१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रसाईंले दुबईबाट १६ जनाको शव ल्याउने

बिएन्डसी अस्पतालका सञ्चालक तथा उद्यमी दुर्गा प्रसाईंले संयुक्त राज्य इमिरेट्स (दुबई)मा मृत्यु भई नेपाल ल्याउन नसकेका १६ नेपालीको शव ल्याउने भएका छन्। बुधबार पत्रकार सम्मेलनमार्फत उनले आफ्नै खर्चमा १६ जनाको शव नेपाल ल्याउने जनाएका हुन्। उद्यमी प्रसाईंले यो घोषणा आफ्नो फेसबुक पेजमा समेत घोषणा गरिसकेका छन्।

१६ जनाको शव ल्याउनका लागि दुबईका अध्यक्ष शेख महम्मद जायद अल नायनसँग कुरा गरेको र दुवईस्थित विभिन्न नेपाली संघसंस्थासँग समन्वय गरिसकेको उनले बताए। प्रतिशव ४ लाख नेपाली रुपैयाँ आफैं खर्च गरेर ल्याउने उनले बताएका हुन्। आफ्नो उद्यमबाट प्राप्त आम्दानीको केही प्रतिशत सामाजिक उत्तरदायित्वमा सेवा गर्ने क्रममा यो पहल गर्न लागेको उनले बताए। प्रसाईं एक साताअघि दुबईका राजकुमारलाई भेट्न र दुबईमा मेडिकल कलेज खोल्ने उद्देश्यका लागि पुगेका थिए।

सोही क्रममा विभिन्न आरोपमा दुबईका जेलमा परेमा २ सय जना नेपालीको अभियोगमाथि छानबिन गरी जेलमुक्त गर्ने पहल गरिरहेको समेत उनले जनाए। यसका लागि पनि दुबईका अध्यक्ष नायनसँग समन्वय भएको र निर्दोष ठहरिएकालाई माफी दिलाउन छलफल भइसकेको उनले जानकारी दिए। ‘जेलमा धेरैजना निर्दोष नेपालीह अनेक आरोपमा फसेर थुनामा रहेको दुवई भ्रमणको क्रममा जानकारी पाएँ, त्यसपछि पहल सुरु गरेको हुँ,’ उनले भने।

प्रसाईंको फेसबुक पेजमा सूचना देखेपछि आफू खुसी भएको दुबईको जेलमा परेका सिन्धुपाल्चोक बाह्रबिसेका धिरन श्रेष्ठका भाइ राजन श्रेष्ठले बताए। उनले पत्रकारसमक्ष भने, ‘मेरो दाइ निर्दोष छ र जेलमा परेको छ, ५ वर्षदेखि कसैको सम्पर्कबिना जेलमा जीवन बिताइरहेको छ,’ उनले भने।

पटकपटक परिवारबाट उद्धारका लागि गुनासो आए पनि दुबईस्थित राजदूतावासले उचित पहल नगरेकाले नेपालीहरू लामो समयदेखि जेलमा बस्नु परेको र शवको उद्धार हुन नसेकेको प्रसाईंको आरोप छ। ‘शव उद्धारका लागि सांस्कृतिक कार्यक्रम गरेर रकम संकलन गर्नु भनेको कति हाँस्यापद कुरा ? कोही होटेलमा नाचेर शवको उद्धार गर्नु कति उचित?’ उनले प्रतिप्रश्न गरे।

सम्मेलनको क्रममा प्रसाईंले करिब तीन साताअघि दुबईबाट आएका राजकुमार राजाकै साक्खे छोरा नभएर राजपरिवारको व्यक्ति भएको खुलासा गरे। ‘खास राजकुमार अबको भ्रमणमा आउने कार्यक्रम छ,’ उनले भने। आफूले पाएको सुनको लौरो भने राजाकै भएको दाबी गरे। देशमा राजनीतिक व्यवस्थाका कारण मुलुक संकटमा परेको भन्दै संघीयता खारेज गरी हिन्दुराज्यको घोषणा गर्नुपर्ने बताए।

प्रकाशित: ३० असार २०७९ ०६:०२ बिहीबार

बिएन्डसी अस्पतालका सञ्चालक तथा उद्यमी दुर्गा प्रसाईं संयुक्त राज्य इमिरेट्स (दुबई)