धनुषा प्रहरीले जनकपुरधाममा छापा मारेर अवैध रुपमा राखिएको मेडिकल सामग्री बरामद गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–९ संकटमोचन मन्दिर नजिक रहेको एक घरमा छापा मार्दा मेडिकल सामग्री फेला परेको हो।
अवैध रुपमा राखिएको घरमा रहेका तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
प्रहरीले भारतको मधुवनी जिल्ला जयनगर थाना बस्ने ५२ वर्षीय विपिन कुमार सिंह, दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटनाको हरनोद सिरसिया बस्ने २३ वर्षीय सुरज सिंहलाई नियन्त्रणमा लिएको छ।
करिब तीन घण्टादेखि छापा जारी रहेको यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
अहिले पनि उनीहरूले घरमा लुकाएर राखिएको सामग्रीहरु भेटिँदैछ, प्रहरी उपरीक्षक रजौरेले भने, 'हामीले छापा जारी राखेको छौँ, पूर्णरूपमा सामग्रीहरु नियन्त्रण लिएपछि पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यलयमा ल्याउने छौं।'
प्रकाशित: ३१ असार २०७९ १२:२६ शुक्रबार