१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

हात्तीलाई भोज महँगो पर्‍यो

चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको विषय पेचिलो बन्दै गएको छ। पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले बिहीबार सौराहामा रहेका हात्ती व्यवसायीसँग समन्वय नगरी केही निजी र सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद उत्पन्न भएको हो।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, क्षेत्रीय होटल संघ चितवन, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहा, नेचर गाइड एसोसिएसन र साना पर्यटन व्यवसायी समूहले हात्ती वनभोजको विरोध गरेका छन्।

ती संस्थाले शुक्रबार नै सौराहामा संयुक्त पत्रकार सम्मेलन गरी पर्यटन प्रवर्द्धनका लागि विनियोजित बजेट दुरूपयोग गर्ने नियतले संघसंस्थासँग सहकार्य नगरी हात्ती वनभोज कार्यक्रम आयोजना गरेको बताएका थिए।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले प्रदेश सरकारले बजेट सक्ने गरी निजी व्यक्तिलाई पोस्नका लागि बजेट ल्याएको आरोप लगाए। ‘हाम्रो सहकारीअन्तर्गत ३२ वटा हात्ती छन्। प्राइभेटमा ओम रिजालका ६ र सपना भिलेजका ७ वटा छन्,’ उनले भने, ‘प्रदेश सरकारले ओम रिजालका ६ वटा हात्ती र सरकारले पाल्दै आएकोमा १२ वटा हात्तीलाई खुवाएर मात्र बजेट सक्न मिल्छ ?’ उनका अनुसार सरकारी र निजी गरेर २ सयको हाराहारीमा चितवनमा हात्ती छन्। चितवनमा हात्ती प्रजनन केन्द्र, राष्ट्रिय प्रकृति संरक्षण केन्द्रलगायतले हात्ती पाल्दै आएका छन्। उनले हात्तीलाई वनभोज खुवाएकोमा आफ्नो संस्था खुसी भए पनि सम्वन्धित व्यक्तिलाई समन्वय नगरी केही व्यक्तिलाई फाइदा हुने गरी काम गरेकोमा विरोध गर्नुपरेको बताए।

‘हात्तीले खाए राम्रै भयो, तर सबैका हात्तीलाई खुवाउनु पर्दथ्यो,’ उनले भने, ‘यो हाम्रो विरोधभन्दा पनि मिसयुज भयो भन्ने हो।’ उनका अनुसार प्रदेश सरकारले ६ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। स्थानीय सरकार, प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष यस्ता गतिविधिको आवश्यक छानबिन तथा नियन्त्रण गर्न उनले मागसमेत गरेका छन्।

पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले दुईवटा सरकारी हात्तीसार र व्यवसायी ओम रिजालले पालेका हात्तीलाई वनभोजका रूपमा केरा, चना, भुइँकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाएका थिए।

हात्ती वनभोजका नाममा आर्थिक हिनामिना गरेको आरोप लागेपछि आयोजक संस्था पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले शनिबार सौराहामा पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरिसकेको छ। समितिले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएको थियो। ‘बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आग्रहका आधारमा हात्ती वनभोज कार्यक्रम गरेको हो,’ समितिका कार्यबाहक अध्यक्ष टीकाप्रसाद कँडेलले भने, ‘वनभोजमा भएको खर्चको बिल र भर्पाइका आधारमा मन्त्रालयबाट बजेट निकासा हुन्छ।

प्रकाशित: २० असार २०७९ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App