१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जातकै कारण फेरिएको नाम

नामको पछाडि धेरै कुरा जोडिएका हुन्छन्। परिचय, प्रसिद्धिदेखि अन्य स्थापित अवस्थाहरू। नयाँ मान्छेसँग चिनजान गर्नेदखि लिएर आफूलाई लाखौं मान्छे बीचमा भिन्नै रूपमा चिनाउने आधार नाममा हुन्छ। त्यति मात्र होइन, आफूले गरेको कामबापत कमाएको प्रतिष्ठा पनि नामबाटै चिनिन्छ र चिनाइन्छ ।

नेपाली साहित्यको क्षेत्रमा प्रगतिवादी लेखकको रूपमा स्थापित भइसकेको नाम हो-हरिमाया भेटवाल। कथा, नाटक, उपन्यास र कवितामार्फत उनको नाम परिचित बनिसकेको छ।

विगत दुई वर्षदेखि यता भने उनको यो पुरानो नाम कतै देखिँदैन। उनले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुकमा दुई वर्षदेखि हरिमायाको सट्टा माया मानवी बनिसकेको छ। पहिलेको नाम फेरेपछि सामाजिक सञ्जालमार्फत उनलाई खोज्ने कैयौं साथीभाइले उनलाई भेट्टाउनै सकेनन्, भेट्टाएकाहरू अलमलमा परे।

बल्लबल्ल सम्पर्कमा आएका साथीहरूको गुनासो हुन्छ, ‘फेसबुकमा भेट्टाउनै मुस्किल पर्‍यो, किन नाम फेरेको? पुरानै राख्नु’ तर माया बनिसकेकी उनले न साथीभाइको कुरा सुनेर नाम फेरिन्, न त जात नै राखिन्। उनले राखेको यो नयाँ नाम आजीवन राख्ने उनले निधो गरिसकेकी छिन्।

अहिलेकी माया मानवी समाजमा कुनै पनि विभेद रुचाउँदिनथिन्। लिङ्ग, जात या वर्गका आधारमा मान्छेले मान्छेमाथि गर्ने विभेदहरू देख्योे कि उनको मनमै बिझाउँथ्यो। तुरुन्तै सबै विभेद भत्काउन सम्भव थिएन। उनले आफूले चलाउने कलमको नामबाट निरन्तर सबैखाले विभेद विरुद्ध बोलिरहिन्।

घटना २०७६ जेठ ११ गतेको थियो। काठमाडौं उपत्यकामा पानी परिरहेको थियो। बिहान उठेर सामाजिक सञ्जाल हेरिन्। सामाजिक सञ्जाल तथा अन्य मिडियामा रुकुममा २० वर्षीय युवक नवराज विकसहित ६ जनाको हत्या भएको खबर पढिन्। जेठ महिनाको एक सातासम्म युट्युब तथा अन्य मिडियामा ६ युवकको हत्याको समाचारले चर्चा पाइरह्यो।

जाजरकोटका युवा नवराज विकले प्रेम गरेकी केटीको फोनबाट भगाएर लिन आउन गरेको आग्रह मोबाइल म्यासेजमार्फत पाएपछि नवराजसहित ६ जना युवालाई गाउँलेले घेराबन्दी गरी मारेका थिए। प्रेमसँग जात जोडिएर भएको यो अपराध मानवीका लागि असह्य पीडा बन्यो। आँखाबाट आँसु बगिरहे, मनले समाजलाई धिक्कारिरह्यो, ‘कस्तो कुरूप समाज?’ उनले त्यो दिनको स्मरण गर्दै भनिन्।

‘गत साता नागरिक संवाददाता कपनस्थित उनको निवासमा पुग्दा नाम परिवर्तनको विषयमा कुरा चल्यो। उनले एकाएक दुई वर्षअघिको घटनाको स्मरण गरिन्। उनका आँखाभरि आँसु टिलपिल भए। मानवीले भक्कानिँदै भनिन्, ‘एक जातले अर्को जातलाई प्रेम गरेकै कारण हत्या हुन्छ भने मैले यो ‘जात जोडिएको नाम किन राख्नु?’ जब रुकुम घटना सम्झिन्छिन्, उनलाई अहिले पनि उत्तिकै पीडा हुन्छ।

