८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जोखिमबाट बच्न सुदूरपश्चिममा पूर्वतयारी

सुदूरपश्चिममा गत वर्षभन्दा ढिलो मनसुन प्रवेश गरेको सुदूरपश्चिममा यस वर्ष बाढीपहिरोको जोखिम बढी रहेको आकलन गरिएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्लामा पहिरो र तराईका दुई जिल्लामा बाढीको प्रकोपको जोखिम हुने गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि विगतको भन्दा बढी बाढीपहिरोको जोखिम हुने आकलन गर्दै तयारी गरेको सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले बताएका छन्। ‘सुदूरपश्चिममा यस वर्ष विगतको भन्दा बाढीपहिरोको जोखिम बढी हुने देखिन्छ, हामीले त्यही बमोजिम तयारीलाई तीव्र पारिरहेका छौं,’ उनले भने।

सुदूरपश्चिममा यस वर्ष बाढीपहिरोले २ लाख ६० हजार जना प्रभावित हुनसक्ने आकलन गरिएको उनले बताए। बाढीपहिरो आउनुपूर्व गर्नुपर्ने काम र बाढीपहिरोमा परेर प्रभावित भएपछि गर्नुपर्ने गरी योजना बनाएर प्रदेश सरकारले तयारी गरेको उनको भनाइ छ।

नदीको बहाव बढेको प्रभावित क्षेत्रका जनतालाई जानकारी दिने, जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन लगाउने, स्थानीय पालिकासँग समन्वय गरेर बाढीपहिरोको जोखिम न्यूनीकरण गर्नेसम्बन्धी कार्यक्रम गर्ने पूर्वतयारी गरिएको छ।

बाढीपहिरोले प्रभावित परिवार र व्यक्तिलाई छिटो उद्धार गर्न सुरक्षा निकायलाई आवश्यक उद्धारका सामग्री, पूर्वअभ्यास र तिनै तहका सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने तयारी गरिएको उनले बताए। यसैगरी बाढीपहिरोमा परेकालाई सुरक्षित स्थानमा राख्ने, राहत सामग्री वितरण गर्ने गरी तयारी गरिएको उनले बताए।

सुदूरपश्चिममा कैलालीमा वर्षेनि बाढीले सयौं परिवार डुबानमा पर्ने गरेका छन्। कैलालीको कर्णाली, मोहना, कान्द्रा, पथरैया, खुटियालगायत नदीमा बाढी आउँदा नदीको बाढी बस्तीमा पसेर डुबान हुने गर्छ भने यसैगरी कंचनपुरमा महाकाली नदीमा आउने बाढीले समस्या पार्ने गरेको छ। सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लामा पहिरोको जोखिम रहेको छ। 

प्रकाशित: १७ असार २०७९ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App