखिए वन मन्त्रालयको सहमतिमा हटाउन सक्छौं,’ उनले भने, ‘नत्र देशभरका सबै रूख हटाउन सकिँदैन।’ कतै जोखिमयुक्त रूख देखिए सडक विभागलाई खबर गरे त्यसको समाधान निस्कने उनको भनाइ थियो। ब

भक्तपुरमा दुर्घटना भएको क्षेत्रवरपरको जमिन सैनिक विद्यालयअन्तर्गत पर्छ। कानुनी रूपमा त्यसवरपरको जमिन नेपाली सेनाको नाममा रहेको छ। त्यसकारण पनि त्यस क्षेत्रमा रूख व्यवस्थापनप्रति अन्य निकायको ध्यान पुग्ने गरेको छैन। भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवाल दुर्घटनाको दोष कसलाई दिनेभन्दा पनि अब यस्ता दुर्घटना नहोस् भन्नेतर्फ सरकार सजग हुनुपर्नेमा जोड दिन्छन्। ‘सडकछेउका जोखिमयुक्त रूख हटाउने जिम्मेवारी कसको हो ? कसले मनिटरिङ गर्ने हो ? त्यो निश्चित हुनुपर्छ,’ उनले भने, ‘भक्तपुरको जस्तो दुर्घटना फेरि अन्त कतै नहोस् भन्नेतर्फ सबै सचेत रहनुपर्छ।’  

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको उद्धार टोली पुगी प्रारम्भिक अनुसन्धान कार्य गरी ढलेको रूख र किचिएको सवारीसाधन हटाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रूखको जरा कमजोर भएर ढलेको देखिएको छ। यहाँ मात्र होइन, काठमाडौंका सडक किनारमा रहेका रूखहरू पनि उत्तिकै कमजोर देखिन्छन्। यहाँ अधिकांश ठाउँमा लहरे पिपलका बिरुवा छन्। यसको जरा कमसल हुने विज्ञको बुझाइ छ। ‘दुर्घटना निम्तिनुअगावै जोखिमयुक्त रूखको पहिचान गर्नु जरुरी छ,’ यातायात विज्ञ गजुरेल थप्छन्, ‘जीवन दिने रूखहरू मृत्युका कारण नबनून्।’

प्रकाशित: ९ श्रावण २०७९ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App