२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अभद्र ‘सवारी साहित्य’मा प्रहरी डन्डा!

सवारीसाधनमा लेखिएको अभद्र साहित्य हटाउँदै ट्राफिक प्रहरी। तस्बिर सौजन्य: काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय

सार्वजनिक सवारी साधनका भित्ताहरूमा लेखिएका सायरीले हरेकको मन तान्छ। गाडीपिच्छे लेखिएका रोचक साहित्य कतिपय अवस्थामा निकै मिठा पनि हुन्छन्। जसमा मोहित नहुने विरलै हुन्छन्।

सवारी साहित्य कतिपय यस्ता पनि हुन्छन्, जो मन त छुन्छन् तर त्यसले अभद्रता, अश्लीलता, लैंगिक संवेनशीलतामा समेत असर गरिरहेका हुन्छन्। यस्ता सवारी साहित्यले सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी देखाइरहेका हुन्छन्।

यही अभद्रता झल्कने सवारी साहित्यमाथि ट्राफिक प्रहरीले ‘एक्सन’ सुरू गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विहीबारबाट यस्ता सवारी साहित्य हटाउने अभियानलाई चुस्तता दिएको छ।

यही अभियानका केही दृश्यहरूसहित कार्यालयले बिहीवार एक सन्देश प्रवाह गरेको थियो। जसमा ट्राफिक प्रहरीहरू केही सार्वजनिक सवारीका साधनहरूमा लेखिएका त्यस्ता अभद्र साहित्य हटाउँदै गरेका दृश्यहरू सङ्कलित छन्।

अभद्र साहित्यले समाजमा नराम्रो प्रभाव पार्ने र त्यसले दुर्घटना समेत निम्त्याउने भएका कारण ट्राफिक प्रहरीले यस्ता सामग्री मेटाउने अभियान थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बालनरसिंह राणाले बताए।

‘अश्लील, लैंगिकता झल्कने, द्वैधअर्थ लाग्ने, साम्प्रदायिकता भड्किने खालका कुराहरूलाई हटाउने हाम्रो योजना हो,’ उनले भने, ‘बिहीवारबाट यसलाई चुस्तता दिएका छौं।’ एकै दिन सयौं गाडीमा लेखिएका यस्ता अभद्र साहित्य हटाइएको उनले बताए।

ट्राफिक प्रहरीले यसरी सवारी साहित्य हटाउन थालेपछि सवारी साहित्यप्रेमीहरूको भने ध्यानाकर्षण भएको छ। उनीहरूले सकारात्मक सन्देश दिने साहित्य समेत मेटाउन थालेको भन्दै असन्तुष्टि र विरोध जनाइरहेका छन्।

उता सकारात्मक सन्देश दिने खालका कुराहरूलाई भने नहटाएको डिएसपी राणाले बताए। ‘सकारात्मक कुराहरू रहेकालाई हटाउँदैनौं। तर, अहिले अधिकांशमा नकारात्मक कुरा नै बढी छन,’ उनले भने।

डिआइजी मीराको पहिलो ‘एक्सन’

डिआइजी बढुवा भएपछि मीरा चौधरीको पहिलो ‘पोस्टिङ’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भएको हो। जहाँ उनी बुधबार मात्रै हाजिर भएकी थिइन्। हाजिर हुनासाथै उनले पहिलो एक्सन सवारी साहित्यमाथि गरेकी छन्।

‘म यहाँ आइसकेपछि उद्देश्य भनेको सभ्य, व्यवस्थित सडक र सुरक्षित सवारी यात्रा कायम गराउने नै हुन्छ,’ नागरिकसँगको कुराकानीमा डिआइजी चौधरीले भनिन्, ‘यसै उद्देश्य अनुसार नै यो काम अगाडि बढाएका हौं।’

यो काम ट्राफिक प्रहरीले पहिलोपटक नगरेको उनले बताइन्। ‘यो पहिल्यैदेखि गर्दै आएको काम हो। मैले त यसमा तीब्रतामात्रै दिन खोजेकी हुँ,’ उनले थपिन्।

लैंगिकतासँग जोडिएका, महिलालाई होच्याउने, अश्लीलता झल्कने, अनेक अर्थ लाग्ने साहित्य प्रयोगले सवारी यात्रा र सडकलाई दूषित पारिरहेका कारण आफूले यसलाई सफा पार्न प्रयास थालेको डिआइजी चौधरीले बताइन्। उनले भनिन्, ‘कतिपय यस्ता शब्द हुन्छन्, जो पढ्नै सकिन्न। कसैले महिलालाई नराम्ररी होच्याएको हुन्छ। समाजमा एकदमै नराम्रो सन्देश दिइरहेको हुन्छ। तीनलाई हटाउँदा सडक र सवारी स्वच्छता कायम हुन्छ भनेर यो अभियानलाई जोड दिएका हौं।’

नेपाल प्रहरीका विभिन्न इकाइ, त्यसमा पनि ट्राफिक प्रहरीमा नयाँ  नेतृत्व आउँदा उनीहरूले विगतदेखि नै यस्ता अनेकौं ‘स्टन्ट’हरू गरेर चर्चामा आउने गरेका छन्। केही दिन चर्चाका लागि मात्रै यस्ता कामहरू हुन्छन्।

तर केही समयपछि त्यसले न निरन्तरता पाउँछन्, न त्यसले दिगो रूपमा समस्या समाधान भएर अगाडि बढ्छ। तर आफ्नो यो प्रयास क्षणिक स्टन्ट मात्रै नभएको डिआइजी चौधरीले बताइन्। ‘यो ट्राफिक प्रहरीले अहिले मात्रै सुरू गरेको काम होइन, पहिल्यैदेखि गर्दै आएको काम हो,’ उनले भनिन्, ‘अहिले हामीले तीव्रता दिएसँगै सडकमा गुड्ने सबै सवारी साधनबाट यस्ता खराब साहित्यहरू सम्पूर्ण रूपमा मेट्छौं।’ पूर्ण रूपमा मेटिसकेपछि फेरि नलेख्न पनि चेतावनी दिने गरेको उनले बताइन्।

ट्राफिक प्रहरीमा नयाँ नेतृत्व आउँदा दिगो प्रभाव पार्नेगरी भएका कामहरूमा मापसे चेकिङ र उपत्यकामा हर्न निषेधको कामलाई लिइन्छ।

प्रकाशित: २५ असार २०७९ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App