११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

जनगुनासो सुन्न बुढीनन्दामा हेलो मेयर कार्यक्रम

हेलो मेयर कार्यक्रम उद्घाटन समारोहमा अभ्यास गर्दै जनप्रतिनिधी।

बुढीनन्दा नगरपालिकामा जनगुनासो सुनुवाईका लागि हेलो मेयर कार्यक्रम सञ्चालन गरिएको छ। २४ घण्टा नगर बासीले प्रत्यक्षनगर प्रमुखसँग आफ्ना समस्या र गुनासा सुनाउन सक्ने गरी सेवा सञ्चालन गरिएको छ।

नागरिकले फोन गर्दा पैसा नगर्ने टोल फ्रि नम्बरको व्यवस्थापनसहित सेवा बुधबारदेखि नियमित सञ्चालनमा आएको नगर प्रमुख जनककुमार बोहराले बताएका छन्। सेवाको नगर प्रमुख बोहराले नै औपचारिक शुभारम्भ गरेका हुन्।

निर्वाचित भएको दुई महिनाभित्रै उल्लेख्य काम गरेर जनस्तरबाट स्याबासी पाएका बोहराले जनगुनासो सुनुवाईका लागि हेलो मेयर कार्यक्रमको थालनी गरेका छन्। सबैले भेट्न र फोनबाटै प्रत्यक्ष सम्पर्कमा जोडिएर कुरा राख्न नसक्ने भएकोले सहज पहुँच र सेवाका लागि सेवा सञ्चालन गरिएको बोहराको भनाइ छ।

'हामी विपन्न समुदायको सवाल र समस्यालाई संवोधन गर्न आएका हौं, समुदायका तल्लो तहका नागरिकको जीवन स्तर सुधार गर्नु हाम्रो प्रमुखमा हुनुपर्छ र यही संकल्प बोकेका छौं, तीनै कामलाई थप प्रभावकारी बनाउन हेलो मेयर कार्यक्रमले थप सहयोग मिल्ने विश्वास छ' बोहराले भने।

हेलो मेयर कार्यक्रमका लागि १६६०९७५४००२ फोल फ्रि नम्बर तय गरिएको छ। पालिकाभित्रका स्वास्थ्य, शिक्षा, खानेपानी, सुशासन, कर्मचारीको सेवाप्रभाव, उपभोक्ताको काम प्राकृतिक प्रकोप तथा विपद सबै प्रकारका घटना हेलो मेयर कार्यक्रमअन्र्तगत संकलन गरी सुनुवाई गरिने नगरपालिकाले बताएको छ।

पालिकाभित्र हेलो मेयर कार्यक्रममा आएका गुनासा र सवाल सुनुवाईका लागि संयन्त्र नै बनाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताएका छन्। हेलो मेयर कार्यक्रम नगर प्रमुखले पदभार ग्रहणकै दिन सञ्चालन गर्ने निर्णय गरेका थिए। निर्णय गरेको डेढ महिनाभित्रै कार्यान्वयन गरिएको छ।

पालिकाकै कर्मचारीले गुनासा संकलन गर्ने र सोही आधारमा टेलिफोन, संवाद, भेटघाट, वा अन्य व्यक्तिको सहजिकरण मार्फत गुनासा सुनुवाई हुने गरी कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख रामबहादुर बोहराले बताएका छन्। स्थानीयले हेलो मेयर कार्यक्रमलाई विकास र प्रगतिको सुचकका रुपमा लिएका छन्।

बोहरा नेतृत्वको टिमले बुढीगंगा नगरपालिकामा २ महिनाको अवधीमै खानेपानीको सहज व्यवस्थापन, विद्यालयमा फ्रि इन्टरनेट सेवा सञ्चालन गरिसकेको छ। पालिकालाई आर्थिक भार पर्ने गरी कार्यकर्ता भर्ति गरिएको दरबन्दीलाई कटौतीगर्न जागिर अवधी नथप्ने निर्णय नै गरेको छ।

प्रकाशित: २९ असार २०७९ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App