आजको आधुनिक युगमा समेत पे्रम गरिरहेको व्यक्ति जातका कारणले छुट्टिनु र मारिनु भनेको हामी बाँचिरहेको समाज कति बर्बर रहेछ भन्ने कुराको प्रमाण रहेको उनले बताइन्। ‘एउटा मान्छेलाई जातका आधारमा भेदभाव हुनु, प्रेम गरेकै कारण कुटीकुटी मारिनु कस्तो जङ्गली समाज हो,’ मानवीले प्रतिप्रश्न गर्दै बोलिन्।

यही रुकुमको घटना सुनेका अरू मान्छेलाई भन्दा मानवीलाई किन गहिरो पीडा भयो? उत्तरमा उनले भनिन्, ‘कानले सुनेर,आँखाले देखेर मलाई पीडाबोध हुन्छ, कहिलेकाहीँ म जसले पीडा भोगिरहेको छ, त्यही व्यक्ति भएर हेर्छु। त्यतिबेला विभेदका पीडाहरू मेरै बनिदिन्छन्।’

लिङ्ग, जात या वर्ग कुनै पनि आधारमा मान्छेबीचमा विभेद या हिंसा हुनु हुँदैन भन्ने मान्यता बोकेकी मानवीलाई त्यो दिनको जति पीडा कहिल्यै भएन। यही सोचका कारण उनका साहित्यिक कृतिहरूमा यिनै सामाजिक विभेदहरू समेटिए। जसको पछिल्लो कृति ‘कल्ली’ उपन्यासमा विद्यमान कुसस्ंकार, विभेदका कथाहरू समेटेकी छिन्।

यो उपन्यासमा जातीय विभेदको चित्र, बोक्सी भनेर मारिनु परेको घटना, गाउँघरमा टिनको छानो हाल्न बालविवाह गर्ने अभिभावकजस्ता विषयलाई उठाइएको मानवी बताउँछिन्।  

मानवीका कथासङ्ग्रह ‘मैनको मान्छे’, ‘दोस्रो दर्जाकी नारी’ कथासङ्ग्रह मार्फत् दर्जनौं कथाहरू विभेदविरुद्ध प्रकाशित भइसकेका छन्। त्यसैगरी ‘आहाल’ नामक नाटकसङ्ग्रह, ‘बाटो खोज्दै बाटो’ कवितासङ्ग्रहमा पनि जातीय विभेदका स्वरहरू समेटिएका छन्। मानवीले दश वटा कविता जातीय विभेदविरुद्ध लेखेकी छिन्। उनले लेखेका कवितामध्येमा ‘पिप्ली भुल’ आफैलाई मन परेको कविता हो। पुरानो पुस्ताले भोगेको दर्दनाक विभेद नातिनी पुस्ताले भोग्नु नपरोस् भन्ने सन्देश दिन खोजिएको छ।

आफूलाई नेपाली समाजमा विद्यमान कुसंस्कार, विभेद र समस्याले मनभित्रै छुने कारण आफ्नो लेखनमा विभेदका कथाहरू समेटिने गरेको उनी बताउँछिन्। लेखक साहित्यकार भनेको लेखनमार्फत् समाज बदल्ने क्षमता राख्छन्। तर आजका साहित्यकारहरू बजारमा विकाउ विषय रोज्ने गरेकाले दलितमाथि भएको निर्मम दमनको विषयमा मौन बस्ने गरेको मानवीको अनुभूति छ।

समाजमा भएका गम्भीर विषयमा लेखकहरूले आँखा चिम्लिनु भनेको स्रष्टा समाजप्रति इमान्दार नभएको उनी बताउँछिन्। ‘अहिले साहित्यकारहरू समाजका उत्पीडितका कथाभन्दा पनि कुन कुरा बिक्री हुन्छ भन्ने कुरामा केन्द्रित छज्, बजारमा ठूूलो स्वर बनिसकेपछि साहित्यमा बिक्रीको इसु बन्छ,’ उनले भनिन्।

