२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखाको मान्बुमा पहिरो: १२ घर पुर्‍यो, ४० घर विस्थापित

फाईलतस्बिर: श्यामचेत पहिरो।

गोरखाको आरुघाट गाउँपालिका १ मान्बु श्याम्चेतमा पहिरो बगेपछि १२ वटा घर पुरिएको र ४० घर जोखिममा परेको स्थानीय कुमार लामाले बताए। बस्तीलाईबीच भागमा पारेर बगेको पहिरोले पुरै गाउँ जोखिममा परेको छ।  

‘एउटा घर बग्यो, १२ वटा पुरिएको छ, त्यो घरबाट मान्छेहरु उद्धार गरियो, अरु ४० घरमा पनि मानिस बस्न डराईरहेका छन्’ उनले भने ‘पहिरो तारन्तार आईरहेको छ कहाँ जाने भन्नेमा अन्यौल छ, मानिसहरु डराईरहेका छन्।’ घर छाडेर सुरक्षित स्थान तर्फ स्थानीय गएको उनले बताए। स्याम्चेत गाउँमा एक सय १३ घर रहेको छ।  

मनबहादुर लामाको घर पहिरोले बगाएको छ। यस्तै केशबहादुर लामा, नरबहादुर लामा, भक्तबहादुर लामा, देउमाया लामा, मनबहादुर लामा, गोरे लामा, काजी लामा, मनबहादुर लामा (ख) फुलबहादुर लामा, काजी लामा, लामा लगाएतको घर पहिरोले पुरेको हो।  

यसअघि पनि त्यहाँ पहिरो बगेको थियो। बस्तीमा पहिरो बग्ने जोखिम भएपनि नियन्त्रणका लागि जाली भरिएको थियो। सोही ठाउँबाट पहिरो बगेर अहिले बस्तीमा पसेको महिला सञ्जालकी अध्यक्ष स्थानीय नरमाया लामाले बताईन। बुधवार साँझ ६ बजेतिर पहिरो बगेपछि स्थानीयको रुवाबासी चलेको उनले बताईन। ‘हतार हतार घर छाडेर भाग्दा को कहाँ गयो समेत पत्तो थिएन, अहिले पशुबस्तु सबै घरभित्रै छाडेर मान्छेको चाँही उद्धार भईरहेको छ’ उनले भनिन्।  

आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले सुरक्षाकर्मीको सहायताले उद्धारको प्रयास भईरहेको र आफू पनि त्यसतर्फ जाँदै गरेको बताए। बिस्थापितलाई त्रिपाल र खाद्यान्नको जोहो गर्ने तयारी भएको उनले बताए।  

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रातको समयमा पहिरो जाँदा उद्धारमा कठिनाई भएको बताउँदै भने ‘हामीले उद्धार र बिस्थापितको ब्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ।’ उद्धार र राहतमा सक्रिय हुन संघ संस्था, स्थानीय तह सँग समन्वय गरिएको उनले बताए। स्थानीयलाई सुरक्षित स्थानमा सर्न भनिएको उनले बताए। 

प्रकाशित: २९ असार २०७९ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App