३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

ज्वरो आएका १ जना कैदीबन्दीको मृत्यु, कारागारका कोरोना पुष्टि

विराटनगरमा रहेको जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको छ। अन्य ज्वरो आएका कैदीबन्दीहरुको गरिएको एन्टिजेन परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ।

कारागारका कैदीबन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए। त्यसपछि फैलन सुरु भएको ज्वरोले अहिले प्रकोपकै रूप लिएको छ। ज्वरो अत्याधिक आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैँचा नगरपालिका–४ घर भएका कैदीबन्दी ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भइसकेको छ। ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएपछि बिहीबार दिउँसो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।  

आइसियुमा राखेर उपचार भइरहेकोमा दिउँसो पौने ३ बजेतिर मृत्यु भएको हो कारागारका निमित्त जेलर तुलसीराम भगतले बताए। कोरोना परीक्षण नगरिकन शव परिवारका सदस्यले बिहीबार नै बुझेर लगिसकेका छन्। मृतक नेपाल अन्य रोगको बिरामीसमेत रहेको र त्यस अनुसारको नियमित औषधि सेवन गरिरहेका थिए। सामान्य ज्वरो आएका कारण गत असार २५ गते पनि अस्पताल लगेर नेपाललाई त्यतिबेला उपचारपछि फर्काएर कारागार नै लगिएको भगतले जानकारी दिए।  

ज्वरो आएर उपचारका लागि कोसी अस्पतालमा बिहीबार भर्ना गरिएका कैदीबन्दी १८ जनामध्ये १६ जनाको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो। त्यस्तै शुक्रबार थप ५ जनामा समस्या देखिएपछि अस्पताल पठाइएको छ। सबै कैदीबन्दीको कोसी कोभिड १९ उपचार केन्द्रमा भर्ना गरी उपचार भइरहेको निमित्त जेलर भगतले बताए।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले एन्टिजेनबाट पोजेटिभ भएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको थप यकिन गर्न सबैको पिसिआर परीक्षण गरिने छ। ‘एन्टिजेन पोजिटिभ आएकालाई थप उपचारका लागि कोसी कोभिड अस्पतालमा भर्ना गरिएको छ,’ डा. खरेलले भने, ‘संक्रमितको उपचारमा पनि कोसी अस्पतालकै जनशक्ति परिचालन गरिने छ। प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरेर संक्रमितको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाइने छ।’  

कोरोना फैलिएको पुष्टि भएपछि कैदीबन्दीको उपचार र व्यवस्थापनमा समस्या भएको बताउँदै, निमित्त जेलर भगतले भने, ‘क्षमताभन्दा बढी कैन्दीबन्दी राखिएको कारागारमा एक्कासी ज्वरोको प्रकोप फैलिएपछि समस्या थपियो। कारागारमा बिहीबारसम्म पुरुष र महिला गरेर १ हजार १३ जना कैदीबन्दी छन्। क्षमता भने महिला र पुरुष गरेर ३ सय जनाको मात्रै छ।’  

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ज्वरो आएका कैदीबन्दीलाई तत्काल उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाएको बताए। ‘संक्रमण फैलिएको कारागारको अवस्थाका बारे गृह मन्त्रालयलाई जानकारी गराइसकिएको छ,’ प्रजिअ दाहालले भने, ‘कारागारभित्र छुट्टै आइसोलेट गराएर स्वास्थ्य परीक्षण गर्ने र थप समस्या आए तत्कालै अस्पताल भर्नाका लागि व्यवस्था मिलाइ सकेका छौं।’ कारागारमा रहेका स्वास्थ्यकर्मीले कैदीबन्दीको नियमित स्वास्थ्य निगरानी राख्ने प्रजिअ दाहालले बताए।  

मोरङ कारागारमा बिहीबारसम्म १ हजार १३ जना कैदीबन्दी रहेका थिए। जसमा पुरुषतर्फ ९ सय २८ र महिलातर्फ १ जना नाबालकसहित ८५ जनाको संख्यामा रहेका छन्। कोरोना भाइरसको संक्रमण पुरुषतर्फ मात्रै रहेको र महिलातर्फ केही नभएको कारागार प्रशासनले जनाएको छ।  

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६४ जना सक्रिय संक्रमित रहेको प्रदेश १ स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

 

प्रकाशित: ३१ असार २०७९ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App