अबको साहित्यमा दलितमाथिको विभेदको यो चरम अन्यायको विषय विकाउ विषय बनेर आउनुपर्ने मानवी बताउँछिन्। यी लेखनहरू राज्यका लागि चेत र दलित समुदायका लागि आन्दोलनयात्रा बन्न सक्ने उनको सोच छ। युगौंदेखि नेपाली समाजमा बाँचिरहेको जातीय विभेद अहिले पनि सशक्त भएर बाँचिरहनु भनेको परिवर्तनबाट बनेको सरकार र राज्यका लागि लज्जाको विषय बनेको उनी बताउँछिन्।

आन्दोलनबाट स्थापित राज्य व्यवस्थाले समेत दलितको समस्यालाई उपेक्षा गरिरहेको उनको अनुभव छ। अबको दलित आन्दोलने एकताबद्ध रूपमा अघि बढेमा मात्र विभेद अन्त्यको लागि लामो समय कुर्नु नपर्ने उनको भनाइ छ। ‘राज्यले नै शक्ति लगाएर यो विभेद हटाउनुपर्ने हो, तर विभेदका विरुद्धमा आवाज उठाउनेहरूलाई उल्टै जेल चलान गरिन्छ’, उनले भने।  

लामो आन्दोलनपछि सत्तामा पुगेका राजनीतिक दलहरू जसले दलितलाई नै हतियार बनाएर व्यवस्था परिवर्तन गरे। तर उनीहरू नै दलितको समस्यामा इमान्दारितापूर्वक लाग्न नसकेको मानवीको अनुभव छ।

‘दलित समस्यालाई समस्याका रूपमा देखेर लाग्ने हो भने परिवर्तन गर्न सकिन्छ तर राज्य शक्तिकै भित्री इच्छा देखिएन,’ उनले भनिन्। अब राजनीतिक दल तथा राज्यलाई पर्खिनुको सट्टा दलितहरूको आवाज एकीकृत रूपमा शक्तिशाली भएर विभेदका विरुद्धमा जुट्नु अहिलेको दलित आन्दोलनको आवश्यकता भएको मानवी सुझाउँछिन्। ‘मार्तलले नहानेसम्म विभेदको पर्खाल भत्किँदैन, जेजे भेटिन्छ, त्यसले हानेर यो विभेद भत्काउनु पर्छ’,उनले भनिन्।

दलितका मुद्दा कम्युनिस्टको प्राथमिकतामा परेनन् 

सर्वहारा वर्गको हितमा क्रान्ति गर्छ र समाजमा विद्यमान सबैखाले विभेदविरुद्ध उभिने दलका रूपमा आफूलाई परिचित गराउने कम्युनिस्ट पार्टीहरूसमेत दलितको मुद्दामा इमान्दार नभएको मानवीको आरोप छ।

कम्युनिस्ट पाटीले बोक्दै आएको मान्यता वर्गीय मुक्तिसँगै जातीय मुक्ति हुन्छ भन्ने मान्यताले दलितमाथि भएको जघन्य हिंसालाई सम्बोधन गर्न ढिला भएको उनको तर्क छ। ‘दलितमाथि भएको विभेद अन्त्यका लागि राजनीतिक दलहरूले मोर्चा नै बनाएर खटाएको भए अहिलेसम्म विभेद सामान्यतिर जान्थ्यो,’ उनले भनिन्। आधाभन्दा बढी जनसङ्ख्या भएको देशमा महिला नै उत्पीडनमा पर्नु, कला र श्रमको भरमा जिन्दगी चलाइरहेको दलित समुदायमाथि नै विभेद हुनु समाजको कुरूप दृश्य रहेको मानवीले बताइन् ।

प्रकाशित: २५ असार २०७९ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App