१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

गलकोट नगरपालिकाले थाल्यो फोहोर प्रशोधन

फाइल तस्बिर

स्थानीय तहहरुले फोहाेर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ। गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि फोहर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो। नगरपालिकाले यस वर्षदेखि भने फोहर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो।

बढ्दो सहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेपछि उक्त नगरपालिकाले वडा नं ३ र ९ को सिमानामा पर्ने मसुरखेतमा चार रोपनी जग्गा भाडामा लिएर फोहर प्रशोधन केन्द्र स्थापना गरी फोहर व्यवस्थापन गर्न थालेको छ। नगरपालिकाको पहिलो कार्यकालमै फोहर प्रशोधन केन्द्र स्थापना गरिएकोमा दोस्रो कार्यकाल सुरु भएलगत्तै फोहोर प्रशोधन गर्न थालिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।  

'पहिलो कार्यकालयमा फोहर व्यवस्थापन निकै चुनौती बन्यो, त्यसैले फोहोर प्रशोधन गर्ने उपकरण खरिद गरिसकेका थियौँ' उनले भने 'दोस्रो कार्यकालको सुरुमै हामीले फोहर प्रशोधन गर्ने उपकरण सञ्चालनमा ल्याएका छौँ, फोहर प्रशोधनपछि त्यसलाई बिक्री गर्न सकिन्छ।'

यसअघि हटिया बजारको फोहर गौदीखोलामा फालिने गरिन्थ्यो। बजारकै छेउमा फोहर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै आएका थियौँ। नगरपालिकाले जग्गा अभावमा फोहरको डम्पिङ साइड खोज्न नसकेपछि जग्गा भाडामा लिएर अहिले फोहर प्रशोधन केन्द्र स्थापना गरेको हो। फोहाेर प्रशोधन केन्द्रमा अहिले धमाधम फोहर प्रशोधन भइरहेको छ। नगरप्रमुख गैरेले फोहरलाई कुहिने र नकुहिने गरी छुट्याएर प्रत्येक दिन छुट्टाछुट्टै संकलन गरिँदै आएको बताए। नगरपालिकाले अहिले नकुहिने फोहोर मात्रै प्रशोधन गर्दै आएको छ।  

३३ लाखको लागतमा स्थापित सो  केन्द्रमा अहिले एउटा ट्र्याक्टरबाट फोहर संकलन गर्ने गरिएको छ। कुहिने फोहरको मल बनाइनेछ भने नकुहिने फोहरलाई प्रशोधन उपकरणबाट पेलेर टुक्राउने, धुने र पुनः प्रयोगका लागि बिक्री गरिने भएको छ। फोहोर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहर प्रशोधनपछि बिक्री गरेर उठाउने लक्ष नगरपालिकाले लिएको छ। मुख्य बजार क्षेत्रको फोहोर संकलन गरेर प्रशोधन गरिरहेको र प्रशोधन गरिएको फोहरलाई बिक्री गर्ने फोहर प्रशोधन केन्द्र संयोजक तथा पूर्ववडाध्यक्ष वीरजंग भण्डारीले बताए। रासस

प्रकाशित: २७ असार २०७९ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App