८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिकाको योजना भुक्तानी दिन हेलिकोप्टर चार्टर

सडक सञ्जाल नजोडिएको गोरखाका चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट पैसा ढुवानी गरिएको छ। गाउँपालिका केन्द्रमा रहेको एक मात्र कुमारी बैंकले पालिकाको चालु वर्ष सञ्चालन भएको योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका पाँच करोड रूपैयाँ हेलिकोप्टरबाट ढुवानी गरेको हो।  

‘गाडी आउने बाटो छैन, हामीले जनताको सेवाका लागि हेलिकप्टर चार्टर गरेर पैसा ल्याएका हौं,’ कुमारी बैंक सिर्दिबास शाखाका म्यानेजर कृष्ण पोखरेलले भने। पैसा ल्याएसँगै चालु वर्ष गाउँपालिकाबाट सञ्चालित योजनाको भुक्तानी धमाधम भइरहेको उनले बताए। ‘दुर्गम ठाउँ भएकाले यहाँ डिपोजिट त्यति हुँदैन, पैसा ल्याएर नै दिनुपर्छ,’ म्यानेजर पोखरेलले भने ‘ऋण लगानी पनि हुँदैन, मुख्य काम नै गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता र योजनाको हो।’ सरकारले हरेक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा राख्ने योजना अनुसार चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा कुमारी बैंकको शाखा सञ्चालनमा आएको हो। उक्त बैंकले यसअघि पनि सामाजिक सुरक्षा भत्ता हेलिकप्टरबाट ल्याएर बितरण गरेको थियो।  

बैंकको शाखा रहेको वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता बैंकबाट र अन्य वडामा बैंकका कर्मचारी वडा कार्यालय पुगेर बितरण गर्ने गरेको बैंकका म्यानेजर पोखरेलले बताए। ‘बर्खा भएकाले अन्य वडामा दशैँ अघि र सिर्दिबासमा साउन महिनामा सामाजिक सुरक्षा भत्ता बितरण हुन्छ’ उनले भने।  

बैंकमा पैसा सकिँदा एक सातादेखि पालिकाको योजनाहरूको भुक्तानी हुन सकेको थिएन। ‘बैंकलाई पटक पटक आग्रह गरेपछि हेलिकप्टरबाट पैसा ल्याएर बितरण थालेको छ’ चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने। अहिले लगिएको पाँच करोडले केही महिना कारोबार संचालन हुने भएकाले स्थानीयलाई सहज हुने उनले बताए। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका तिब्बत सँग सिमाना जोडिएको पालिका हो। मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने उक्त ठाउँमा हेलिकप्टर लैजान गृहमन्त्रालयबाट अनुमती लिनुपर्छ। स्थानीय तह, जिल्ला प्रशासन, गृहमन्त्रालय हुँदै अनुमति प्रक्रिया पुरा गरेपछि मात्रै हेलिकप्टर उँडाउन पाउने व्यवस्था छ। 

प्रकाशित: २९ असार २०७९ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App