नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचित नवराज गुरुङले दोहोरो नागरिकता लिएको पाइएको छ।
कार्यपालिका सदस्य गुरुङले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी परेको छ। नेपाली कांग्रेसकातर्फबाट कार्यपालिका सदस्यका उम्मेदवार यामबहादुर विकले गुरुङले दोहोरो नागरिकता लिएको भन्दै असार २ गते उजुरी दिएका थिए। उजुरीसँगै कार्यपालिका सदस्य गुरुङले लिएका दुई वटा नागरिकताको प्रतिलिपी पनि पेश गरिएको छ।
गुरुङले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट २०२८ कात्तिक ३ गते र २०३० माघ २८ गतेको जन्म मिति राखेर दुई वटा नागरिकता लिएको उजुरीमा उल्लेख छ। उनले २०२८ सालमा लिएको नागरिकता प्रमाणपत्र नम्वर ११८७५ छ भने २०३० सालको जन्म मिति राखेर लिएको नागरिकता प्रमाणपत्र नम्वर १७१२२ छ।
उजुरीमा कुन नागरिकताको आधारमा गुरुङले कार्यपालिका सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् त्यसको पनि छानवीन गर्न माग गरिएको छ। ‘साविकको लाटीकोइली गाविस वडा नं. ८ बस्ने नवराज गुरुङले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट २०२८ कात्तिक ३ गतेको जन्ममिति र २०३० माघ २८ गतेको जन्ममिति राखेर लिएका दुबै नागरिकतामा बुवाको नाम धनराज गुरुङ र एउटै व्यक्तिको फोटो छ,’ उजुरीमा भनिएको छ, ‘सो सम्वन्धमा आवश्यक छानवीन गरेर कानुनी कारवाही गरिपाउँ।’
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्यले दोहोरो नागरिकता लिएको विषयमा उजुरी परेको बताए। ‘दोहोरो नागरिकताको विषयमा छानवीन गर्नका लागि मानिस उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेका छौं,’ प्रजिअ रिजालले भने, ‘प्रहरीले मानिस उपस्थित गराएको छैन्।’ उनले उजुरीमाथि छानवीन भइरहेकाले विस्तृत विवरण दिन नमिल्ने बताए। ‘मानिस उपलब्ध गराउन पत्राचार गरेका छौं, प्रहरीले उपस्थित गराएपछि आवश्यक छानवीन हुन्छ,’ प्रजिअ रिजालले भने, ‘मुद्दा प्रक्रियामै रहेकाले विस्तृत विवरण भन्न मिल्दैन्।’
प्रमुख जिल्ला अधिकारी रिजालले प्रहरीले मानिस उपस्थित नगराएको बताए पनि गुरुङले शुक्रबार रिजालसँग भेटेका थिए। गुरुङले भेटेको विषयमा प्रजिअ रिजालले सुरुमा इन्कार गरेपनि पछि आफु अर्को कार्यक्रममा जाने तयारीमा रहेको बेला गुरुङ आएको र मुद्दा फाँटमा जान सुझाएको बताए। उनले बयान दिन कि प्रहरीले ल्याउनुपर्ने कि प्रहरीको पत्रसहित आउनुपर्ने बताए। ‘अनौपचारिक रुपमा आएको मानिसका सन्दर्भमा केही भन्न मिलेन्,’ उनले भने, ‘प्रहरीले ल्याउनुपर्छ वा प्रहरीको पत्रसहित आउनुपर्छ।’
प्रशासनले असार ३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई मानिस उपस्थित गराउन पत्राचार गरेपनि दुई सातासम्म मानिस उपस्थित गराउनु त परैको कुरा पत्रको जवाफ पनि पठाएको छैन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले कार्यपालिका सदस्य गुरुङ फेला नपरेको बताए। ‘हामीले सादा पोषाकका प्रहरीलाई गुरुङको खोजी गर्न पठाएका थियौं,’ एसपी विष्टले भने, ‘फेला परेका छैनन्, सोही व्यवहोरा उल्लेख गरेर आइतबार प्रशासनलाई पत्राचार गछौं।’
प्रहरीले फेला नपरेका भनिएका कार्यपालिका सदस्य गुरुङ वीरेन्द्रनगरका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्। गुरुङले शुक्रबार दिउँसो दुई दिनको वर्षापछि विद्यालयमा विद्यार्थी भएको भन्दै भिडियो पोष्ट गरेका छन्। यस्तै बिहीबार वीरेन्द्रनगर–४ को भैरवस्थानदेखि वीरेन्द्रनगर–१४ को गढीसम्म निर्माण हुँदै गरेको पदमार्गको अनुगमन गरिएको फोटो पनि पोष्ट गरेका छन्।
प्रकाशित: १७ असार २०७९ १४:३१ शुक्रबार