४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविरुद्ध रिट

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीविरुद्ध रिट दायर गरेका सफल अधिकारी।

हेटौंडामा स्थापनादेखि नै विवादमा मुछिदै आएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीविरुद्ध रिट दायर भएको छ। उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व दिन नसकेको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकोले उनीहरुलाई हटाउनुपर्ने मागसहित अदालतमा रिट दायर भएको हो।

नेकपा (एकीकृत समाजवादी)को युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले उच्च अदालत हेटौंडामा प्रतिष्ठानका उपकुलपति डा.जोशीसहित रजिस्ट्रार राजेश प्रसाईं, संयोजक चिरञ्जीवी चुडाललगायतले बदमासी गरेको पाइएको भन्दै निषेधाज्ञा सहितको उत्प्रेषणयुक्त परमादेश माग गर्दै अदालतमा रिट दायर गरेका हुन्।

रिटमा उपकुलपतिले कुलपति, सहकुलपतिको निर्देशन नमानेको, शिक्षाध्यक्षले लगेका प्रस्तावहरु सुनुवाई नगरेको, डीन नियुक्त गर्नुपर्नेमा नियमावली बनाएर अन्य कुनै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नभएको संयोजक पद खडा गरी स्वास्थ्य विज्ञान नपढेको व्यक्ति नियुक्त गरेको, २ करोड ६० लाख रुपैयाँ बेरुजु देखिएको, ६ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी पर्दा समेत प्रतिष्ठानको हितमा काम गर्न नखोजेको उल्लेख गरिएको छ।

यस्तै प्रतिष्ठानको आर्थिक कारोबारको आन्तरिक लेखा परीक्षण समेत नगराएको, प्रतिष्ठानको सभामा पनि यो विषय पेश नगरी आर्थिक बदमासी लुकाउन खोजिएको रिटमा उल्लेख छ। उपकुलपतिले अनुभव र कानूनी मापदण्ड नपुगेका रजिस्ट्रार नियुक्तिमा पनि मौनता साँधेको, प्रशासनिक र आर्थिक अनुभव नभएका व्यक्तिहरुलाई प्रतिष्ठानको रकमको कारोबार गर्न दिँदा बदमासीका अलावा बेरुजु देखिएको, अख्तियारमा उजुरी परेको विषय पनि रिटमा उल्लेख छ।

प्रतिष्ठानका पदाधिकारीहरु आफ्नो अधिकार, दायित्वबाट पन्छिएर असक्षम र अयोग्य देखिएकाले प्रतिष्ठानकै भविष्य अन्योलमा पर्ने गरी काम भइरहेकाले तत्काल रोक्न र पदाधिकारीहरुलाई पदमुक्त गरी नयाँ पदाधिकारी राखेर प्रतिष्ठानको भविष्य जोगाउन रिटमार्फत अपिल गरिएको छ।

प्रतिष्ठानको उद्देश्य र मर्मलाई नै ख्याल नगरी मनलाग्दी गरेको पाइएकोले उच्च अदालत हेटौंडामा रिट दायर गरेको युवा संघ नेता अधिकारीले बताए। अब सबै जिल्लाका संघसंस्थाको बदमासीको विरुद्ध युवाहरु बोल्नुपर्ने बेला आएको उनको भनाइ छ।

प्रकाशित: ३ श्रावण २०७९ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App