७ वैशाख २०८१ शुक्रबार
समाज

खप्तड छेडेदह ६ नाइनाको बस्ती नै पहिरोको जोखिममा, २५ परिवार विस्थापितको खतरा

खप्तड छेडेदह गाउँपालिका ६ नाइना बस्तीको पहिरो। तस्बिर: नागरिक

खप्तड छेडेदह गाउँपालिका ६ नाइनाको सिंगो बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ। गाउँको तलबाट सडक निर्माण पछि सिंगो बस्ती नै जोखिममा पर्ने गरि पहिरो खस्न सुरु भएको छ। मार्तडी थामलेक सडक निर्माण पछि २०७५ सालबाट पहिरो बग्न थालेको स्थानीय शेरबहादुर विष्टले बताएका छन्।  

पहिरोका कारण नाइनाका २५ परिवार पूर्णरुपमा विस्थापित हुने जोखिम बढेको छ। सुरुको वर्ष सामान्यरुपमा पहिरो लाग्यो, पछि विस्तार बस्ती नजिकैबाट पहिरो बग्न थालेको पहिरो प्रभावित जोगी विष्टले बताएका छन्। पहिरो घरको आँगनसम्मै पुगिसकेको छ।  

सिंगो बस्ती सार्न सकिने अवस्था नभएपछि स्थानीय ननिदाएरै रात काट्ने गरेका छन्। पानी नपरेको दिन निद्रा परेपनि पानी पर्न सुरु भएपछि घर बाहिर निस्केर जागराम बस्नु पर्ने बाध्यता रहेको स्थानीय पहिरो पीडितको साझा गुनासो छ।

पहिरोबाट स्थानीय वीर विष्ट, राम विष्ट, प्रेम विष्ट, अम्म विष्ट, शेर बहादुर विष्ट, राम विष्ट, जोगी विष्ट, नन्दु विष्ट, राम विष्ट, विर्ख विष्ट, भक्त विष्ट, कलक विष्ट, दीपेन्द्र विष्ट, भाने विष्ट, वीर बहादुर विष्ट, सुरेश विष्ट, सौरे विष्ट, राम विष्ट आइते विष्ट, वीरु विष्ट, तुल विष्ट, आइते विष्ट, केशे विष्ट, खडक विष्ट, वीरेन्द्र विष्ट, जया विष्ट र सिद्ध गन्दर्भ सहीत २५ परिवार पूर्णरुपमा विस्थापित हुने खतरा छ।

रात दिन पहिरो बग्ने गरेको छ। बस्तीको तल १२ मिटरको सडक निर्माण गरिएको छ। डोजरले सडक निर्माण गरेकै वर्षदेखि गाउँमा पहिरो बग्न थालेको हो। सिंगो बस्ती सार्न मिल्ने अर्को वैकल्पीक ठाउँ छैन्। सहज बासका लागि नजिकै खुला चौर पनि नहुँदा स्थानीय घरकै कौशीमा बसेर रात काट्ने गरेका छन्।

दिनमा गाई गोरु चराउने र खेतको काम गर्नु पर्ने हुँदा बिर्से जस्तो हुन्छ, जब साँझ घर फर्कियो, मनमा डर पस्छ, रात नपरेको भए हुन्थ्यो जस्तो लाग्ने गरेको भन्नु हुन्छ, स्थानीय शेरबहादुर विष्ट। पाँच वर्षदेखि स्थानीय तहलाई अनुरोध गर्दापनि बेवास्ता गरिएको आरोप स्थानीयको छ।  पानी पर्नासाथ पहिरो बग्न थाल्छ, सिंगो बस्ती नै बगीसक्यो भन्ने चिन्ता लाग्ने गरेको छिमेकी गाउँका स्थानीय पदम नाथको भनाई छ। बस्ती ढिलो चाँडो पहिरोमा भासिने खतरा भएकोले समयमै विकल्प खोजिनु पर्ने नाथको सुझाव छ।  

स्थानीय तहले पनि तत्काल बस्ती सार्ने कुनै योजना बनाएको छैन। पाल दिएर बर्खा काट्ने योजना बाहेक पालिकासँग पनि अर्को योजना देखिदैन। महिला बालबालिकालाई रातभर जागराम बस्नु पर्ने समस्याले चिसोको संक्रमण हुन सक्ने खतरा बढेको छ। स्थानीयले हरेक वर्ष कष्कटर दैनिक बिताउनुपर्ने बाध्यता छ।

वर्षात सुरु भएदेखि नै जिल्लाका दर्जनौ पाखो र भिरालो जमिनका बस्तीहरु उच्च जोखिममा परेका छन्। हरेक बर्षादको मौसममा जिल्ला बासीले लाखौंको अन्नबाली र अन्य भौतिक नोक्सानी व्याेहाेर्नु पर्ने अवस्था छ। बाजुरा पहिरोको उच्च जोखिममा पर्ने जिल्ला हो।

प्रकाशित: २४ असार २०७९ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App