१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

५ करोड रुपैयाँ बढीको सुपारी पक्राउ, सुपारी धनी खोज्दै प्रहरी

विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार विराटनगर–१८ बुधनगर नाका हुँदै भारततर्फ लैजान लागेको अवस्थामा भारतीय नम्बर प्लेटका ट्रकसहित सुपारी प्रहरीले नियन्त्रण्मा लिएको हो।  

भारतीय नम्बरका ठूला ट्रकमा लोड गरेर भारततर्फ सुपारी लैजाँदै तयारी गरेको सूचनाका आधारमा ठूलो परिमाणको सुपारी नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ। युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका ट्रक नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको ट्रकमा २ हजार ६ सय ७८ बोरामा २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी लोड गरिएको थियो। बरामद गरिएको सुपारीको भारतीय मूल्य ५ करोड ३९ लाख ८८ हजार ४ सय ८० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।  

‘८ वटा भारतीय नम्बरका ट्रकसहित ठूलो परिमाणमा सुपारी नियन्त्रणमा लिएका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘यस नाका हुँदै शंकास्पद अवस्थामा ट्रक भारतर्फ जान लागेको छ भन्ने सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुपारी भेटिएको हो। यो सुपारी मेरो हो भनेर कोही पनि दाबी गर्न आएका छैनन्।’  

बरामद भएको सुपारीका विषयमा विभिन्न निकायसँग बुझ्ने काम भइरहेको छ। सुपारी कसले कहाँ लग्न लागेको खुलेको छैन। बरामद गरिएको सुपारी नेपालमा उत्पादन भए नभएको यकिन गर्नका लागि सम्बन्धित निकायमा पठाउने बताउँदै, एसपी कोइरालाले भने, ‘सुपारी तस्करी गर्न लागेको हो वा होइन भन्न सकिन्न। विभिन्न निकायसँग बुझ्ने र सुपारी कसको हो भनेर पत्ता लगाउने लगायत अन्य तवरबाट अनुसन्धान थालिसकेका छौं।’  

तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाउँदै भारतमा विक्री हुने गरेको छ। सुपारी मोरङ र झापाबाट बढी मात्रामा तस्करी हुने गरेको छ। पुरुष र महिलाले शरीरभित्र साना–साना पोका बनाएर र महिलाहरुले सलले छोपेर भारत लैजाने गर्छन्। खुला सीमाको फाइदा उठाउँदै उनीहरुले चोरीको बाटो प्रयोग गर्ने गरेका छन्। दस गजासँग टाँसिएका नेपालतर्फका घरमा राख्ने र प्रहरी नभएको मौका छोपेर पोका भारततर्फ फ्याकेर तस्करी हुने गरेको छ। नेपाल वाहेक अन्य देशबाट भारतमा सुपारीको आयातमा प्रतिबन्ध गरिएको छ। इन्डोनेसिया, थाइल्याण्ड, मलेसियालगायतका मुलुकबाट नेपालमा सुपारी आयात हुने गरेको छ।  

आर्थिक वर्ष २०७८÷०७९ मा १ अर्ब २६ करोड ६६ लाख ७७ हजार रूपैयाँ बराबरको सुपारी आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गत वर्ष ५७ लाख ४८ हजार २ सय ५५ किलो सुपारी आयात भएको थियो। गत जेष्ठ १५ गते अघिसम्म सुपारी आयातमा प्रति किलो ४५ रूपैयाँ भन्सार महसुल, २५ रूपैयाँ अन्तशुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको थियो। बजेट भाषणपछि प्रति किलो भन्सार महसुल र अन्तशुल्कमा १–१ सय रूपैयाँ बढेको विराटनगर भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले जानकारी दिए।

अम्बे ट्रेडिङ, राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेशनल, पिके ट्रेडर्स र तिरुपति ट्रेड लिंकसमेतले सुपारी आयातको र मनकामना ट्रेडर्सले मात्रै सुपारी निर्यातको अनुमति पाएको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा विराटनगर भन्सार हुँदै ९० करोड ६७ लाख १८ हजार रुपैयाँको २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारत निर्यात भएको छ।  

 

प्रकाशित: ६ श्रावण २०७९ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App